काठमाडौँ, असार ३ गते । लगातार चार कारोबार दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य सुधारसहित हरियो बनेको छ। नेप्से आज ०.०८ अङ्कले बढेर २ हजार ७०५ दशमलव ५३ विन्दुमा कायम भएको छ।
आज विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी तथा उत्पादन एवं प्रशोधन समूहबाहेक अन्य सबै समूहका सूचकमा गिरावट आएको छ। कारोबारमा सहभागी ३५२ कम्पनीमध्ये १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ। १४ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
आजको कारोबारमा सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावर का लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन्। यी दुवै कम्पनीको शेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ। यता एनएमबी डिबेन्चर भने ८.६४ प्रतिशतले घटेर सर्वाधिक गुमाउने सूचिमा परेको छ।
परिसूचक सामान्य रूपमा बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज ८३ लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ।
विश्लेषकहरूका अनुसार बजार स्थिर देखिए पनि लगानीकर्ताहरू अझै ‘पर्ख र हेर’ को अवस्थामा रहेका कारण कारोबार रकममा कमी आएको हो।





