किसानलाई पेन्सन दिने गाउँपालिका

 

बाँके – बाँकेको नरैनापुर गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन थालेको छ ।

गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम लिएकोमा माघबाट कार्यान्वयनमा ल्याएको छ । यो आर्थिक वर्षमा १२ किसान उत्कृष्ट भएका छन् । उनीहरूले जनही २ हजार किसान पेन्सन पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

उनीहरूलाई मासिक दुई हजारका दरले वार्षिक २४ हजार पेन्सनबापत रकम दिइनेछ । पेशाबाट अलग भएमा पेन्सन रकम नदिइने पनि गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्रका ६ जना व्यवसायिक पशु पालक र ६ जना व्यवसायिक तरकारी खेती गर्ने किसानले पेन्सन पाएका हुन् ।

वडा नम्बर ५ मा १९ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्ने हस्मत अली साई, सोही वडामा १४ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरेका हमिद मुकेरी, १२ कठ्ठामा तरकारी खेती गर्दै आएका वडा नम्बर ४ दौलतपुरका धनवीर थारु, १० कठ्ठमा तरकारी खेती गर्दै आएका वडा नम्बर २ का रामसुरत मौर्य र आरतीदेवी मौर्य, ५ कठ्ठामा तरकारी खेती गर्दे आएकी वडा नम्बर १ की कमला तिवारीले किसान पेन्सन पाएका छन् ।

साथै २७ भैसी पाल्दै आएका वडा नम्बर ५ का हरिशंकर मुराउ, ६९ गाई र ५० बाख्रा पालेका वडा नम्बर ४ का छोटेलाल राढले, दुई गाई, २१ भैसी पालेका वडा नम्बर ५ का रामसुमत यादव, दुई हजार कुखुरा पाल्दै आएका वडा नम्बर ६ का अमरलाल मौर्य, पाँच गाई र ४९ भैंसी पाल्दै आएका वडा नम्बर ५ का वलियासार यादव, वडा नम्बर २ का जहाँ इफरान अहमदले पनि पेन्सन पाएको गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ । गाउँपालिकाको कृषि शाखा प्रमुख सदन भण्डारीले उत्कृष्ट किसान छानेर पेन्सन दिन थालेको बताए । उत्कृष्ट भई पेन्सन पाएपछि किसानहरू खुसी छन्् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्