बुद्ध एयरको फ्लीटमा अत्याधुनिक एटीआर–७२–६०० थपियो, नयाँ विशेषता के छ?

काठमाडौं । बुद्ध एयरले आफ्नो हवाई सेवा थप आधुनिक र सुरक्षित बनाउने क्रममा नयाँ एटीआर–७२–६०० विमान भित्र्याएको छ। कम्पनीले फ्रान्सको तुलुसबाट ९एन–एओएस कल साइन भएको विमान नेपाल ल्याएको हो। आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा भएपछि आगामी महिनादेखि उक्त विमान व्यावसायिक उडानमा ल्याइने कम्पनीले जनाएको छ।

नयाँ विमानमा पूर्ण ग्लास ककपिट, अत्याधुनिक एभियोनिक्स, डिजिटल फ्लाइट म्यानेजमेन्ट प्रणाली, आधुनिक नेभिगेशन प्रविधि तथा उन्नत सुरक्षा प्रणाली जडान गरिएको छ। कम इन्धन खपत गर्ने भएकाले यो विमान वातावरणमैत्रीसमेत रहेको कम्पनीको भनाइ छ।

बुद्ध एयरका अनुसार विमानमा आरएनपी–एआर (Required Navigation Performance–Authorization Required) एप्रोच प्रणाली जडान गरिएको छ, जसले कम दृश्यतामा पनि सुरक्षित अवतरण गर्न सहयोग पुर्‍याउँछ। यस प्रणालीमार्फत काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर दृश्यता (भिजिबिलिटी) हुँदा पनि सुरक्षित अवतरण गर्न सकिने जनाइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी–एआरमा आधारित उडान प्रक्रिया लागू गर्ने तयारी गरिरहेको छ। उक्त प्रणाली कार्यान्वयन भएपछि करिब २ हजार मिटर दृश्यतामै पोखरामा सुरक्षित उडान र अवतरण गर्न सकिने विश्वास बुद्ध एयरले व्यक्त गरेको छ।

कम्पनीका अनुसार यस प्रविधिले कम दृश्यताका कारण हुने उडान ढिलाइ तथा रद्द हुने समस्या घटाउने, उडान सुरक्षा बढाउने र यात्रुलाई अझ भरपर्दो सेवा उपलब्ध गराउनेछ।

बुद्ध एयरले आगामी अगस्ट अन्त्यसम्म अर्को एक एटीआर–७२–६०० विमान भित्र्याउने तथा त्यसपछि थप दुईवटा यही सिरिजका विमान ल्याउने योजना पनि अघि बढाएको जनाएको छ। हाल बुद्ध एयरसँग एउटा एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र नयाँसहित दुई वटा एटीआर–७२–६०० गरी कुल १८ वटा विमान रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्