दार्चुला जिल्लाकाे शंकरपुर एक चिनारी

मान सिंह धमी

दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका अन्तर्गत वडा नम्बर –८ मा अवस्थित सुन्दर रमणीय स्थान गाउँपालिकाको सदरमुकाम शंकरपुर पस्ती हो । यो अति रमणीय शंकरको तपोभूमि मैले कक्षा –१ देखि कक्षा –१० सम्म बालापनको स्कूले जीवन विताएको जन्मभूमिको एक अंश पनि हो । शंकरपुरको बारेमा चित्रणगर्दा पाठकहरूलाई आफू जन्मेको, हुर्केको र बालापनको स्कूले जीवन विताएको ठाउँलाई कसले पो नराम्रो भन्ला र ? भनेर भन्ने पक्कै पनि लाग्न सक्छ । तर यो लेखसंगै संलग्न जिउँदो तस्बिरले यो ठाउँसंग अपरिचित जो कोहिलाई पनि आकर्षक सुन्दर दृश्यले एकचोटी उक्त ठाउँको अवलोकनगर्ने मन पक्कै पनि लाग्छहोला भन्ने कुरामा विश्वस्त छु । शंकरपुरको परिदृश्य वर्णनगर्न तस्बिर उपलब्धगराई सहयोग गर्नुभएकोमा मेरा अनन्य मित्र धिरज पन्तज्यूलाई पनि साधुवाद छ । हुनत आफू जन्मेको, हुर्केको, गाईवस्तु गोठालो गएको तथा पढेलेखेको ठाउँ मरुभूमि नै किन नहोस, नदीको तट जोखिमयुक्त ठाउँमा नै किन नहोस, कस्लाई पो नराम्रो लाग्छ होला र । तर शंकरको तपोभूमि शंकरपुर त्यस्ता जोखिमहरूबाट पनि पृथक रहेको कुरा अवगत गराउन चाहे ।

योजनाबिनाको काम चाहे सानै किन नहोस, अर्थहिन हुन्छ । त्यस्तै मेरो यो लेख पनि योजनाबिनाको अर्थहिन त हुने होइन कि ? भन्ने कता कता मनमा शंका उपशंका नलागेको भने होइन । शंकरपुरको बारेमा चित्रण गर्दा कताबाट सरुगर्ने, के लेख्ने, कसरी लेख्ने आदि कुराहरू मनमा उब्जि रहेका छन् । कतै पाठकहरूले आफूलाई बढोत्तरीगर्न लेखकले यस्ता कुराहरू लेख्ने गर्दछ कि भन्ने पनि लाग्न सक्छ । तर मलाई कुनै ठाउँको बारेमा लेखेर, उक्त ठाउँको प्रसंशा गरेर लेखक, साहित्यकार, राजनीतिज्ञ केही हुनु छैन, किनकि म हातमुख जोर्न सक्षम र दुईचार जनाको मिल्नेसाथी पक्कै पनि छु । शंकरपुरमा विद्यालयतह देखि स्नातक तह सम्मको अध्ययन हुने गर्दछ । शंकरपुर माद्यामिक विद्यालयको सिरानमा करिब २०० मिटर माथि स्वास्थ्यचौकी रहेको छ । स्वास्थ्यचौकी भन्दा माथि डाँडामा शिवमन्दिर रहेको छ । जहाँबाट शैल्य शिखर धामको दर्शन गर्न सकिन्छ । डाँडामा अवस्थित शिवमन्दिरबाट उत्तरतिर मालिकार्जुन गाउँपालिकाको वडा नम्बर –१ र २ भगवती अन्तर्गतका खुना, जगतबिसा, ठिङ, सिराड, गाडखोला, मौपानी, रेवली, सुत्तने, थापाला र माथि नागबेली आकारको बलशिखर, न्वालपानी धुरा सहजै अवलोकन गर्न सकिन्छ । शिवमन्दिरको उत्तरतर्फ बलशिखरको पारीपट्टी भारतको उत्तराखण्डमा पर्ने केही गाउँहरू, नन्दादेवी र नन्दकोट हिमालको दृश्यावलोकन गरेर प्रकृतिको आनन्दानुभूति गर्न सकिने कुरामा दुईमत नहोला । शंकरपुरको चारैतिर सल्लो, बाज, लालिगुराँश, उतिस, काफल, आदि वनस्पतिहरूले जो कोहीलाई पनि मोहनी नलगाउला भन्न सकिन्न । यो ठाउँमा सल्लाहरूको घना जंगलले थप आकर्षण बढाएको छ । शंकरपुरबाट उत्तरतिर करिब एक किलोमिटरको दूरीमा भोरकोट भन्ने ठाउँमा अस्पताल भवन निर्माण सम्पन्न हुने क्रममा रहेको छ । शंकरपुरको पश्चिमतिर लटिनाथ मन्दिर पौडीपाण्डौदेखि अझै पश्चिम गणेबाजको तल रगसखाली भन्ने ठाउँमा शंकरपुरबाट करिब २ किलोमिटरको दूरीमा मालिकार्जुन गाउँपालिकाको सदरमुकामको प्रस्ताव गरिएको छ । तथापि अहिले पौलबिसामा सरकारी र अर्धसरकारी भवनहरूबाट सरकारी कामकाज सञ्चालन भइरहेको छ ।

शंकरपुर सेरोफेरोमा विभिन्न गाउँवस्तिहरू रहेका छन् । शंकरपुरको पूर्वमा मालिकार्जुन गाउँपालिका –४ हुनैनाथ गोठ्युडी रहेको छ । गोठ्युडी गाउँमा अवस्थी ब्राह्मण र औल्लेकी हंशराज भाटका सन्तानहरूको वस्ती रहेको छ । शंकरपुरको दक्षिणमा सिराडी गाउँ पर्दछ । जहाँ जोशी, पन्त, खत्री, धामीहरूको बसोबास रहेको छ । शंकरपुरको दक्षिण पश्चिममा बोरेपानी, गोरेकाणा, सच्चोरी, चोल्थी, रतोडा, कोटिला, टाटिक आदि गाउँहरू रहेकाछन् । उक्त गाउँहरूमा पन्त, खत्री, बोहरा, ढोली, धामी, महरा, ओझा, जोशीहरूको बसोबास रहेको छ ।
शंकरपुरको पश्चिममा पस्ती गाउँ रहेको छ । पस्ती गाउँलाई तराईको कुनै समथर फाँटसंग तुलना गर्दा पनि फरक नपर्ला । यो ठाउँ काशीराम पन्त (तपिलदार) ज्यूको बसोबास स्थल पनि हो । जसले राणाकालिन शासनको अन्त्यहुने बेला वि. सं. २०१० सालमा शंकरपुर हाईस्कूलको स्थापना गरेका थिए । जसले शिक्षाको उज्यालो घामबाट कसैले पनि बन्चित हुनु नपरोस भन्ने ध्येयका साथ अहोरात्र खटिएर दार्चुला जिल्लाकै पहिले हाईस्कूल स्थापना गरि जनतालाई ठुलो गुन लगाएको छ । विद्यालय स्थापनामा महत्त्वपूर्ण योगदान पु–याउने महापुरुष द्वय स्व. काशीराम पन्त (तपिलदार) बाजे र स्व. दामोदर जोशी (डाक्टर) बाजेलाई श्रद्धासुमन अर्पण गर्न चाहन्छु । पस्ती गाउँको समथर मैदानीभाग पहाडको अन्नको भण्डार भन्दा अतिशयोक्ति नहोला । यो गाउँमा पन्त, धामी, बोहरा, लुहार, पार्की, ढोली आदि जातिको बसोबस स्थल हो ।
पस्तीदेखी अगाडि पश्चिम जोगिलुटा, एकलेखाली, चस्कोट, धमालेक, सानन्चोर लगायतका गाउँहरू रहेकाछन् । उक्त गाउँहरूमा धामी, कुँवर, धानुक, भट्ट, ओझा, चन्द, महरा, पन्त, मिश्र आदि जातिका मानिसहरू बसोबास गर्दछन् । शंकरपुर बजारमा विभिन्न दैनिक उपभोग्य वस्तुहरू सुलभ र सुपथ मूल्यमा पाइन्छन् ।

मान सिंह धमी (दार्चुले बाजे) !
मालिकार्जुन -४ दार्चुला
हाल कैलाली बहुमुखी क्याम्पसमा उप प्राध्यापक

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्