काठमाडौं – हाम्रो विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको खिचापोखरीस्थित घुइँचो रेष्टुरेन्टको सभा हलमा सम्पन्न भएको छ। साधारण सभाले संस्थाको आर्थिक अवस्था, आगामी कार्ययोजना तथा नयाँ कार्यसमिति चयनलगायतका विषयमा निर्णय गरेको छ।संस्थाका अध्यक्ष मनोहरी सुवेदीको सभापतित्वमा सम्पन्न सभाको उद्घाटन नेपाल बैंक लिमिटेड रामशाहपथ शाखाका प्रबन्धक गणेशकुमार खत्रीले गर्नुभएको थियो। कार्यक्रममा आदर मल्टिइन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष दीपक सापकोटा, अविछिन्न साकोसका अध्यक्ष माधव खरेलसहित सञ्चालक, शेयर सदस्य तथा कर्मचारीहरूको सहभागिता थियो।

प्रमुख अतिथि खत्रीले सहकारी संस्थाहरू आफ्नो मूल अवधारणा र उद्देश्यअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै जोखिम न्यूनीकरण र वित्तीय अनुशासन कायम गर्न सफल संस्थामध्ये हाम्रो विकास सहकारी पनि रहेको बताउनुभयो। सभामा संस्थाको आर्थिक प्रगतिको विवरणसमेत प्रस्तुत गरिएको थियो। गत आर्थिक वर्षमा ३९ लाख ९५ हजार ८४१ रुपैयाँ खुद नाफा गरेको संस्थाले चालु आर्थिक वर्षमा ४० लाख ६ हजार ९२६ रुपैयाँ नाफा कमाएको जनाएको छ। त्यस्तै, गत वर्ष २२ लाख ३२ हजार ६७६ रुपैयाँ नाफा बाँडफाँड गरेकोमा यस वर्ष २२ लाख ३८ हजार ८७० रुपैयाँ नाफा बाँडफाँड गरिएको छ।

सभाबाट नयाँ सञ्चालक समिति समेत चयन गरिएको छ। जसअनुसार अध्यक्षमा मनोहरी सुवेदी, उपाध्यक्षमा तेजप्रसाद आचार्य, सचिवमा हरिप्रसाद अधिकारी, कोषाध्यक्षमा चन्द्रलाल श्रेष्ठ तथा सदस्यमा रामचन्द्र गौतम, कुबेर नेपाल र देवीमाया खनाल चयन हुनुभएको छ। यसैगरी लेखा समितिको संयोजकमा तोलाकान्त सुवेदी, सदस्यमा रोजन शाही ठकुरी र लक्ष्मी प्रसाद चापागाई सर्वसम्मत चयन भएका छन् । यसैगरी ऋण उपसमितिको संयोजकमा तेज प्रसाद आचार्य, सदस्यमा शंकर राजभण्डारी र चतुरमान बस्नेत सर्वसम्मत चयन भएका छन् । कार्यक्रममा नवनिर्वाचित सञ्चालक समिति, लेखा समिति र ऋण उप समितिलाई कानुनी सल्लाहकार हरि प्रसाद खनालले सपथ खुवाउनुका साथै निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद अधिकारीले गर्नुभएको थियो भने उपाध्यक्ष तेजप्रसाद आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा व्यवस्थापक तेजकुमारी अधिकारी, क्यासियर रोजिना अधिकारी, बजार प्रतिनिधि दिनेश सुवेदी र गायत्री चापागाईं तथा कार्यालय सहयोगी कविता खनाललगायत कर्मचारीहरूको उपस्थिति थियो।




