हिउँमा जमिरहेका प्रश्नहरू

दामोदर पुडासैनी किशोर
‘स्वघोषित राजालाई बिस्तारै ढाल्छ समयले । आविष्कारको कारण एकै मात्र हुन सक्तैन ।’
‘हामी राजा भनेकै जनताको उन्नतिका लागि हो, राजा नहुने हो भने मियो नभएको दाइँ बन्छन् जनताहरू ।’
‘लोमन्थाङ, लुम्बिनी र बौद्धमा ठुला दरबार तपाईँकै छन् । ठाउँ ठाउँमा मलिला जग्गा तपाईँकै छन् । जनताले काम गरिदिनुपर्छ, बाली तपाईँले थन्क्याउनुहुन्छ, जनता बन्द व्यापार गर्छन् नाफा तपाईँ थन्क्याउनुहुन्छ, अनि, कसरी हुन्छ तपाईँ भएर जनताको उन्नति ?’
‘त्यस्तो सोचेर हुन्छ ? हामीले निसाफ दिएका छौँ, जनतालाई काम दिएका छौँ । हामीलाई देवताले राजा बनाए । हामीले देवताको रक्षा गरिरहेछौँ ।’
‘कहाँ बोल्यो देवताले ? कहाँ लेख्यो ‘तपाईँका पुस्तालाई राजा बनाउनू’ भनेर देवताले लिखत ? हुँदै नभएको देवताको दुहाइ दिएर टिकिरहने काम भयो तपाईँहरूको । देवतालाई डरको भित्ता बनाएर आफ्नो दुनो सोझ्याउने काम गरेका छन् पण्डित, पुजारी र राजाहरूले ।’ जन्मनेबित्तिकै कोही राजा बनेर सिंहासनमा बसिरहने, कसैले भने जिन्दगीभरि दास बनेर सेवा गरिरहनुपर्ने— देवता छ भने किन सबैलाई समान मान्छे बनाउन खोज्दैन ?’
‘राजा वीरेन्द्र पृथ्वीनारायण शाहदेखि एघारौँ पुस्ताका हुन् । म त, आमे पालदेखि पच्चिसौँ पुस्ताको राजा भइसकेँ । राजा नचाहिने भए यतिका राजाहरूलाई किन सम्मान गर्थे जनताहरूले ? तपाईँ राज परम्पराविरुद्ध कुरा गर्न मजा लिँदै हुनुहुन्छ, त्यो राम्रो होइन ।’ झन्डै झन्डै भाटे कारबाही गर्न खोज्नुभएथ्यो राजाले ।
निकै उत्तेजित बन्नुभयो मुस्ताङे राजा जिग्मे परवल विष्ट । मसँग लुम्बिनी विकास कोषका स्टोरकिपर कपिलजी हुनुहुन्थ्यो । मुस्ताङे राजा नेपाली भाषा राम्रो नबुझ्ने भएकाले एक जना दोभाषे पनि थिए हामीबिच । लुम्बिनी विकास कोषको लेखापरीक्षण गर्न म लुम्बिनीमा बसेको थिएँ । राजासँग भेट भएको थियो उनकै मुस्ताङे गुम्बा— लुम्बिनीमा । छयालिस सालको परिवर्तनले शाहवंशीय राजाको ओज खस्कँदै थियो । राज परम्पराका विरुद्ध कोट्याउनु उनीमाथि साँपले फणा उठाउनु जस्तै ठाने मुस्ताङे राजाले ।
त्यो पचासको दशकभन्दा केही अघिको कुरा थियो । यस बिचमा कालीगण्डकीबाट धेरै पानी बगिसक्यो । दामोदरकुण्डमा धेरै पानी फेरिइसक्यो । देशबाट राज परम्परा हट्यो त्रिसट्ठी सालमा । त्यसै बेलादेखि राज्यले मान्यता दिइरहेका चार राजाहरू पनि खुस्किए । तिनै चार राजाहरूमध्ये एक मुस्ताङे राजा । उनलाई भने राज्यले मान्यता नदिए पनि आलङ्कारिक राजाको रूपमा अस्तित्व रहेको बताएथे अघिल्लो दिन मिस्टिक होटलका पासाङ आङ्गेल र राजाका भाञ्जा सुरेन्द्र विष्टले । परिवर्तित समयका आँकुराहरू राजाकै मुखबाट सुन्न चाहन्थेँ म । पासाङ आङ्गेल स्वास्थ्यकर्मी भएकाले राजासँग राम्रो सम्बन्ध रहेछ । राजासँग भोलिपल्ट भेट्टाइदिने आश्वासन पाएका थियौँ आङ्गेल र कर्चुङ बहिनीबाट । राजा एकासी वर्षका भइसकेकाले बोल्न नसक्ने बताउँदैथे उनीहरू । बोली विनाको अनुहार दर्शन त्यति महत्त्व हुने कुरा भएन ।
‘राजा निरङ्कुश हो, राजा शोषक र सामन्त हो, राजा समृद्धिको पर्खाल हो भन्दैछन् नि सहर बजारका मान्छेहरू ।’ मिस्टिक होटलमा जम्मा भएका स्थानीयसँग कोट्याएथेँ मैले गाँठी कुरा ।
मेरा कुरामा दम छैन भन्दैथे उनीहरू ।
‘देश बचाउने बाहेक राजाको के स्वार्थ छ र ? राजाका लागि जनता सबै बराबर । सबै जनता खुसी नभई कहाँ हुन्छन् र राजा खुसी । राजामा तेरो मेरो हुँदैन । सय आँखा हुन्छन् राजाका— साँचो र झुठो सजिलै छुट्याउँछन् उनले । बेला बेलामा गाउँका ठग र फटाहाले गाउँलेलाई सताउँदा राजाले ठिक पारेका छन् । गाउँले भोकै पर्दा राजाले काम र खाना दिएका छन् । लोमन्थाङलाई राजाले नै यहाँसम्म ल्याए । राजा होइन, राजाका आसेपासेले गर्दछन् ज्यादती । ‘राजाका प्रहरी; चोर, डाँका थरिथरि’ नभएका पनि होइनन् । कहिलेकहीँ राजाको घरमा नुनको दुःख नहुने पनि होइन ? तैपनि दरबारको पर्खालले त्यो दुःख आउन दिँदैन बाहिरसम्म । हामी जनता भने पर्खालबाहिर बसेर सुखै सुखमा छन् राजा भनिदिन्छौँ । राजालाई माझमा पालेपछि उनको घरमा बजेको बाजालाई आपूmले राम्रै मानेर सुन्नुप¥यो नि । भिंmजो मानेर कहाँ हुन्छ र ! स्वार्थी नभए राजा ठिक, स्वार्थ गाँसिए राजा बेठिक’— निचोड निस्किएथ्यो त्यताको ।
रातभर राम्ररी सुत्न सकेनौँ हामी । हल्का टाउको दुखिरहने, वाकवाक लाग्ने, पेट फुल्ने, खान रुचि नहुने समस्याहरूले घेर्न थालेपछि, लेकको झापडमा परिएला भन्ने पिरले फर्कियौँ जोमसोमतिर । लेक लागेपछि यथासक्य छिटो कम उचाइतिर झर्नु जत्तिको बुद्धिमानी अरू केही हुँदैन । त्यस्ता लक्षण देखिएपछि अटेरी गरेर उचाइमै लरबराउन थालियो भने प्राणपखेरु उड्न पनि के बेर ?
माहुरीले पुष्परस खोजे झैँ भुनभुनाउँदै हिँडिरहेछौँ हामीहरू लोमन्थाङका कुना कुना ।
‘गाह्रो भो आमै ?’— ढुङ्गामाथि भारी बिसाएर पसिना पुछिरहेकी आमालाई सोधेँ । पचहत्तर असी बर्र्से आमाको उमेरभन्दा अझ गह्रुङ्गो देखिँदैथ्यो भारी । माकुराको जालो जस्तो जेलिएका गहिरा रेखाहरूले कच्याककुचुक बनेको थियो आमाको अनुहार । ‘भोकै होऔला केही खाइहाल न बाबु’— ओछ्यान पर्दा पनि हामी सन्ततिहरूकै चिन्तामा डुबिरहने मेरी आमा ठ्याक्कै अघिल्तिर उभिइरहनु भए झैँ लाग्यो मलाई ।
‘क्या गर्नु, प्राण छउन्जेल दुःखले छोड्नै रै’नछ, जत्ति दुःख गरे पनि देउता बोल्दैन, राजा देख्दैन, ‘चार छोरा नौ नाति, मेरो भारी मैमाथि— जिन्दगीको मर्म पोख्नुभयो आमाले ।
‘यत्रो राजा भएको ठाउँमा आमालाई यो उमेरमा पनि भारीले छोडेनछ हगि ?’— आमाको मर्म अझ उधिन्न खोजेँ मैले ।
‘अहिलेसम्म कुन देवता र राजा गरिबको पक्षमा उभिएको छ र ? गरिब र दुःखीको ख्याल गर्छु भनेर उनीहरूकै बुई चढ्छन् तिनीहरू । दरबार र मन्दिरको भित्ताबाहिर बेग्लै संसार छ भन्ने नबुझ्नेलाई के भन्नु ख्वै ? हाम्रा छोरा नातिले दरबार र दरबारका मान्छेहरूलाई चाहिने कयौँ कलपुर्जा तयार गरिदिन्छन्, ढोका, झ्याल र फलामका ज्यावल अर्चापी दिन्छन् तर बाँच्नलाई न जग्गा जमिन छ, न खानलाई केही अन्न । जो जो जे भए’नि हामी कामीको दिनलाई पर्खालले छेकिरह्यो, के गर्नु बाबु ?’ आँसु निकाल्नुभयो आमैले ।
‘लोमन्थाङे राजाले त जनताको दुःख हेर्छन् भन्छन् नि त’— थप्नुभयो मित्रले ।
‘के हेर्छ राजाले दुःख ? त्यति ठुलो दरबारमा उही बस्छ । जनताले नोकर चाकर बनेर उसैको स्याहार सुसार गर्नुपर्छ । राम्रा खेतबारी उसकै छन् । राम्रा घोडा भेडा उसकै छन् । हामीले नै लगाइदिनुपर्छ उसको बालीनाली । हामीले नै भिéयाइदिनुपर्छ उसको बालीनाली । हामीले नै चराइदिनुपर्छ उसका चौँरी र भेडा । ऊ बसी बसी खान्छ, हाम्रो पेट रित्तो, राजा सधैँ राजा नै, जनता सधैँ जनता नै यो कस्तो चलन ?’— डाँडा र खोल्सी भएको आमाको अनुहारबाट विस्फोट हुँदै थियो ज्वालामुखी ।
‘राज परम्परा इतिहास बनिसक्यो देशमा । समयले सिनित्त बढार्न खोज्दैछ लोमन्थाङमा पनि राज परम्परा’— हामीले आमाका भाकामा भाका मिलायौँ ।
‘शक्ति मुठ्ठीमा च्यापेर मान्छेलाई मान्छेले दास बनाउने परम्पराले जन्मिन्छ राजा र रङ्कको विभेद । सत्ता र शक्तिको उन्मादमा मान्छेले मान्छेलाई किनबेच गर्ने, लुछ्ने, पेल्ने र चाहेको वस्तु बनाउने परम्पराले एउटाको हैकममा हेपिनुपर्छ धेरैले ।
महाभारत आदिपर्व र वाल्मिकी रामायणको बालकाण्डले अझै बकिरहेछन्— पौराणिक कालदेखि नै मान्छेले मान्छेलाई दास बनाउने चलन चरम थियो । कृष्णले बहिनी सुभद्राको दाइजोमा अर्जुनलाई एक सुन्दर गहनाले सजिएका एक हजार स्त्रीहरू दिएका थिए । जनकले रामलाई छोरी मात्र दिएनन् सय कन्याहरू दासीका रूपमा दाइजो दिए ।
शक्ति, सम्पन्नता र शोषण त्रिकोण बनेर उठ्छ जहाँ पनि ।
समयका सुरवीर थिए राजाहरू ।
समयका शक्ति थिए राजाहरू ।
स्वघोषित भगवान् बने राजाहरू । भोक्ता बने राजाहरू ।
मान्छेले मान्छेको मूल्य खोज्न थालेपछि इतिहासका दास बनेका छन् राजाहरू । हरेक कार्य अरूले भन्दा राजाले उत्तम ढङ्गले सम्पादन गर्छन् भन्ने विश्वासमा ठुलै पहिरो गइसकेको छ यतिखेर । मेरो श्रीपेच शिरमा होइन मुटुमा छ भन्ने राजाहरू त बाँच्लान् अझै लामो समयसम्म । ‘एउटा सिपाहीले धेरै राजाहरू बर्बाद गर्न सक्छ’ भन्ने होमरका कुरा नबुझ्नेहरू लोमन्थाङका ढुङ्गाहरू झैँ मृत लडेका छन् ।
‘सेना छैनन् नाम मात्रका छन् नोकर चाकरहरू । आफैँतिर फर्कन्छ आफ्नो आदेश । रित्तिदैछ धन सम्पत्ति । श्रम गर्ने संस्कार छैन । तर्साउने खण्डहर दरबार स्याहार्ने हिम्मत छैन । दाह्रा र नङ्ग्रा झरेको बुढो बाघ हिँङ हराएपछि टालो सुँघ्दैछन्, डाँडाबाट डुब्नै लागेका घाम हुन् मुस्ताङे राजा’— कसैले भन्यो हामीसँग सहर चाहार्दा ।
आत्मविश्वास राजा बनोस्, अरूसँगको व्यवहारमा भने जनता नै बनोस् मन ।’— मलाई लागेथ्यो त्यसबेला ।
जन विश्वासबाट झरिसक्ता पनि राजाकै अभिनयमा बाँचिरहनु एउटा पीडा हो राजाको । अब्राहम लिङ्कनले भने— ‘म कसैको मालिक र कसैको दास होइन ।’ दास र मालिक दुवैबाट मुक्त नभएसम्म कहाँ बन्छ र मान्छे, सही मान्छे । सधैँ अरूकै सुरक्षा, सधैँ अरूकै सेवा, सधैँ अरूकै बयानको भरमा मात्र बाँच्नु जत्तिको चिडचिडाहट अरू के नै हुन्छ र । मलाई लाग्छ सधैँ अरूको इशारामा चल्ने राजा बन्नुभन्दा आफ्नै मन र पाइतालाले संसार बुझ्ने मान्छे समर्थवान् हुन्छ ।
दरबार नाघेर लोमन्थाङ सहरबाहिर उत्तरी सीमामा हामी पुग्दा एक हूल भेडाहरू म्याँ म्याँ गर्दै, उफ्रिँदै जुध्दै— चरनतिर लाग्दै थिए । दरबारका चार भित्ताभित्र जकडिएका राजाभन्दा निकै स्वतन्त्र छन् ती भेडाहरू ।
सहरभित्रका साँघुरा धर्साहरूमा चलिरहेछन् हाम्रा पाइलाहरू । ढोका थुनिएका ओडार छन् घरहरू । गोलोभित्र लुकेका कमिला छन् मान्छेहरू । गल्लीका रेखाहरूमा निस्कँदै बिलाउँदै गर्छन् मान्छेहरू । ‘जति सुन्दर छ सहर, त्यति सजिलो छैन बाँच्न सहरमा’— भेटमा लोमन्थाङको धर्म पोखिन् टासी बहिनीले । जिन्दगीको ठुलो शक्ति स्वाहा पारेपछि पनि तयार बन्न गाह्रो छ घर । केही क्षण सुस्ताउन मात्र हो सहर । हिउँका ढिक्काहरूसँग जुधिरहनु, दाह्रे ढुङ्गाहरूसँग खेल्नु, तिखा काँडाहरू माडमुड पारिरहनु, पन्छी र जनावरहरूसँग लाप्पा खेल्नु, उमेर र जिन्दगीभन्दा गाह्रो भारी बोकेर पहाड र झुत्ती थुम्काहरू चाहारिरहनु, अचेत प्रकृतिलाई ब्युँझाउनु— यी नियतिहरू हुन् लोमन्थाङका । प्राकृतिक सौन्दर्यको सर्वोच्चता हो तर सुक सुक पनि कम छैन लोमन्थाङमा । एक्लो बस्ती छ तर, मान्छे मान्छेमा बाक्लो पिरती नहुने हो भने कोही बाँच्दैन लोमन्थाङमा ।
देख्नु र भोग्नु एकै नभएसम्म खुट्टिदैन सत्य भन्ने कुराको टासी बहिनीको तर्कले मर्म पा¥यो हामीलाई ।
हाम्रो विपरीत दिशाबाट माने हल्लाउँदै आउनुभयो अर्का दाइ र बहिनी । उहाँहरूसँग अभिवादन साटासाट भयो । बहिनीले हाम्रो परिचय दिनुभयो । उहाँको जेठाजु पर्नु हुँदोरहेछ उहाँ । हामीले ‘टासिदेले’ भन्यौँ । उहाँले पनि त्यस्तै फर्काउनुभयो । उहाँले कपाल लामो पाल्नुभएको थियो र त्यसमाथि रातो धागाले चुल्ठो बनाउनुभएको थियो । ‘राजा र दरबार दुवै अचेत छन् यतिखेर । अघिल्तिरको बौद्ध चैत्यको दर्शन गर्दै, बोल्दै हुनुहुन्छ उहाँ । लाखौँ मान्छेहरूको समर्पणले जन्मन्छ राजा, कयौँ मान्छेहरूको बलिदानले ब्युँतिन्छ राजा । अचेल राजा ध्वाँसो जमेको खोपामा पुर्खाको विरासत खोतल्दैछ । जीर्ण आँखीझ्यालबाट संसार हेर्दै थरथर काँपिरहेछ ।’ ‘राजा त शक्तिको मुस्लो बन्यो कुनै दिन’— उहाँले थप्नुभयो ।
शक्ति, सत्ता र स्रोतसँगै अहङ्कारले पनि रङ देखाउन थाल्छ मान्छेमा । राजा र शासकहरू शक्तिको चुलितिर पुगेपछि मातिन थाल्छन् । त्यो प्रशासकमा होस् वा व्यापारीमा कृषकमा होस् या कारिगरमा सबै सबैमा लागु हुन्छ । शक्तिले संस्कृति मात्र ल्याउँदैन । विकृति पनि भिœयाउँछ । हामी मज्जाले गफियौँ । उहाँका बाजेले दरबारमै काम गर्नुभएको रहेछ । त्यसैले धेरै थाहा रहेछ उहाँलाई दरबारको आनीबानी । ‘पर्खाल र भित्ताहरूले मात्र सुन्दर देखिने हो दरबार । दरबारमा बस्नेहरूको काम सम्झने हो भने अहिले नै फोरिहालौँ दरबार र नङ्ग्याउँदै निकालौँ दरबारमा बस्नेलाई जस्तो लाग्छ ।’ अलि उत्तेजित देखिनुभयो उहाँ । उत्तेजनामा यथार्थ ओकल्छ मान्छेले । हाम्रो चासो पत्तो पाएर बक्न थाल्नुभयो उहाँ ।
कुनैबेला जनताको आफ्नो भन्ने केही थिएन । सबै दरबारको थियो । गाउँमा छोरी चेली हुर्कायो दरबारको आँखाबाट फुत्काउन नसक्ने । बिहे ग¥यो, सुरुमा स्वास्नी दरबार नै पठाउन पर्ने । दरबारका मान्छेले जोसँग शारीरिक सम्बन्ध राखे पनि हुने । बच्चा जन्मियो, स्याहार सुसार लालन पालन गर्ने जिम्मा नै नहुने । दरबारका मान्छेले कसैलाई कुटपिट ग¥यो, मा¥यो त्यसको निसाफ नपाइने । दरबार त मातेको याक जस्तै थियो, जसको बाली पनि लुटिदिने, जसलाई मन लागे पनि हानिदिने । त्यही रोग फैलेको थियो गाउँ गाउँसम्म । दरबारका नातागोता र धाप पायो भने गाउँभरि सताउँथ्यो उसले ।
हामी एउटा मेन्दोङ अघिल्तिर उभिएर कुरा गरिरहेछौँ । दरबारमा पालिएका आप्सो जातका कुकुरहरूको चर्को आवाजले लोमन्थाङ नै थर्किरहेछ । उनका विशेष धार्मिक पहिरन पहिरेका एक हूल महिलाहरू जम्पा लाखाङ मन्दिरतिर अघि बढिरहेका देखिन्छन् ।
दरबारलाई कोट्याएर युगका बोझिल तरङ्गहरू नियाल्ने क्रम जारी छ । सत्रौं शताब्दीको रुसी दरबार भनेपछि संसार हल्लाउने कुरा बुझ्छ जसले पनि । त्यही दरबारकी शक्तिशाली महारानी क्याथरिनले सम्भोगको आनन्द लिन सेन्ट पिटर्सवर्गको आफ्नो दरबारलाई व्यभिचारको केन्द्र बनाइन् । उनी एकै दिनमा धेरै सङ्ख्याका पुरुषहरूसँग मस्ती गर्दथिन् र त्यसपछि दरबारबाट लखेट्थिन् । इजिप्टकी रानी क्लियोपेट्रामा संसार हाँक्ने दुई विशिष्ट गुण थियो भन्ने सबैलाई थाहा थियो । एउटा त उनले इजिप्टको आफ्नो गद्दीलाई मजबुत बनाइन् अर्को यौनको बलमा जुलियस सिजर र मार्क एन्टोनी दुवैलाई पट्याइन् । क्लियोपेट्राले एकै रातमा सयभन्दा बढी रोमन कुलीनहरूसँग सम्भोग गरेको, हप्तौँसम्म दरबारमा यौन मेला चलाएको घटनाले दरबारको खाने र देखाउने दाँत प्रष्ट हुन्छ । बेलायतका राजा हेनरी आठौँ पनि शासन गर्नुभन्दा आफ्ना कयौँ पत्नीहरूको शिरच्छेदन गर्ने, पारपाचुके गर्ने र बिहे गर्ने कार्यमा व्यस्त बने । पारपाचुकेको विरोध गर्नेहरूलाई बञ्चराले हानेर मार्ने, झुन्डयाउने वा डढाएर खत्तम पारिदिन्थे । अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले अमेरिकाको अनुहार नै उज्यालो बनाए तर वेश्यालयहरू चाहार्नु र एकै पटक धेरै महिलाहरूसँग यौनमस्ती गर्नु उनको बानी थियो । विश्व प्रसिद्ध अभिनेत्री मार्लिन मुनरोले त यतिसम्म खुलासा गरिदिइन् कि उनले राष्ट्रपतिसँग होटलको कोठामा, निजी घरमा, पार्टीस्थलको कुनै खाली कोठामा, हवाइजहाजमा र बगैँचामा समेत सम्भोग गरेकी छिन् । थाइल्यान्डका राजा मोङकुरले बैंककमा आफ्ना लागि तिन हजार वेश्या पालेको तथ्य चर्चामा छ ।
शक्तिको मातमा सर्वसाधारण सताइएको घटना हर युग र हर कित्तामा प्रबल र प्रष्ट देखिएको छ । धार्मिक साहित्यहरू यही पुष्टि गर्दछन् । अपराध, झुठ र व्यभिचारको मूल स्रोत शक्ति बनेको पनि प्रशस्तै पाइन्छ । विश्व इतिहास र नेपाली विगतले यही पुष्टि गरेको छ । मल्लकाल होस् वा लिच्छवीकाल शाहकाल होस् वा राणाकाल, पञ्चायती काल होस् वा पञ्चायत पश्चात्को काल हरेक सत्ता, शक्तिको भरमा टिकेको छ र हरेक शक्तिले जन्माएको छ सेराहा सिरेटो ।
धर्म, जात र परम्पराको नाममा दरबारहरू टिकाइरहुन्जेल र वैज्ञानिक प्रणालीमा शासन र प्रशासन नचलुन्जेल मान्छे स्वतन्त्र र समृद्ध बन्नै सक्तैन ।
समयका दह्रिला तरङ्गहरूले धमाधम ढाल्दैछन् दरबारहरूलाई, धमाधम भाग्दैछन् दरबारका सेरहरू र सेरका चेला चम्चाहरू ।
‘एक्कासी व्यथाले च्याप्यो राजालाई । म डाक्टर लिन हिँडेको’— दरबारअघिल्तिर हामीबाट दायाँतिर मोडिए छङजिमि विष्ट । आधा ढलेको बार्दली र आधा गलेको दरबारी बुर्जा हेर्दै छुट्यौँ हामी पनि त्यताबाट । कमजोर घामलाई घुस्सरपञ्जामा फसाउँदैछन् काला लहरेदार बादल र हिउँका तिखा काँडा बोकेका हावाका घना मुस्लाहरूले ।
रूप रङ्ग र ढङ्ग बदल्न बेस्सरी उकुसमुकुसिए झैँ लाग्छ लोमन्थाङ । सहर र जीवन दुवै उस्तै हुन् । हरेक क्षण सुमसुम्याइरहनुपर्छ सहर र जीवनलाई । यथास्थितिमा छोडिरहने हो भने रसहीन बन्छन् ती दुवै । समयका प्रत्येक इँटाहरूसँग परिवर्तन लेखिनुपर्छ सहर र जीवनका लहरहरूमा । लोमन्थाङ सहर पर्खाल नाघेर पर पर पाइला टेकिसकेको छ तर पर्खालभित्र फेर्न सकेको छैन चौधौँ शताब्दीको आदिम रीत ।
परिवर्तनसँग पाइला चाल्न नसकेपछि पट्यारलाग्दो बन्छ प्राप्ति ।
तिब्बती कला, संस्कार र संस्कृति बुझ्ने महत्त्वपूर्ण सहर रहेछ लोमन्थाङ । लोमन्थाङबाट बिस किलोमिटर टाढा तिब्बतको झोङ्वा काउन्टीले पुरानो रूपलाई पुरै फेरिसकेको पढेको थिएँ मैले केही दिन पहिले । द्रुत गतिका रेलहरू र अत्याधुनिक सुविधाका बस्तीहरूले काँचुली फेरिसकेको भन्दै हुनुहुन्थ्यो सुरेन्द्र विष्ट दाइले अघिल्लो साँझ । हामी भने ‘हिँङ नभए पनि हिङ बाँधेको टालो छ’ भन्दै बिरालो बाँधेर सराद्धे गर्नमै अलमलिरह्यौँ भने कहाँ बुझ्न पाउँछ र जीवनले नवीन मूल्य । समयका पाइलासँग पखेटा फिँजाइरहेको तिब्बतको हावा लोमन्थाङमा नचली सुख्ख छैन अब । हामी त्यस्तै निष्कर्षमा पुगेथ्यौँ होटल लोमन्थाङको प्राङ्गणमा उभिँदा ।
आदिम सहर र आदिम गुम्बाहरूलाई प्राचीन उपहारकै रूपमा राखेर गाँस, बास र कपासका आधुनिक रङ्ग र ढङ्ग उभ्याउन सकिन्छ लोमन्थाङमा । तृणहीन रियादमा सुविधा सम्पन्न होटल र मनोरञ्जनका हर पाटाहरू उभ्याएर विश्वका पर्यटकलाई तताइरहेछ साउदी अरेबियाले । हिउँका ठिहि¥याउँदा ढुङ्गाहरूमा कला, गला र स्वाद सजाएर सारा घुमन्तेहरूको तन, मन र धन परिचालन गर्दैछ रसियाले । हैम सभ्यता र हिमाली रहस्यहरू खोतल्ने थलाको रूपमा अघि बढाउने हो भने अझ उज्यालिन बेर मान्दैन लोमन्थाङ ।
तिब्बती पठारबाट निस्केको चिसो स्याँठले मुटु नै कमायो एक्कासी । चिसो स्याँठले दुखेको टाउकामा थप झन्का दियो । राजाको दरबारको मुलद्वारमा बाँधिएका दुई भोटे कुकुरले हामीलाई निलुला झैँ भुके । ‘साङ्लो छिनाल्न पाउने भए एकै गाँसमा सिध्याउँथे होलान् मोराहरूले हामीलाई’— हामी उनीहरूलाई गिज्याए झैँ हाँस्यौँ । द्वारको टुप्पातिर झुन्ड्याइएको जङ्गली भेडाको सिङ निरीह अवशेष बनेर हामीलाई हेरिरहेथ्यो । कुनैबेला सारा हिमाली पठार नाघ्ने भेडाको अस्तित्व, दरबारको ढोकामा झुन्डिने सिङमा सीमित बनेको छ । त्यो देख्दा टिठ लाग्यो जिन्दगीसँग ।
एउटा जिउँदो इतिहासको छेउमै पुगेर फक्र्यौँ हामी । राजा जिग्मे परबल विष्टसँग सोध्ने धेरै प्रश्नहरू मनमै बाँकी रहे । प्रश्नहरू त धेरै होलान् राजासँग पनि । प्रश्नहरू सोध्नै नपाउने जस्तो बन्धन अरू के नै हुन्छ र ? प्रश्न जीवित रहेसम्म आविष्कार हुँदैन केहीको पनि । प्रश्नहरू कठोर हिउँसँग जमिरहेका बेला प्रश्न उठिरहन्छ हिउँको शक्तिमा ।
‘तपाईँहरू आज छुसेर गुम्बा जान नमिल्ने भो’ गुम्बामा बस्नेहरू र बस्तीका मान्छेहरू बिचमा झगडा चलेकाले गुम्बा नै बन्द भएछ हिजोदेखि’— लोमन्थाङ पुस्तकालयअघिल्तिर भेटिएका वाङ्दी दाइले सम्झाउनुभयो हामीलाई । हामीले अघिल्लो साँझ छुसेर गुम्बा जाने इच्छा पेस गरेका थियौँ उहाँसमक्ष ।
‘ठिकै भयो दाइ, हामी आजै फर्कन खोज्दै छौँ, लेक लागेर टाउको रन्कदैछ हाम्रो’— हामी बोल्यौँ । छुसेर जाने चाहनामा त्यो झगडाभन्दा लेक लाग्नु ठुलो पर्खाल बनेको थियो हाम्रा लागि ।
‘पर्खाल छल्न सकेजति मात्र प्राप्ति हुन्छ जिन्दगीमा ।’ मनमा तर्कना उठ्यो मेरो ।
‘तपाईँहरूका लागि फापरको रोटी पाकिसक्यो’— खेततिर जान आँटेकी कर्चुङ बहिनीको आवाजसँगै भित्रियौँ हामी मिस्टिक होटलमा ।
‘पर्खालभित्र मात्र अटाउन सक्तैनन् अब लोमन्थाङका इच्छा र जाँगरहरू । राजा पनि नाम मात्रको बनायो बेलाले’— रोटी खाँदै सुनिरह्यौँ कर्चुङ बहिनीका सिधा कुरा ।
प्रश्नहरू हिउँसँग जमिरहेको बेला लोमन्थाङ भने जुर्मुराएको छ नौलो सूर्यको खोजीमा ।

होटल मिस्टिक हिमालयन,
लोमन्थाङ, मुस्ताङ
२०७१ असार १७ गते,मङ्गलबार

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्