भारतमा पीपीईको अभावमा रेनकोट र हेल्मेट लगाउँछन् चिकित्सक

नयाँदिल्ली — भारतमा पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) अभाव भएपछि कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न चिकित्सकले प्लास्टिक, रेनकोट तथा हेल्मेट लगाउन बाध्य भएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यकर्मीलाई पीपीईलगायत सुरक्षा सामग्रीको अभाव भएको गत साता स्वीकार गर्दै आवश्यक सामग्री दक्षिण कोरिया र चीनबाट तत्काल ल्याउने बताएका थिए । तर अझैसम्म पनि दर्जनौं चिकित्सक सुरक्षित मास्क तथा पीपीईबिना नै कोभिड–१९ का बिरामीको उपचारमा अग्रपंतिमा खटिएका छन् ।

कोलकताको बेलियाघाटा आईडी अस्पतालमा कोरोना उपचारमा खटाइएका डाक्टरहरूले आफूहरूलाई प्लास्टिकका रेनकोट दिइएको जनाएका छन् । उपचारका क्रममा उनीहरुले ती रेनकोट लगाएका तस्बिरहरू समेत सार्वजनिक भएका छन् ।

कतिपय चिकित्सकहरूले यस्तो अवस्थामा आफूहरूले काम गर्न नसक्ने बताए । एक चिकित्सकले भने, ‘हामी ज्यानको बाजी लगाएर काम गर्न सक्दैनौं ।’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.आशिश मन्नाले भने यसबारे कुनै प्रतिक्रिया दिएनन् ।
त्यसैगरी, हरियाणाको इएसआइ अस्पतालका चिकित्सक सन्दिप गार्गले आफूसँग एन–९५ मास्क नभएकाले हेल्मेट लगाउने गरेको बताए। उनले भने, ‘मैले सर्जिकल मास्क र हेलमेट लगाउने गरेको छु । यसको भाइजरले मेरो अनुहार पनि छेक्छ ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोभिड–१९ संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकले अनिवार्य रुपमा पीपीई लगाउनुपर्छ । यसबारे आफ्नो प्रश्नमा भारतीय स्वास्थ्य मन्त्रालयले कुनै जवाफ नदिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

भारतमा कोभिड–१९ संक्रमितको संख्या १ हजार २ नाघिसकेको छ। हालसम्म ३२ जनाले ज्यान गुमाएका छन्। मे महिनाको मध्यसम्ममा भारतमा एक लाखभन्दा बढी मानिसमा कोभिड–१९ को संक्रमण हुने एक अध्ययनले दाबी गरेको छ ।

कान्तिपुरबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्