प्रदेश ५ का मुख्यमन्त्री र चिनिया राजदुत यान्छीबीच भेटवार्ता

बुटवल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग बुधबार नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत यान्छीले माघी पर्वको शुभकामना दिदै प्रदेश पाँचले आर्थिक विकासमा उपलब्धी हासिल गरेको भन्दै बधाई दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको बताउनुभयो । उहाँले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउन सहकार्य र सहयोग आदानप्रदानको खाँचो रहेको पनि औल्याउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको बताउँदै सिचुवानले गरेको कृषिको व्यवसायीकरण र औद्योगिक विकासको अनुभव काम लाग्ने उल्लेख गर्नुभयो । सिचुवानका गर्भनरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा दिएको र त्यसको आवश्यक प्रबन्ध मिलाउन राजदूत यान्छीलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना अन्तर्गत केरुङ काडमाडौं रेलमार्ग लुम्बिनी ल्याउने योजना पूरा भए यो क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धी हुने बताउनुभयो । उहाँले यो प्रदेशमा रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने योजना अघि सारेको र तीमध्ये एक चिनियाँ मोडलको औद्योगिक क्षेत्र होस् भन्ने चाहेको पनि चिनियाँ राजदूतलाई सुनाउनुभयो ।

राजदूत यान्छीले नेपालको विकास प्रयासमा चीन सधैं सहयोगी रहेको चर्चा गर्दै अहिले नेपाल द्रुत विकासको बाटोमा हिँडेको र त्यो प्रयासमा चिनियाँ साथ रहेको उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्