काँग्रेस उपसभापति गच्छदार विरुद्ध भ्रष्टाचारको मुद्दा, देउवा निवासमा काँग्रेसको आकष्मिक बैठक

काठमाडौं । कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई साढे ९ करोडको विगोसहित भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आकस्मिक बैठकमा जुटेका छन् । बिहीबार बिहान बोलाइएको बैठकमा केही कानूनविदहरूलाई समेत परामर्शका लागि निम्त्याइएको छ ।

सभापति निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरू भेला भएर छलफल गरिरहेको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यो सूचीमा कांग्रेस उपसभापति गच्छदारसमेत परेपछि नेपाली कांग्रेस तरंगित बनेको छ । तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री गच्छदारमाथि ९ करोड ६५ लाख ७६ हजार बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मुद्दा दायर भएकै दिन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक पूर्वाग्रह साधेर आफ्ना उपसभापतिमाथि मुद्दा लगाइएको प्रतिक्रिया दिएका थिए ।

त्यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अख्तियारको निर्णयले संशय उब्जाएको प्रतिक्रिया दिएका छन् ।

पार्टीको तर्फबाट भने औपचारिक प्रतिक्रिया आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्