सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्ट हुने पक्कापक्की

काठमाडौं । नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठनका लागि भएको सत्ता साझेदारीको सहमतिपछि सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा नेकपाका संसदीय दलका नेता खगराज भट्टको नाम चर्चामा आएको छ।

शनिबार दुवै दलका शीर्ष नेताबीच भएको तीनबुँदे सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने समझदारी बनेसँगै भट्ट मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको राजनीतिक वृत्तमा चर्चा छ।

भट्ट २०७९ सालको प्रदेशसभा निर्वाचनपछि पनि मुख्यमन्त्रीका प्रमुख दाबेदार थिए। तत्कालीन कांग्रेस-माओवादी गठबन्धनका साझा उम्मेदवारका रूपमा प्रदेशसभामा पुगेका उनी केन्द्रको सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री बन्नबाट वञ्चित भएका थिए। त्यसबेला उनी बिना विभागीय मन्त्री नियुक्त भए पनि सरकार परिवर्तनसँगै कुनै मन्त्रालयको जिम्मेवारी सम्हाल्न नपाई पदमुक्त भएका थिए।

त्यसयता उनले विभिन्न सार्वजनिक कार्यक्रममा आफू प्रदेशको नेतृत्व गर्ने अपेक्षासहित राजनीतिमा सक्रिय रहेको बताउँदै आएका थिए। दलभित्रको नेतृत्व विवादपछि पुनः संसदीय दलको नेताको जिम्मेवारी सम्हालेका भट्ट अहिले नयाँ सत्ता समीकरणबाट लाभान्वित हुने अवस्थामा पुगेका छन्।

वर्तमान मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको तयारी भइरहेको छ। एमाले–नेकपाबीचको पछिल्लो सहमतिले सुदूरपश्चिममा नयाँ राजनीतिक समीकरणको आधार तयार गरेको छ।

यद्यपि, प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया पूरा भएपछि मात्रै नयाँ मुख्यमन्त्री नियुक्त हुने भएकाले खगराज भट्टको नियुक्ति औपचारिक रूपमा भने भइसकेको छैन। तर पछिल्लो राजनीतिक सहमतिका आधारमा उनी सुदूरपश्चिम प्रदेशको आगामी मुख्यमन्त्री बन्ने सम्भावना अत्यन्त बलियो बनेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्