विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टिम घोषणा

File Photo

काठमाडौँ – जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको लागि नेपाली टिम घोषणा गरिएको छ।प्रतियोगिताका लागि १६ सदस्यीय नेपाली टिम घोषणा गरिएको हो। यसपटकको टिममा किशोर महतो र अर्जुन साउद थप हुँदा अरु खेलाडी पुरानै छन्।

नेपाली टिम

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो।

१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

नेपालले आफ्नो पहिलो खेल १८ जुनमा (असार ३) आयोजक जिम्बावेसँग खेल्नेछ। यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ। पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

प्रतियोगिताको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम तीन दिनपछि दक्षिण अफ्रिका जाँदैछ। नेपालले दक्षिण अफ्रिकामा दश दिन तयारी गर्नेछ। नेपाली टिम प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि उतैबाट जिम्बावे पुग्नेछ। दक्षिण अफ्रिकाबाट जिम्बावे पुगेपछि नेपालले ओमान र युएईसँग वार्मअप खेल खेल्नेछ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्