बालेनको मुस्ताङ भ्रमणमाथि महेश बस्नेतको प्रश्न, ‘सरकारले स्पष्ट जानकारी दिनुपर्छ’

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को मुस्ताङ भ्रमणको उद्देश्यबारे प्रश्न उठाउँदै सरकारसँग स्पष्ट जवाफ मागेका छन्। प्रधानमन्त्री शाह औपचारिक जानकारीबिना मुस्ताङको लोमान्थाङ पुगेको दाबी गर्दै बस्नेतले भ्रमणको उद्देश्य र कार्यक्रमबारे सरकारले जनतालाई जानकारी गराउनुपर्ने बताएका हुन्। उनका अनुसार प्रधानमन्त्री शाहले मुस्ताङस्थित लो घ्याकर गुम्बा र दामोदर कुण्ड पुग्ने कार्यक्रम रहेको छ।

बस्नेतले केही दिनअघि अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक जे. हार्करले समेत मुस्ताङका गुम्बाहरूको भ्रमण गरेको विषयलाई प्रधानमन्त्रीको भ्रमणसँग जोडेर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्रीको भ्रमणबारे सुरक्षा संयन्त्रलाई समेत पर्याप्त जानकारी नगराइएको दाबी गरेका छन्। सरकारी भ्रमण पारदर्शी र जवाफदेही हुनुपर्ने भन्दै उनले भ्रमणको वास्तविक उद्देश्य सार्वजनिक गर्न माग गरेका छन्।

विदेशी कूटनीतिज्ञको मुस्ताङ भ्रमणलगत्तै प्रधानमन्त्री पनि सोही क्षेत्रमा पुगेको विषयलाई आफूले संयोग मात्र मान्न नसकेको बस्नेतको भनाइ छ। यद्यपि, यसलाई कुनै षड्यन्त्र नभई संयोग मात्र भए पनि जनतामा उठेका प्रश्नको जवाफ सरकारले दिनुपर्ने उनले बताएका छन्। बस्नेतले प्रधानमन्त्री शाहलाई मुस्ताङ भ्रमणको उद्देश्य र कार्यक्रमबारे स्पष्ट जानकारी सार्वजनिक गरी जनतामा उत्पन्न आशङ्का हटाउन आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्