काठमाडौँ – रोजगारीका लागि जापानमा रहेका एक जना युवाले काठमाडौँका ५८ परिवारलाई खाद्यान्न राहत सामग्री सहयोग गरेका छन् ।
गोरखाको गण्डकी गाउँपालिका मकैसिंहपोखरी स्थायी घर भई हाल जापानमा बस्दै आएका रविनकुमार श्रेष्ठले लकडाउनका कारण बिहान बेलुकाको छाक टार्न समेत मुस्किल परेका काठमाडौँ तारकेश्वर नगरपालिका वडा नम्बर ४ का केहि परिवारलाई आफु जापानमा बसेरै भए पनि राहत स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराएका हुन् ।
यति बेला कोरोना भाइरस (कोभिड १९)को कारण विश्वभर नै महामारीका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने तथा विपन्न वर्गका नागरिक मारमा परेका छन् । ‘लकडाउनको कारण मारमा परेका नगरिकहरुलाई थोरै भएपनि राहत मिलोस् भनेर खाद्यान्न सामाग्री वितरण गरेको हुँ ‘,श्रेष्ठले भने ।
श्रेष्ठले उपलब्ध गराएको खाद्यान्न सहयोग गोलढुंगाका मजदुर, विपन्न तथा सुत्केरी सहितका ५८ परिवारलाइ चामल, दाल तेल, नुन, चिउरालगायतका सामाग्री वितरण गरिएको वितरणमा संलग्न पर्यटन व्यवसायी नामिनाथ देवकोटाले जानकारी दिए ।
श्रेष्ठ विगत लामो समयदेखि जापानमा बस्दै आएका छन् । उनले विभिन्न समयमा अप्ठेरो परेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन् ।