महाशिवरात्री नजिकिदै गर्दा पशुपतिमा साधुसन्तहरुको भीड बढ्न थाल्यो

काठमाडौं – महाशिवरात्री नजिकिदै गर्दा साधु सन्तहरु पशुपतिनाथको मेला भर्न काठमाडौ भित्रिने क्रम बढ्न थालेको छ । महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुले शिवबुटी (गाँजा, भाङ र धुम्रपान)मा रोक लगाउने निर्णयको विरोध गरेका छन् । पशुपति क्षेत्र विकास कोष महाशिवरात्री व्यवस्थापन समितिले पशुपतिनाथ मन्दिर आसपासमा बस्न थालेका बाबाहरुलाई गाँजा र चुरोटमा रोक लगाएको उनीहरुको आरोप छ ।

आइतबार साँझ राम मन्दिरमा धुनी जगाएर बसेका बाबाहरुलाई सुरक्षाकर्मीले चुरोट सेवन आदिमा कडाई गरेका थिए । सोको विरोधमा साधु एवं बाबाहरु एक हुन थालेका छन् । भारतको उत्तराखण्डबाट आएका बाबाहरुको टोली आइतवार साँझ राममन्दिर र बागमती तट वरिपरीका शिव मन्दिरमा धुनी जगाएर बसेका छन् । महाशिवरात्रीको अवसरमा भारत र नेपालका विभिन्न क्षेत्रका साधु र नागाबाबाहरु पशुपतिनाथ दर्शन गर्न आउने गरेका छन् ।

महाशिवरात्री शुरु हुनभन्दा अघि भारत र नेपालबाट हजारौंको संख्यामा साधुहरु पशुपति आउने गरेका छन् । गत शनिवारदेखि नै सुरक्षाकर्मीले साधुहरु बसेको स्थानमा निगरानी गर्न थालेको छ । पशुपतिनाथमा सुरक्षामा खटिएका प्रहरी जवान र साधु बीच विवाद समेत हुन थालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्