सशष्त्रको कोरोना उपचार अस्पताल बन्दै

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण भएको खण्डमा व्यवस्थित तवरले उपचार गर्नका लागि सरकारले स्थापना गरेको सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सो अस्पतालको आज उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललगायतले आज स्थलगत निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा अस्पतालको पछिल्लो अवस्था र तयारीका बारेमा उहाँहरुले जानकारी लिनुभएको छ । छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा रहेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) मा आयोजना गरिएको पत्रकार सम्मेलन लगत्तै उहाँहरुले सो अस्पतालको निरीक्षण गर्नुभयो ।

अस्पताललाई युनिफाइड कमान्ड हस्पिटललाई डेडिकेटेड कोभिड–१९ उपचार अस्पतालका रुपमा विकास गर्ने गरी भएको निर्णयअनुसार भौतिक पूर्वाधार निर्माणको काम द्रूत गतिमा अगाडि बढाइएको हो ।

सो अस्पतालमा कूल १२० श्यया आइसोलेशन र छ श्यया आइसियु श्यया तयार पारिएको छ । यस्तै थप १४ वटा आइसियु श्यया निर्माण सम्पन्न हुने क्रममा छ । नेपाली सेना र अन्य स्वास्थ्य निकायका चिकित्सकले सो अस्पतालमा विशेष सेवा दिने गरी तयार पारिएको छ ।

यस्तै टेकुस्थित १०० श्ययाको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल र पाटन अस्पताललाई समेत कोभिड–१९ को उपचार गर्ने अस्पतालका रुपमा तयारी अवस्थामा राखिएको छ । यस्तै नेपाल एम्बुलेन्सलाई सहयोग गर्न चार(चारवटा ‘इमरजेन्सी मेडिकल टेक्निसियन टिम’ राख्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी हालतमा राखिएको छ ।

यस्तै सबै जिल्लामा कम्तीमा दुई र प्रदेश सदरमुकाम रहेका जिल्लामा कम्तीमा पाँचवटा एम्बुलेन्स तयारी गरी राख्न लगाइएको छ ।

अत्यावश्यक सामान आपूर्ति गर्नेलाई पास नचाहिने

सरकारको पछिल्लो निर्णयअनुसार खाद्यान्न, फलफूल, तरकारी, दूध तथा दुग्धजन्य पदार्थ, पशुपक्षी तथा माछाको आहार आदिको ढुवानी निर्बाध रुपमा ल्याउन दिइएको छ । त्यस्ता सामग्रीको आयात तथा ढुवानीका लागि आवश्यक पास नचाहिने व्यवस्था गरिएको छ ।

२९ हजार क्वारेन्टाइन श्यया तयार

हालसम्म देशभर कूल २९ हजार ३८९ क्वारेन्टाइन श्यया तयार भएका छन् । सरकारले तय गरेको मापदण्डअनुसार नै त्यस्ता श्यया तयार भएका छन् । यस्तै तीन हजार ११४ आइसोलेशन श्यया सङ्ख्या व्यवस्थापन भएको छ । त्यस्तै आठ हजार ८२ जना क्वारेन्टाइनमा रहेका छन् भने ८२ जना आइसोलेशनमा रहेका छन् ।( (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्