काठमाडौं, भदौ ५ । भदौ महिनालाई नेपालले गाडी हेरेर बिताइरहेको छ। अब भने गाडी किनेपछि त्यसलाई वर्षौंसम्म चलाउँदा आवश्यक पर्ने सेवा, उपकरण, वित्तीय सुविधा र प्रविधि पनि एउटै स्थानमा हेर्न पाइने भएको छ।
भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ मा यसपटक सवारीसाधनसँगै अटोमोबाइल उद्योगको ठूलो हिस्सा ओगट्ने पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण, वित्तीय सेवा तथा विद्युतीय सवारीको चार्जिङ पूर्वाधारसमेत प्रदर्शन गरिने भएको छ।
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा दुई सयभन्दा बढी स्टल रहने प्रदर्शनीमा २३ वटा यात्रुवाहक, १७ वटा हल्का व्यावसायिक र १३ वटा दुईपाङ्ग्रे गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुनेछन्।
तर नाडा अटो शोको विशेषता यसपटक सवारी ब्रान्डमा मात्रै सीमित छैन। प्रदर्शनीमा सहभागी करिब ७० कम्पनीले सवारीसाधन बिक्री गर्ने होइनन्। उनीहरूले सवारीसाधनलाई वर्षौंसम्म सञ्चालनमा राख्न आवश्यक पर्ने टायर, ब्याट्री, इन्जिन आयल, हेलमेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डाइग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली, एसेसरिज र ईभी चार्जिङ उपकरण प्रदर्शन गर्नेछन्।
त्यसैगरी करिब १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीले अटो लोन, सवारी बीमा तथा विद्युतीय सवारीका लागि लक्षित वित्तीय योजनासहित प्रदर्शनीमा सहभागिता जनाउनेछन्।
गाडी किन्न तीन हप्ता, चलाउन दस वर्ष
नाडाले यसपटक अटो शोको अवधारणालाई केवल नयाँ गाडी हेर्ने र खरिद गर्ने मेलाभन्दा फराकिलो बनाएको जनाएको छ।
‘गाडी छान्न तीन हप्ता लाग्छ, तर छानेको निर्णयसँग दस वर्ष बाँच्नुपर्छ’ भन्ने अवधारणासहित प्रदर्शनीमा गाडी किनेपछि आवश्यक पर्ने सम्पूर्ण सेवा र सामग्रीलाई पनि एउटै स्थानमा प्रस्तुत गर्न खोजिएको छ।
सामान्यतया उपभोक्ताले गाडी खरिद गर्नुअघि केही समय सोरुममा बिताउँछन्। तर गाडी खरिद गरेपछि लामो समयसम्म वर्कसप, बैंक, बीमा कम्पनी, टायर पसल तथा विभिन्न अटो पार्ट्स र सेवा प्रदायकसँग जोडिनुपर्ने हुन्छ। यही दीर्घकालीन सम्बन्धलाई ध्यानमा राखेर नाडा अटो शोमा सवारीसाधनसँगै त्यसको सञ्चालन र मर्मतसम्भारसँग सम्बन्धित उद्योगलाई पनि प्राथमिकता दिइएको हो।
प्रदर्शनीलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण लगायतका छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएको छ। यसले उपभोक्तालाई गाडी छनोटसँगै त्यसपछि आवश्यक पर्ने वित्तीय, बीमा, मर्मतसम्भार तथा प्राविधिक सेवाबारे पनि एउटै भ्रमणमा जानकारी लिन सहज हुने आयोजकको विश्वास छ।
विश्वका विभिन्न देशका ब्रान्ड एउटै छानामुनि
नाडा अटो शोमा सहभागी सवारी ब्रान्डको भौगोलिक विविधता पनि यसपटक उल्लेखनीय रहनेछ।
युरोपेली इन्जिनियरिङको प्रतिनिधित्व गर्ने स्कोडा, मलेसियाको राष्ट्रिय ब्रान्ड प्रोटोन, चिनियाँ निर्माता चेरीका ओमोडा तथा जेकु, जीडब्ल्यूएम लगायत विभिन्न देश तथा क्षेत्रका सवारी ब्रान्ड एउटै प्रदर्शनीस्थलमा देख्न पाइनेछ।
जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली र चिनियाँ मूलका सवारीसाधनका ब्रान्डहरू एकअर्काबाट केही पाइला टाढा प्रदर्शित हुनेछन्। यसले नेपाली उपभोक्तालाई विभिन्न प्रविधि, डिजाइन, मूल्य, सुविधा तथा ब्रान्डबीच प्रत्यक्ष तुलना गर्ने अवसर प्रदान गर्नेछ।
‘मेड इन नेपाल’ का लागि छुट्टै प्याभिलियन
नाडा अटो शोमा विदेशी ब्रान्डसँगै नेपाली उत्पादन तथा स्वदेशमै एसेम्बली भएका उत्पादनलाई समेत विशेष स्थान दिइने भएको छ।
विदेशी सहभागीका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ तथा स्वदेशी उत्पादन र एसेम्बलीलाई लक्षित गर्दै ‘मेड इन नेपाल / मेड फर नेपाल’ प्याभिलियन छुट्याइएको छ।
यसले नेपालमा अटोमोबाइल क्षेत्रमा विकास भइरहेको स्वदेशी उत्पादन, एसेम्बली, प्रविधि तथा स्थानीय क्षमताबारे जानकारी दिने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ।
‘गाडीले भरिएको हल मात्र होइन’
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार अटो शो भन्नेबित्तिकै गाडीले भरिएको प्रदर्शनी हल भन्ने बुझाइ रहे पनि अटोमोबाइल उद्योगको ठूलो हिस्सा गाडी बिक्रीभन्दा बाहिर रहेको छ।
उहाँ भन्नुहुन्छ, “अटो शो भन्नेबित्तिकै गाडीले भरिएको हल भन्ने लाग्छ । तर हाम्रो प्रदर्शनीको ठूलो हिस्सा त ती गाडी वर्षौंसम्म चलाइराख्ने उद्योगले ओगटेको छ । त्यो उद्योग पनि देखिनुपर्छ ।”
अध्यक्ष उप्रेतीका अनुसार अटोमोबाइल उद्योगको यही पक्षसँग नेपाली उपभोक्ता गाडी खरिद गरेपछि वर्षौंसम्म जोडिन्छन्। तर टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण, बीमा तथा वित्तीय सेवाजस्ता क्षेत्रलाई एउटै ठूलो प्रदर्शनीमा प्रत्यक्ष रूपमा बुझ्ने अवसर कमै आउने गरेको छ।
नाडा अटो शोले यसपटक त्यही अन्तरलाई सम्बोधन गर्न खोजेको हो।
पाँच दशकमा कोठाबाट तीन लाख वर्गफिटसम्म
नेपालको अटोमोबाइल उद्योगले पछिल्लो पाँच दशकमा गरेको विस्तारलाई समेत यस वर्षको नाडा अटो शोले प्रतिबिम्बित गर्ने आयोजकको भनाइ छ।
पचास वर्षअघि नेपालको अटोमोबाइल उद्योगसँग सम्बन्धित प्रदर्शनी एउटा कोठामा सीमित हुन सक्ने अवस्था थियो। अहिले त्यही उद्योगको प्रदर्शनीका लागि करिब तीन लाख वर्गफिट क्षेत्रफल आवश्यक पर्ने अवस्था आएको छ।
यो विस्तार केवल नेपालमा सवारीसाधनको संख्या बढेकै कारण नभई सवारीसाधनसँग जोडिएको सम्पूर्ण उद्योग, व्यवसाय, प्रविधि, वित्तीय सेवा, मर्मतसम्भार तथा पूर्वाधारको क्षेत्रसमेत विस्तार भएको परिणाम भएको नाडाले जनाएको छ।
नाडाका अनुसार १८औँ संस्करणको अटो शोले नेपालमा विकसित हुँदै गएको सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एउटै छानामुनि प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ भदौ ९ देखि १४ गतेसम्म (अगस्ट २५ देखि ३०) भृकुटीमण्डपमा सञ्चालन हुनेछ। प्रदर्शनीमा नयाँ सवारीसाधन हेर्न र खरिद गर्न चाहने उपभोक्तादेखि सवारीसाधन सञ्चालन, मर्मतसम्भार, वित्तीय सेवा, बीमा, पार्ट्स तथा विद्युतीय सवारीको पूर्वाधारबारे जानकारी लिन चाहने सबैका लागि विभिन्न सामग्री तथा सेवा उपलब्ध हुनेछन्।



