काठमाडौँ – एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । मलेसियाको किनरारा ओभलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।
यससँगै नेपालले समूह चरणको अन्तिम खेलमा पराजय भोगेको छ । अघिल्ला तीन खेलमा स्पष्ट जित निकालेको नेपाल बलियो हङकङसँग पराजित भए पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
एक खेल खेल्न बाँकी रहेको हङकङले ३ खेलमा ६ अंक जोडेको छ र समूहको शीर्ष स्थानमा रहेको छ । नेपाल ४ खेलमा ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । अब नेपालले सेमिफाइनमा समूह ए को विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।