सीमा सुरक्षामा राज्यको संवेदनशीलता सुस्त

प्रा.डा. अक्कलदेव मिश्र
त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, पोखरा

सीमा सुरक्षाको सम्बन्धमा हाम्रो सतर्कता सुस्त छ । यसको नाजायज फाईदा छिमेकीहरुले उठाउँदै आएका छन् । अहिलको कालापानी विवाद त्यसकै उपज हो । हाम्रो राष्ट्रियता शब्दको सजावटमा सिमित छ, त्यो व्यवहारमा आउन सकेको छैन । हामी व्यक्तिगत र समुहगत स्वार्थमा लिप्त छौँ । प्रत्येक सास र गासमा हुनुपर्ने राष्टियता खल्तीमा राखेर हिड्ने प्रवृत्तिले हाम्रो सार्वभौमिकतालाई जिस्क्याई राखेको छ । राष्ट्रका अगाडी व्यक्ति कहिले ठूलो हुन सक्दैन, उ एउटा भुसुना सरह हुन्छ भने राष्ट्र एउटा सागर सरह हुन्छ । कसैले सूर्यलाई हत्केलाले छेकेको फुर्ति लाउँछ भने मुर्खताको त्यो भन्दा ठूलो संकेत केहि हुन सक्दैन ।

अझैपनि हामी सीमा सम्बन्धि संवेदनशील भएका छैनौँ । तीन तिर भारत र उत्तरतिरबाट चीनसँगका सीमा समस्याहरु आइरहेका छन् । केही नीतिगत रुपमा भने केहि स्थानीय अतिक्रमणका रुपमा यस्ता समस्याहरु आउने गरेका छन् । यसको समाधानकालागि एकातिर कुटनीतिक पहल गर्नुपर्ने हुन्छ र अर्को तिर सीमा सुरक्षाकालागि हाम्रो दरो उपस्थिति हुनु आवश्यक छ । पूर्व–पश्चिम र उत्तर–दक्षिणका सीमाहरुमा प्रत्येक १ सय मिटरको दुरीमा एउटा सीमा स्तम्भ र प्रत्येक बीस किलोमिटरमा सीमा सुरक्षा बल राख्नुपर्दछ । यसरी पूर्व–पश्चिम भारतको सीमानामा ५० वटा र चीनसितको सीमानामा भौगोलिक विकटताका कारणले यो संख्या २५ वटा पोस्ट राख्दा पुग्छ होला । त्यसै गरी उत्तर–दक्षिण सीमानामा महाकाली क्षेत्रमा १० र मेची क्षेत्रमा १० गरी जम्मा २० वटा सीमा सुरक्षा पोष्टहरु राख्नु आवश्यक हुन जान्छ । किनभने नेपालको औषत लम्बाई ८ सय ८५ किलोमिटर र चौडाई १ सय ९३ किलोमिटर रहेको छ । भौगोलिक स्थलगत दुरीका आधारमा यसलाई झण्डै क्रमशः १ हजार किलोमिटर र २ सय किलोमिटर मान्न सकिन्छ ।

नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान प्रहरी बाहेकको एउटा छुट्टै सीमा सुरक्षा बलको व्यवस्था गरि दिर्घकालिन रुपमा सीमा विवादको समाधान खोज्नु बुद्धिमानी हुन्छ । यसबाट लाखौँको संख्यामा विदेशिने जनशक्तिको समेत स्वदेशमै व्यवस्थापन हुन सक्छ । त्यसै गरि राजमार्ग मर्मत, संभार तथा विपद् व्यवस्थापनको लागि पनि छुट्टै एउटा साधन सम्पन्न जनशक्तिको व्यवस्था गर्नु आवश्यक देखिन्छ । हाम्रो जस्तो देशको लागि बेरोजगार भत्ता दिनुभन्दा रोजगारीको यो उपयुक्त बाटो हुनसक्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्