स्थानीय तहरुहरुमा हेलम्बु अब्बल बन्दै, शिक्षाको गुणस्तरका लागि नमुना विद्यालयको निर्माण सुरु

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले ‘नमुना विद्यालय’ निर्माणको सुरुवात गरेको छ ।

गाउँपालिका भरीका माध्यमिक शिक्षा एकै विद्यालयमा दिने उद्देश्य राखेर सिन्धुपाल्चोकमा पहिलो पटक हेलम्बु गाउँपालिको यस्तो अभियान सुरुवात गरेको हो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने र छरिएर रहेका मावि सम्मका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एकै विद्यालयमा राखेर गुणस्तर शिक्षा दिने उदेश्यले नमुना विद्यालय निर्माणको सुरुवात गरेको हो ।

हेलम्बु गाउँपालिका इचोकको घोप्टेघ्याङमा निर्माण सुरुवात गरिएको नमुना विद्यालयमा यो वर्ष १८ कोठाको विद्यालय भवन निर्माण सकिने र आगामी शैक्षिक सत्र देखि कक्षा नै सुरु हुने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

सुविधा सम्पन्न विद्यालयमा सबै विद्यार्थीहरुका लागि नयाँ शैलिको छात्राबास समेत निर्माण हुने छ । ‘हामी एकै कोठामा धेरै विद्यार्थी राख्ने भन्दा गाउँको परम्परागत शैलिको घरहरु निर्माण गरेर विद्यार्थीहरुलाई छात्राबासमा राख्ने योजना बनाएका छौ ।’ अध्यक्ष शेर्पाले भने ।

विद्यार्थीहरु आफै कृषि उत्पादनमा जोडिनेछन् होस्टेलमा बस्ने विद्यार्थीहरुले आफैले उत्पादन गरेका कृषि सामग्री उपभोग गर्ने योजना गाउँपालिकाले अघि सारेको छ

‘हामीले ल्याएको अवधारणमा छात्राबासमा कम्तीमा ५ देखि ८ जना सम्म विद्यार्थीहरु बस्छन्, भान्साकोठा देखि सबै सुविधा छात्राबासमा नै हुने गर्छ’ अध्यक्ष शेर्पाले भने ‘विद्यार्थीहरु आफै खाना पकाएर खान्छन् र स्कुल छाड्दा कम्तीमा पनि खाना कसरी पकाउने यो उनीहरुले विद्यालयबाट नै सिक्छन् ।’

हेलम्बुमा सुरुवात गर्न लागिएको नमुना विद्यालयमा बुद्धिष्टहरुको अन्तर्राष्ट्रिय भाषा सम्भोटा र हिन्दुहरु सस्कृति विद्या समेत विद्यार्थीहरुलाई पढाउने तयारी गाउँपालिकाको रहेको छ । बुद्धिष्टहरुले पनि सस्कृति पढ्छन् र हिन्दुहरुले पनि सम्भोटा पढ्छन गाउँपालिका अध्यक्ष शेर्पाले भने । ४० रोपनी क्षेत्रफलमा निर्माण हुने विद्यालयमा पौडी पोखरी ,शिक्षकहरुका लागि आवस गृह लगायत धेरै सुविधा हुने छ ।

नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि सार्वजनिक जग्गा र व्यक्तिको जग्गा भाडामा लिएर कृषि उत्पादनमा लगाउने योजना रहेको अध्यक्ष शेर्पाले सुनाए ।

गाउँपालिकको आन्तरिक स्रोत, जिल्ला समन्वय समिति र वाग्मती प्रदेशको सामजिक विकास मन्त्रालयको सहयोगमा १४ कोठा र चार कोठा जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाको सहयोगमा यो वर्ष १८ कक्षा कोठा निर्माण सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमराज कोइरालाले जानकारी दिए ।

नेपालका हिमाली रेन्जका सामुदायिक विद्यालयहरु सुधार गर्ने हो भने सबै जिल्लामा यही अवधारण ल्याउनु पर्ने अध्यक्ष शेर्पाले बताए । ‘सरकारी विद्यालयहरु बचाउनका लागि पनि हामीले यो अवधारण ल्याएर काम समेत सुरु गरेका छौ, यो देशभरका लागि नमुना हुने छ,’ अध्यक्ष शेर्पाले भने । नमुना विद्यालय निर्माण हुने आसपासाका गाउँका बालबालिकाहरुका लागि भने बालविकासदेखि कक्षा १० सम्म यही विद्यालयमा पढाउने र गाउँपालिकाभरका मावि तहका विद्यार्थीहरुलाई भने यही विद्यालयमा ल्याएर अध्यापन गराउने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए । सुरुमा कक्षा १० सम्म र त्यसपछि १२ कक्षा र पछि आवश्यकताको आधारमा स्नातक तहसम्म यही विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाउने अध्यक्ष शेर्पाले बताए । यहाँ अध्ययन गरेका विद्यार्थीहरु पुर्णतय व्यावसायीक हुने छन् ।

विद्यालय टाढा हँुदा दैनिक चार घण्टा आवतवाजत हुँदा विद्यार्थीहरुले पढ्न नसकेको र विद्यालय छाड्ने समस्या धेरै नै भएपछि आफुहरुले सबैको सल्लाहमा यो अवधारण ल्याएको अध्यक्ष शेर्पाले प्रष्ट पारे ।

हेलम्बु गाउँपालिकामा हाल नौ वटा मावि तहसम्मको पढाई हुने विद्यालयहरु रहेका छन् । ति मध्ये देशकै नमुना माविको रुपमा परिचित मेलम्ची घ्याङ मावि भने तत्कालन नहटाउने योजना रहेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।

भुकम्पपछि हेलम्बु क्षेत्रमा कारितास स्वीजरल्याण्ड विद्यालय भवनहरु निर्माण सम्पन्न गरेको थियो । गाउँपालिकाको अग्रसरतामा निर्माण हुन लागेको नमुना विद्यालयको पनि सबै डिजाइन कारितास स्वीजरल्याण्डले निर्माण गरेको विद्यालय जस्तै हुने गाउँ पालिकाले जानकारी दिएको छ ।

यो वर्ष १८ कक्षा कोठा निर्माण सकिने र आगामी वर्ष अरु थप गरेर ४० वटा सम्म कक्षा कोठा निर्माण गरिने योजना गाउँपालिकाको रहेको छ । ४० कोठाले पनि पुगेन भने अरु कक्षा कोठा पनि क्रमश थप हुदै जानेछ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमराज कोइरालाले थपे । नमुना विद्यालयमा सुविधा सम्पन्न विज्ञान प्रयोगशाल, कम्प्युटर ल्याब, पुस्ताकालय,खानेपानी, खेल मैदान लगायत सबै सुविधा हुने छ ।

नमुना विद्यालयमा प्रधानध्यापकले शैक्षिक क्षेत्रको मात्रै व्यवस्थापन गर्नेछन् भने अरु सबै व्यवस्थापनका लागि विद्यालय निर्देशक नियुक्ती गर्ने योजना गाउँपालिकाका रहेको छ । ‘प्रअलाई नै सबै जिम्मा दिदा विद्यालयको पठनपाठन लगायत व्यवस्थापन राम्रो नहुने हामीहरुको अनुभवले प्रमाणित गरेको छ, त्यसैले निर्देशकले प्रशासनीक र अरु व्यवस्थापन हेर्छन्, प्रअले पठनपाठन हेर्छन् ।’ अध्यक्ष शेर्पाले भने ।

नमुना विद्यालयमा हेलम्बु गाउँपालिका सहित अन्य जिल्लाबाट अध्ययनका लागि आउने विद्यार्थी सहित करिब १ हजार विद्यार्थीहरु हुने गाउँपालिकाले अनुमान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्