सरकारले आज बजेट ल्याउँदै, करिब १७ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत हुने

काठमाडौं – आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारकाे नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसवर्ष करिब १७ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत हुने बताइएको छ। सरकारले साधारण खर्च कटौती गरेर पुँजीगत खर्च बढाउने लक्ष्य राखेको छ। बजेटमा अतिरिक्त दायित्व बढ्नेगरी नयाँ कार्यक्रम नल्याउने संकेत सरकारले यसअघि नै गरिसकेको छ। यसैगरी बजेटमार्फत कतिपय चालु खर्च र वित्तीय हस्तान्तरण भइजाने अनुदान पनि कटौती हुने बताएको छ।

जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ । यसअघि सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याएको थियो । उक्त नीति तथा कार्यक्रम गत शनिबार पारित भएको थियो ।

बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्