हिमोद्यानका नवीन धुनहरू

दामोदर पुडासैनी किशोर
छर्लङ्ग खुलेको संसारसँग, नाफा नोक्सानको हिसाब खोजेँ, संवेदनाका बतासहरूको ।
घाम ब्युँझनुपूर्व बाटो तताउँदा हुरी ब्युँतिसकेको रहेछ कालीगण्डकी किनारहरूमा ।
जोमसोम बजार छोड्न नपाउँदै हावाले ठेल्न थाल्यो जतासुकैबाट । कालीगण्डकीको वारिपट्टि हामी थियौँ । पारिपट्टिबाट बालुवा बेस्सरी उडाउँदैथियो हुनहुनाउने हावाले । ढुङ्गाका ससाना टुक्राहरूले आवाज दिएरै ठोक्दै थिए हाम्रो गाडीलाई । गाडी चल्ने सडक राम्रोसँग बनिसकेको थिएन । पिक, साबेल, गल र तिन कामदारहरू सबार थिए हाम्रो गाडीमा । ठाउँ ठाउँमा गाडीका चक्काहरू फँस्थे । तिनीहरूले उद्धार गरेपछि फेरि अगाडि बढ्थे ।
मुस्ताङ जिल्लाभरिका सबै कार्यालयहरूको लेखा परीक्षण गर्न लेखा परीक्षण टोली पन्ध्र दिनअगावै त्यहाँ पुगिसकेको थियो । लेखा परीक्षणका समस्या, प्रगति र जिल्लाभरि गरिएका विकास निर्माणको निरीक्षण गर्न पुगेको थिएँ मुस्ताङमा । जोमसोम र मार्फामा निरीक्षणपश्चात् मुक्तिनाथ र छुक्साङ क्षेत्रको निरीक्षण कार्यक्रम तय गरिएको थियो ।
‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भएको थियो मुक्तिनाथ यात्रा । सरकारी काम, देवधाम गर्नेहरू धेरै छन् यो देशमा । मन्दिर त पाँच वर्ष पहिले नै भ्रमण गरिसकेको थिएँ मैले । जिल्ला विकास समिति, मुस्ताङले मुक्तिनाथ क्षेत्रवरिपरि पटक पटक बाटोघाटो, घर र विद्यालय निर्माण गरेकाले ती कामहरू हेर्नु र खर्च र उपादेयता परीक्षण गर्न जरुरी थियो । जिल्ला विकास समितिका पदाधिकारीहरूसँगको छलफलपछि निरीक्षण सुरु भयो ।
विक्रम सम्वत् २०६९ भाद्र १३ । डायरीको पानामा लेखेँ मैले त्यस दिन । भ्रमणमा सहभागी भनेर पनि लेखेँ — निर्देशक दामोदर पुडासैनी, इन्जिनियर चन्द्रप्रकाश सुवेदी, सब इन्जिनियर विष्णु बास्तोला र असिस्टेन्ट सब इन्जिनियर दिनेश यादव ।
कालीगण्डकीको बगर नै बगर उत्तरतिर हान्निएको छ हामी चढेको गाडी । हाम्रा चालक उमेशजी असाध्यै पुखला छन् र अप्ठेरो बाटामा सजग ढङ्गले गाडी अघि बढाउन सिपालु पनि ।
फोरह्विलको सहारामा दौडाउँदा दौडाउँदै हिलोमा जाकिएको हात्ती बन्यो गाडी । लुप्रा गाउँनजिक पूर्वबाट पश्चिमतिर बग्दो रहेछ पाण्डा खोला र मिल्दो रहेछ कालीगण्डकी नदीमा । हो, त्यही दोभानमा हल न चल बन्यो हामी चढेको गाडी । पानीमा चुर्लुम्म डुब्न आँटेका छन् चार चक्का । पानी पसेर इन्जिन सिज होला कि भन्ने डर छ । सबै मिलेर खोलामा ढुङ्गा हाल्यौँ । गल, पिक र साबेल चलायौँ । न्वारानदेखिको बल लगाएर ठेल्यौँ । बल्ल उठ्यो गाडी । घुँडासम्म भिजाएर बल्ल बढ्यौँ अघि अघि । ढुङ्गा उडाउने हावाले पटक पटक लडाइरह्यो हामीलाई । गाडीको भन्दा चर्को छ हावाको ह्वाईंह्वाईं ।
संसार नाङ्गो छ । नाङ्गो बगर, नाङ्गो बालुवा, नाङ्गा पहाड, पहाडभरि नाङ्गा मान्छे, नाङ्गा जनावर र नाङ्गा रुखहरू जस्ता ढुङ्गे आकृतिहरू । कतै सिन्दूर दलेर, कतै केशरी छरेर, कतै नीर थुप्रिएर, कतै पुदिना लेदो जमेर बनेका जस्ता छन् पहाडहरू । इन्द्रेणी रङ्गे नाङ्गा पहाडहरूको माथितिर नाङ्गै ढाकिएको छ निख्खर निलो आकाश । सर्वाङ्ग नाङ्गिएको संसारमा हामीहरू भने नाङ्गो स्वरूपलाई वस्त्रले ढाकिएको भ्रममा अघि बढिरहेछौँ ।
होलीमा सुख्खा रङ्ग खेले झैँ धुलो उडाइरहेको देखिन्छ हावाले, बायाँतिरको ढाकरजुङ गाउँतिर ।
एक्लेभट्टि पुग्दा अलि साँघुरो भेटियो बगर । पहाडहरू दुवैतिर अलि ठाडा देखिन्छन् र बायाँतिरका पहाडहरूमा गुफाहरू देखिन्छन् ताराहरू झैँ छरिएका ।
हामी कागबेनी पुग्दा घाम अलि तरुनो बनिसकेको थियो । कागबेनीका स्याउ र बैंसका पातहरूमा टलक्क टल्केर बसिरहेको रहेछ घाम । कागखोला र कालीगण्डकीको दोहोरी चलिरहेछ, हावाले चम्की चम्की कुतकुत्याइरहेछ कागखोला र कालीगण्डकीलाई । उनीहरूकै लहै लहैमा छमछम नाच्दैछन् फापरहरू, सूर्यमुखीहरू, मकैहरू, आलुबखडाहरू, आरुहरू र स्याउका दानाहरू । नाङ्गा पहाडहरूको सुन्दरतामा सुन्दर बस्ती रहनु र बस्तीभरि मान्छेहरूको चहलहल बढ्नु कति मनोरम छ दृश्य ।
आङ्गी, पाङ्देन, दोचा, बख्खु पहिरेका एक हूल मान्छेहरूले हात हातमा खादा लिएर उभिएका छन् । उनीहरूकै अघिल्तिर रोकियो हामी चढेको गाडी कागबेनीमा । स्वागत पाइयो । न्याना हात मिलाइयो । टासिदेले भनियो ।
‘कागबेनीलाई काग खोलाले बगाउन सक्छ । कालीगण्डकीले काटिदिन सक्छ । यहाँका गुम्बाहरू नभत्कियून् । चैत्य र छोर्तेनहरूमा घाउ चोट नलागोस् । फलफुलले ढाकियोस् । सबै पर्यटकलाई खुसी गराएर राख्न सकियोस् । हामी त्यसैमा लागेका छौं । सरकारले सहयोगमा हात बढाओस् हामीलाई ।’ धेरै स्थानीयको माझमा कागबेनीको आवाज चुटुक्क राख्नुभयो जिल्ला विकास समिति, मुस्ताङका पूर्व उपसभापति पेमा छिरिङ गुरुङले । अरू सहभागीहरूले थप्नुभयो हो मा हो ।
तिब्बती संस्कृतिमा चुर्लुम्म डुबेको छ कागबेनी । हावा असाध्यै चल्ने भएर होला हरेक घरका ढोकाहरू बन्द छन् । सिसाका भित्ताहरूबाट घरभित्र मान्छे चल्मलाएको देखिन्छ । पर्खाल नै पर्खालले घेरिएका खेतबारी दक्षिणतिर छन् कागबेनीको । ढुङ्ग्याने पर्खालहरूले घेरिएको कागबेनी एउटा किल्ला बस्तीको अवशेषको रूपमा बाँचिरहेको छ । यति सुन्दर बस्तीको अस्तित्व बचाइएन भने एउटा ठुलो भुल हुनेछ हाम्रो समयको । हामी यही निष्कर्षमा पुग्यौँ । त्यहाँ उपस्थितहरूले हामीलाई थपी थपी तोरा जुश (शिवोकथ्रोन) पियाउनुभयो । भिटामिन ‘सि’ को प्रमुख स्रोत, रगत सफा गर्ने, शक्ति दिने हजारौँ फाइदा बताउनुभयो दाज्युभाइ दिदीबहिनीले तोरा जुसको ।
कागबेनी सहरको छेवैमा कालीगण्डकी किनारमा उभिएको छ सात सय वर्ष पुरानो बौद्ध गुम्बा । कागबेनीको चपेटामा परेर ढल्ने अवस्थामा रहेछ त्यो गुम्बा । गुम्बा संरक्षणका लागि भारत सरकारको सहयोगमा साढे तिन करोड लागतमा काम हुँदै रहेछ । त्यो निर्धारित समयमै पुरा गर्ने प्रतिबद्धता पाइयो निर्माण व्यवसायी र स्थानीयबाट । ढुङ्गा चिनेर कालीगण्डकीको बहावलाई बङ्ग्याइदिनु सजिलो काम होइन, तर, सम्भव बनाइदिएका छन् साहसी हातहरूले । काग खोला नियन्त्रण कार्यमा भएको प्रगति सन्तोषजनक भेटियो ।
‘म झारकोटको घेम्बा रिम्बोछे , म ठिनीको घेम्बा रिम्बोछे, म छुक्साङको घेम्बा रिम्बोछे’— परिचयको क्रममा भेटिए केही घेम्बा रिम्बोछेहरू । मुस्ताङमा अझै पनि मुखिया प्रथा कायम छ । तिनै मुखियालाई स्थानीय भाषामा भनिँदो रहेछ— घेम्बा रिम्बोछे । बस्तीको नायक मुखिया । बस्तीको पालक मुखिया । गाउँलाई एकत्रित गर्ने सूत्रधार मुखिया । मुस्ताङमा सोर गाउँ विकास समितिमा बयानब्बे बस्ती रहेछन् । तिनमा रहेछन् सय मुखियाहरू ।
‘अब त राज्यले गाउँ विकास समिति र वडाहरू बनाएको छ । विभिन्न राजनीतिक निकायमा विभिन्न पदहरू छन्, किन चाहियो र घेम्बा रिम्बोछे ?’ मैले मुखियाको आवश्यकता जान्न चाहेँ ।
‘देशका पचहत्तरमध्ये फरक जिल्ला हो मुस्ताङ । यहाँ सरकारी अड्डा, अदालत, नेता, कर्मचारी त छन् तर तीभन्दा बलिया छन् यहाँका मुखियाहरू । गाउँको रीतिरिवाज चलाउनुप¥यो, खेतीपाती गर्नु, गराउनुप¥यो, गाउँको झैँझगडा मिलाउनुप¥यो – जेमा पनि चाहिन्छ घेम्बा रिम्बोछे । घेम्बा रिम्बोछेले भनेपछि ज्यान दिन पनि तयार हुन्छन् गाउँलेहरू । घेम्बा रिम्बोछे छ र पो गाउँमा शान्ति छ मुस्ताङमा । घेम्बा रिम्बोछेले योजना छनौट र कार्यान्वयन गराउँछन् गाउँ गाउँमा । तपाईंहरू जिल्ला विकास समिति भन्नुहुन्छ । घेम्बा रिम्बोछेलाई सहमत नगराउने हो भने केही काम गर्न सक्तैन सरकारले ।’
मुखियाका कुरा उनीहरूकै मुखबाट निस्किए ।
समाज सेवाको पुरानो संगठनात्मक स्वरूप पनि हो मुखिया प्रथा । जनसङ्ख्या र ठाउँको स्थितिअनुसार एकभन्दा बढी मुखिया र त्योभन्दा धेरै होलो हुने कुरा बताए कागबेनीका मुखियाले ।
राजनीतिबाट मुक्त रहेर गाउँको विकास निर्माण, शान्ति सुरक्षा र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नु साँच्चै महत्त्वपूर्ण काम पनि हो ।
‘मुखिया भएपछि कटुवाल नभए पनि हुन्न र ?’ सोधेँ ।
‘मुखिया राष्ट्रपति जस्तो, कटुवाल मन्त्री जस्तो, चाहिहाल्यो नि दुवै जना ।’ प्रष्ट पारे उनले ।
आपूm खुसी आफ्नो जग्गा जमिन खनजोत गर्न पाइन्न, बाली लगाउन र बाली काढ्न पाइन्न, घाँस काट्न पाइन्न, त्यो सबै मुखियाले तोकेबमोजिम हुन्छ मुस्ताङमा । पूजापाठ, बिहेमा हरेक घरले कति सहयोग गर्ने र अटेरी गर्नेलाई कति जरिवाना गर्ने हो त्यो सबै मुखियाकै निर्देशन र निर्धारणमा हुन्छ । हामी त साँच्चै राष्ट्रपति जस्तै हौँ गाउँका लागि’— घुर मा हात पुछ्दै लामो हाँसो हाँसे मुखियाले ।
‘गाउँ गाउँमा चुनिएका पार्टीका नेताहरू चाहिँ के गर्छन् त ? यो त समानान्तर शासन व्यवस्था भएन भन्या ?’ सोधँे मैले झोङका मुखियालाई ।
समानान्तर हुने कुरै भएन नि ! हाम्रा मुखिया, कटुवालहरूको बढी महत्त्व छ । उनीहरूले भनेअनुसार नै चल्छ सबै कुरा । उनीहरूले विवेक प्रयोग गर्दछन्, न्याय प्रदान गर्दछन् । गाउँमा कुनै झगडा गर्ने वातावरण हुँदैन मुस्ताङमा । झगडा परे मुखियाको छिनोफानो अन्तिम हुन्छ । जिल्ला विकास समितिका पूर्व सभापतिले पोखे यथार्थता । ‘हामी त तलब खाएर जागिर पकाउने मात्र हो, सबै मुद्दा गाउँका मुखियाले मिलाउँछन् । यो वर्ष जम्मा तिन मुद्दा परे अदालतमा’— जिल्ला अदालतका न्यायाधिशले बताउनुभएथ्यो अघिल्लो दिन ।
‘मुखिया कति विश्वासी र शक्तिशाली हुन्छ भन्ने घटना सुन्नुहोस्’— ठिनीका मुखिया बोले ।
‘एक पटक राजा वीरेन्द्रले जोमसोम भ्रमण गर्ने भएछन् ।’ प्रमुख जिल्ला अधिकारीले गाउँ गाउँबाट मान्छेहरू जोमसोम भेला भई राजाको स्वागत सत्कार गर्न उर्दी जारी गरे । कुनै गाउँबाट सदरमुकाम गएनन् मान्छेहरू । राजा जोमसोम पुगे । मान्छेको उपस्थिति नदेखेर निराश बनेर फर्किए । त्यसको सात दिनपछि तिन मुखियालाई पोखरा बोलाइयो र गाउँ गाउँबाट मान्छे भेला गराउने भए फेरि राजाको भ्रमण गराउने कुरा भयो । मुखियाहरूले सदरमुकाममा मान्छे भेला गराउने जिम्मा लिए । तोकिएको दिनमा मुस्ताङका हरेक गाउँबाट मान्छेहरू सदरमुकाम पुगे । जोमसोममा मान्छे नै मान्छेको पोखरी चल्मलायो । राजारानी सवारी भयो । नाचगान, बाजागाजा, सांस्कृतिक सजधज सबै देखेर राजा प्रसन्न बने । मुखियाहरूले स्यावासी पाए ।’
‘एक गाउँ एक घरको विश्वास छ मुस्ताङमा । सरकारले दिएको होस् अथवा गाउँले मिलेर आर्जेको कमाइ, दुरुपयोग त कसैले गर्नै पाउँदैन । सबैलाई सबै कुरा थाहा दिइन्छ, सबै मिलेर सबै गाउँलेका लागि काम गरिन्छ’— सबैको एकमत पाइयो ।
भित्तो छेड्ने हावाको धक्कालाई परवाह नगरेरै रापिलो बनिसकेको थियो घाम । हामीलाई मुक्तिनाथसम्म पुग्नु थियो । भोटे चिया र तोरा जुसले शरीरमा शक्तिको सञ्चार भए झैँ लाग्दै थियो ।
‘देख्नु भो’ सर यो पैसाको भारी हो’— इन्जिनियर चन्द्रप्रकाश सुवेदीले कोट्याउनुभयो मलाई । पिठ्युँमा जुटको बोराभरि सामान बोकेर भित्री कोठाबाट घाम आउने कोठातिर मोडिनुभयो दाइ ।
‘बोराभरि पैसा’— मलाई विश्वास लागेन ।
‘के हो दाइ यो ?’ सोधेँ ।
‘पैसा सुकाइदिउँ भनेर । धेरै दिन भयो धुम्म परेको । आज घाम लागेकाले झिकेको ।’ त्यति धेरै पैसा घरमा देखेर छक्क परेँ म । पोलिथिनमा बेरेर धोक्राभित्र हालिँदो रहेछ नोटहरूलाई ।
‘यताका मान्छे बैंकमा विश्वास गर्दैनन् । आपसमा लेनदेन मिलाउन ढुकुटी खेल्छन् । भएको पैसा जमिनमुनि गाड्छन्, बेला बेलामा हेर्छन्, बिस्कुन सुकाउँछन् र मौका मिलेपछि खच्चरलाई बोकाएर पोखरा र काठमाडौँतिर झार्छन् ।’ मिङमार दाइका कुराले झन् चकित भएँ ।
‘बिस्कुन सुकाउने गरी पैसा कहाँबाट आउँछ हँ ? न खेतीपाती धेरै छ, न उद्योग कलकारखाना ।’ उत्सुकता चम्किलो बन्यो मेरो ।
‘पर्यटनबाटै कमाइन्छ पैसा । कुइरेलाई खुसी पारेपछि गाह्रो छैन पैसा बटुल्न । हेर्नुहोस्, यी डाँडा, गुफा, नदी र हिमालहरूमा लुकेका रहस्यहरू खुलाइदिने र ठाउँ ठाउँमा सुविधायुक्त बसोबासको व्यवस्था मिलाइदिने हो भने यहाँका ढुङ्गाहरूभन्दा पैसा बढी कमाउन सकिन्छ । अनि डाँडा डाँडामा देख्न पाइन्छ नोटको बिस्कुन । यी डाडाँहरू नाङ्गा डाँडा मात्र होइनन् बुझ्नुभयो, पैसाका भकारी हुन् । यहीँ हल्लिरहेछ संसारको सर्वोच्च सुन्दरता । यतै छन् यार्चागुन्भुका झाडी । यहीँ छन् पदमचाल, पाँचऔँले, जटामसी, नीर र काला च्याउका चाङहरू । यहीँ भेटिन्छन् हिमचितुवा, हिमभालु, हिम फ्याउरा र हिमकुखुराका खैलाबैला । यहाँका हरेक कित्ता खोजका विषय छन्, हरेक प्राणी र वनस्पति बनेका छन् खोज र अनुसन्धानका उत्तम क्षेत्र । यहाँको समुदायले मुस्ताङ भित्रका जग्गा मुस्ताङ बाहेककालाई किनबेच गर्न दिँदैनन् । त्यसैले पनि बिग्रन पाउँदैन यहाँको कला, संस्कृति र अर्थतन्त्रको प्रणाली ।’
घामको पारमा दाइले बिस्कुन सुकाउनुभएको अमेरिकी, युरोपेली, जर्मन र नेपाली नोटहरू हेर्दै आँखाले देखेसम्म हेरेँ मैले हिमाल र रङ्गीन पहाडमा हल्लिइरहेका नोटका मूलहरूलाई ।
हरिया नोटहरूको उतुङ बिस्कुन बनेर उभिइरहेछ दक्षिणतिर निलगिरि ।
हामी कागबेनीबाट उकालो चढ्दा दायाँतिर एक हूल मान्छेहरू खेतबारी वरिपरि घुम्दै रहेछन् । तिनीहरू सबैले पहेंला घुरे राता घुर केनाउ पहिरेका थिए, एक हातमा माने घुमाउँदै थिए, अर्को हातमा पुस्तक थियो । माने र पुस्तक जमिनमा छुवाउँदै मन्त्र जपेर खेतबारीको प्रदक्षिणा गर्दै थिए । बुद्धमन्त्र लेखेका पुस्तक र माने छुवाउँदै बौद्ध मन्त्रहरू जपेर खेतबारी प्रदक्षिणा गरियो भने अन्नमा किरा लाग्दैन, असिना र हिउँले खाँदैन, अन्नबाली फस्टाउँछ भन्ने विश्वास रहेछ त्यतातिर ।
टाढा पुग्ने मान्छे बिचमै अलमलिरहनु बुद्धिमत्ता थिएन । गाडी पूर्वपट्टि उकालो चढ्यो कागबेनीबाट । सात बहिनीहरू डोकामा आलु बोकेर उकालो चढ्दैछन् । तिनीहरूको गाला भने रेड डेलिसियस स्याउ जस्तो रातो छ । तिनीहरू सबैले पहिरेका बख्खु , ह्याङजु , पाङ्देन , केटिन , कउ र सम्पा ले भर्खर फक्रेका लाहुरे फुल जस्ता चम्किला देखिए । भारी बोकेरै हामीलाई जिस्क्याए तिनीहरूले । हामीले केही बुझेनौँ । हाम्रा चालक उमेशजीले पनि जिस्क्याएरै दिए जवाफ ।
पूर्वतिरको अग्लो डाँडामा पुग्दा कागबेनीभरि लुङ्दरको जुलुस चले झैँ देखियो । स्याउबारी र बैंसका रुखहरूले हरियोपरियो देखियो कागबेनीलाई । कागबेनीकै छेउबाट दक्षिणतिर बगिरहेको कालीगण्डकीका मसिना छालहरूमा जिन्दगीका सुखदुःख घोलिए झैँ देखियो । चौसट्ठी घर रहेका कागबेनीका छतहरू दाउराले ढकमक्क ढाकिएका छन् । जतासुकै नाङ्गा डाँडाहरू छन् । घरमा दाउराका चाङहरूको प्रतिस्पर्धा चलिरहेछ । ढुङ्ग्याने सडकमा बलजफ्ती गुड्दैछ गाडी । बायाँतिर ससाना बस्तीहरू देखिन्छन् । रङ रङका स्याउहरू लटरम्म फलेका छन् । सिमी, फापर र मस्याङको लयदार नचाइले आँखा तान्छ जोसुकैको ।
बिस्तारै बस्तीहरू बाक्लिँदै छन्, बिस्तारै भेटिन्छन् जौ, गहुँ र करुका कर्मधर्म । मान्छेहरू तिते फापर चुट्दैछन् । मुला स्याहार्दैछन् । एकातिर राताम्य घोडाका हूलहरू अर्कोतिर सेताम्य घोडाका बथानहरू घाँस चिमोट्दैछन् भिरका भित्ताहरूमा । पारितिर पहाडको कछाडबाट एउटी बहिनीले गाइरहेको आवाज सुनिन्छ । त्यो सुनसान परिवेशलाई ब्युँझाउने र लठ्याउने तागत देखिँदैछ बहिनीको आवाजमा । खिङ्गा गाउँ रहेछ त्यो । पर उत्तरपूर्वी कुनामा देखियो मुक्तिनाथ मन्दिर ।
‘अब धेरै छैन होला मुक्तिनाथ’— सब इन्जिनियरको बोली ।
‘यहाँका ठाउँ हेर्दा त्यहीँ लाग्छन्, जत्ति हिँडे पनि पुग्न गाह्रो छ’— स्थानीय परिस्थिति झल्कियो इन्जिनियर सुवेदीबाट ।
बस्तीहरू बाक्लिएका छन् । भोटेपिपलका ठुला ठुला रुखहरूले गाउँको इज्जत बढाइरहेछन् । बाटा बाटामा छन् होटलहरू । सौर्य र इन्धनको राम्रो विकास भएको भेटिन्छ जताततै । मान्छेहरू सुकिला मुकिला छन् । राता पिरा छन् ।
स्थानीय भेषभूषामा सजिएका एक युवक र एक युवती बसेका रहेछन् चौतारामा ।
‘ए भाइ विशेष छ कि कसो ? सजिएर हिँडिएछ नि’— सुस्तरी चलिरहेको गाडीबाट सोधेँ मैले । ‘विशेष नै भनुँ न, उसलाई भगाएर ल्याएको ।’— नघुमाइ जवाफ दिए भाइले । झोङ्गाकी अठ्ठाइस वर्षे युटिनलाई खिङ्गाका चौबिस वर्षे कुङ्गाले भगाएर ल्याएछन् ।
‘भोज कहिले त ?’ चालक उमेशको प्रश्न ।
‘फर्केर आउनूस् न, बसौँला खाऔँला’— भाइको जवाफ । केटी मागेर, प्रेम गरेपछि केटी भगाएर र केटीलाई तानेरमध्ये कुनै तरिकाबाट बिहे गर्ने चलन रहेछ त्यतातिर ।
घुमाउरो बाटोमा उकालो चढिरहेछ हामी चढेको गाडी । बाटाभरि पोका पुन्तुरा झुन्ड्याएका दर्शनार्थीहरूको भिड भेटिन्छ मुक्तिनाथ दर्शनमा हिँडेका र फर्केकाहरूको । तिनीहरू कसैको अनुहारमा चमक देखिंदैन । सबै निराश, सबै थकित र सबै अभाव र अप्ठेरोमा त्राण खोज्दै भौँतारिइरहेका जस्तो । शरीरलाई, मनलाई र बुद्धिलाई दुःख दिएपछि मात्र सुख मिल्छ भन्छ हिन्दु धर्म । यो लोकमा बेस्सरी अप्ठेरो खपेपछि मात्र अर्को लोकमा शान्ति र समृद्धि मिल्छ भन्छ हिन्दु धर्म । मान्छेलाई निराशामा पारेर, सङ्कटमा फसाएर र सकेसम्म दुःख र अन्यौलको बाटो अपनाएर हुँदै नभएको परलोक र अर्को जन्मको कल्पनामा भुलाउँदा जीवनभर बिजोग खप्न विवश छन् बरा धर्मभीरु हिन्दुहरू ।
मुक्तिनाथ पुग्नुअगावै केही तल भेटियो रानीपौवा बजार । थली परेको ठाउँमा छ त्यो । धर्मशाला, प्रहरी चौकी, पर्यटकीय आवश्यकता अनुसारका होटलहरूले भरिपूर्ण छ रानीपौवा । युरोपेली, अमेरिकी, भारतीय र नेपाली तीर्थालुहरू रगरगाएर हिँडिरहेछन् बजारभरि ।
‘यति सुन्दर ठाउँमा मन्दिर बनाएर सबैलाई आवत जावतको थलो बनाउनु धर्मभन्दा पनि स्वास्थ्यको दृष्टिले राम्रो लाग्यो मलाई । कम से कम धर्मको लालसामा बुढाबुढी र तरुना तरुनीहरू यस्तो उकालो ठाउँमा चढ्ने त गर्दछन् ।’ पोर्चुगलका रुइ प्याट्रिसियोले भने मलाई । आपूm भने हिमाली क्षेत्रमा परम्परागत खाद्य संरक्षण प्रविधि हेर्न आएको भन्दै थिए ।
‘हामी बद्री, केदार, हरिद्वार, गोरखनाथ, पुट्टपर्ती, गया, वनारस जस्ता धेरै ठाउँमा पुग्यौँ तर मुक्तिनाथ जस्तो सुन्दर ठाउँ अन्त कतै भेटेनौँ । सुन्दर ठाउँ नै स्वर्ग हो नि वास्तवमा’— भारत कर्नाटकका जयराम एस., श्रीनिवास मुर्थी र एच.एस. रामाकृष्णाहरूसँग भलाकुसारी भयो त्यहीँ । ‘यति विकट ठाउँमा आउन पाएँ, जिन्दगीमा कहिल्यै पहाड नचढेकी म जस्ताका लागि योभन्दा ठुलो स्वर्ग अरू कुनै हुनै सक्तैन— भारतकै अठासी वर्षे सीतामाताको अनुहार खुसीले धपक्क बलेको थियो ।
पन्ध्र मिनेट पैदल हिँडेपछि पुगियो मुक्तिनाथ मन्दिर परिसरमा । प्यागोडा शैलीमा उभिएको छ मुक्तिनाथ मन्दिर । हिन्दू धर्मावलम्बीहरू पुज्दैछन्, बौद्ध धर्मावलम्बीहरू पनि पुज्दैछन् । पुजारी भने छिन्— बौद्ध धर्मावलम्बी झुमा । अलि पर धार्मिक पुस्तक पाठ गर्दैछन् एक पण्डित । तिनमा धार्मिक श्लोकहरू पढ्नुभन्दा दक्षिणा र अरू कुरामा बढी ध्यान पुगे झैँ देखिन्छ । तिनी क्षण क्षणमा पुस्तक पढे झैँ गर्दछन्, क्षण क्षणमा भक्तहरूलाई यसो गर्नूस् उसो गर्नूस्को उर्दी लगाउँछन्, क्षण क्षणमा झुमाहरूलाई गाली गर्दछन् । ‘हातमा पुस्तक मनमा दस थोक’ भएपछि चिडचिडाहट किन नहोस् बरा पण्डितजीमा ।
मन्दिरभित्र रहेको मुक्तिनाथको मूर्ति स्निग्ध, सफा र कलात्मक छ । कसले बनायो होला त्यति राम्रो मूर्ति, कसले पु¥यायो होला त्यहाँ र कसले डो¥याउन थाल्यो होला हिन्दु र बौद्धका अनुयायीहरूलाई ।
यज्ञ यज्ञादिहरू निरन्तर चलिरहेछन् यज्ञ कुण्डमा । धर्मसूत्रहरूका पाठहरू चलिरहेछन् गुञ्जायमान रूपमा । कति साक्षात् देवताको दर्शनाभिलाषाले हुत्तिइरहेछन् । कोही हिमाली प्रदेशको प्रगाढ सौन्दर्य रसपान गर्न दौडिरहेछन् ।
मन्दिरको आडैमा छन् अविरल झरिरहेका एक सय आठ धाराहरू । कुलामा पानी ल्याएर कलात्मक ढुङ्गेधाराबाट झारिएका धाराहरूलाई कञ्चन हिमधारा भने पनि हुन्छ ।
‘नुहाउने हो सर ?’— मेरो आशयअनुसार नुहाउने ननुहाउने निधोमा पुग्न लाग्नुभएको रहेछ इन्जिनियर समूह ।
‘सफा पानीमा सफा हुने काममा किन पछि हट्नु, जाऊँ’— स्वीकृति दिएँ मैले ।
हामी नाङ्गियौँ, जटा फालेको नरिवल झैँ । नाङ्गाहरूको भिड छ मन्दिरवरिपरि । त्यहाँ लाज मान्नेहरूको लाज नै नाङ्गिएको छ । सबैले गरेपछि सबै काम सर्वस्वीकार्य बन्दछ । त्यसै भएको छ ।
मन्दिरको प्राङ्गणमा कुण्ड छ कम्मरसम्म पानी जमाइएको । हामीले एक सय आठ धारामा नुहाउन सुरु ग¥यौँ । पानी होइन बरफ झरे झैँ चिसो छ शरीरभरि । रगत जम्ला जस्तो छ, शरीर कक्रिन्छ कि जस्तो छ लठ्ठी झैँ । मान्छेहरू नुहाउँदै होइन, दौडदै पानी थापिरहेछन् एक सय आठ धाराका । हामीले पनि त्यसै ग¥यौँ । अन्त्यमा मन्दिर अघिल्तिरको कुण्डमा वारपार गर्नुपर्ने रहेछ । त्यो पनि बाँकी राखेनौँ । बाहिर निस्कँदा जाडो निकै कम भए झैँ भइरहेछ । शरीर ताजा र पूmर्तिलो बनिरहेछ । अघिसम्म लेक लाग्यो भन्नेहरू ठमठमी हिँडिरहेछन् । शरीरको तापक्रम र बाहिरी तापक्रमबिच सन्तुलन कायम राख्ने र त्यति माथिसम्म पुग्दाका मयल र पसिना निमिट्यान्न पार्ने अभिप्रायले चलाएको हुनुपर्छ त्यो चलन ।
‘आई थिङ्क दिस इज हेभेन अब डिजर्ट ’ कोरियाका कुन हो रिनको खुसी थामिनसक्नु थियो मुक्तिक्षेत्र पुग्न पाउँदा । वरिपरि नाङ्गा मरुभूमि पहाडहरू छन् । पूर्व, दक्षिण र उत्तरतिर काला पहाडहरूमाथि टल्किरहेछन् हिमचुचुराहरू । अलिकति खुला र भिरालो भनेको पश्चिमतिरको कागबेनी क्षेत्र भैगो । एउटा स्यानो समस्थलीयुक्त उपत्यकामा फैलिएको मुक्तिक्षेत्रमा अग्ला रुखहरूले बेग्लै सौन्दर्य छरिरहेछन् । घना रूपमा फैलिएका भोटेपिपलका पहेंला पातहरूले सुनौलो बनाएको देखिन्छ टाढाबाट नै । अमेरिकाको टेक्सास र ओक्लाहोमातिर रहँदा मेपलका पातहरूले असाध्यै मन लोभ्याउँथे मलाई । झन्डै हाम्रा भोटे पिपल जस्तै लाग्ने मेपलका पातहरू सुरुमा हरिया, बिचमा पहेंला र अन्त्यमा राता बन्छन् । मौसमको फेरबदलसँगै सम्पूर्ण जङ्गलको स्वरूप नै रङ्गीन र लालित्यपूर्ण ढङ्गबाट बदलिइरहन्छ । झरेका पातहरूले चौरको स्वरूप नै रङ्गीन र सङ्गीतपूर्ण बनाइरहन्छ । हो त्यस्तै भेटेँ मैले भोटेपिपलका हाँगा र पातहरूबाट । मरुभूमिको त्यो उच्च ठाउँमा प्रशस्त पानी भेटिनु आफैँमा ठुलो प्राप्यता हो । जतासुकै झरनाहरू झरिरहेछन्, जतासुकै कुलो, नदी र जरुवाहरू बगिरहेछन् । पूmलहरू छन्, झाडीहरू छन्, प्रशस्त खर्चिनेहरू पुगिरहेछन्, केही नहुनेहरू बाँचिरहेछन् । मुक्तिनाथ मन अनुसारको धाम बनिरहेछ ।
चुचुराहरूमा बेस्सरी चम्केका छन् हिमपत्रहरू र सूर्यका लहरहरू । हिमोद्यानमा चलिरहेछ मद्धिम सङ्गीत । सङ्गीतका धूनहरू आफैँ लोभिएका छन् मायालु विचित्रतासँग । सौन्दर्यका नवीन छटाहरूको उकुसमुकुस छ नयाँ गुञ्जनको आविष्कारका लागि ।
मुक्तिनाथ मन्दिरको पछिल्तिर छ झुमाहरू बस्ने गुम्बा । झुमाहरूसँग अन्तरङ्ग कुराकानी गर्ने मन चम्केको छ मेरो । सुवेदीजीले चिन्नुभएको रहेछ केही झुमाहरूलाई । उहाँकै माध्यमबाट पसियो झुमा निवासमा ।
देव मन्दिर सफा गर्न, देवताको पूजा गर्न र जीवनभर धर्मकर्म गर्न छोरीलाई मन्दिरमा चढाउने र उनीहरूलाई नै ‘झुमा’ भन्ने चलन चल्यो प्राचीन कालदेखि नै । धनीमानीले अर्काकै छोरी किनेर पनि चढाइदिए मन्दिरमा । जिन्दगीभरि विवाह र सांसारिक जीवनबाट टाढै रहनुपर्ने, जिन्दगीभरि भोक, प्यास, तृष्णा, इच्छा सबै मारेर मन्दिर ढुकिरहनुपर्ने एउटा सकसपूर्ण जिन्दगी रहेछ झुमाहरूको ।
हामी झुमा गुम्बामा पुग्दा भर्खर खानपिन सकेका थिए झुमाहरूले । केही झुमाहरू गुम्बा बाहिरको धारामा भाँडा माझ्दै थिए, केही भने गुम्बाभित्र, बाहिर बढारकुँडार गर्दै थिए । उनीहरूले सुरुमा हामीसँग कुरा गर्नै मानेनन् । सुवेदीजीले मलाई ‘उहाँ केन्द्रबाट निरीक्षणमा आउनुभएको हो, तपाईंहरूको समस्या बुझ्न खोज्नुभएको छ’ भनेपछि मात्र एक झुमालाई चुने कुरा गर्न ।
कपाल पुरै खौरिएको छ झुमाको । उमेर तेत्तिस भएछ तर अनुहारको चमक खसेको छ । झुमासँग केहीबेर कुरा चल्यो मेरो ।
‘बहिनी कुन ठाउँबाट आउनुभएको ?’
‘ठिनी गाउँबाट ।’
‘झुमा बनेर गुम्बामा बस्न रमाइलो लाग्छ ?’
‘यो बाध्यताको रमाइलो हो । मान्छेको जिन्दगीमा कसलाई होला सधैँ एउटै काम, एउटै खाले लुगा, एउटै किसिमको खाना र एकै ठाउँमा बसिरहने मन । पिँजडामा हालिदिएपछि खुसी छैन भनेर के गर्न सक्तछ र चराले ? कर्मै यस्तो भएर झुमा बन्नुपरेको भन्छन् । मलाई त त्यस्तो होइन जस्तो लाग्छ । हाम्रामा त्यस्तै चलन चलाए पहिलेका मान्छेले, र त्यस्तै भयो । झुमा नबनेको ठाउँमा पनि पूजा पाठ चलेकै छ नि ।’
‘समाजले त सम्मान गर्छ नि तपाईंहरूलाई ।’
‘समाज जहिले पनि जे भन्छ त्यो गर्दैन । जे गर्छ त्यो भन्दैन । फुलको थुङ्गा देखाएर अँध्यारामा छुरी धस्न सिपालु छ समाज । देवताको पूजा गर्न, मन्दिर सफा गर्न हामीलाई चढाइन्छ, कलिलो उमेरमा । कहिल्यै वास्ता गरिँदैन हाम्रा इच्छाको । आपूmले धर्म कमाउन अर्काको इच्छा विपरीत जिन्दगीभरि बन्धनमा पारिदिने कस्तो धर्म ? सम्मान के गरेको भन्ने ? एउटा धनीमानीले किनेर चढाउँछ, एउटा केही नबुझेकाले धर्मको नाममा छोरी चढाउँछ । सहयोग गर्ने आश्वासन बाँड्दै हाम्रो शरीर लुछ्न खोज्नेको सङ्ख्या कम छैन । समाजका ठुलाठालु भनाउदाहरू चिनी, चिया र चामल ल्याउने नाममा हामीलाई भेट्न आइपुग्छन् र हाम्रो ओछ्यान तताउन खोज्छन् । अनि कहाँ छ धर्म ? कहाँ छ देवताको उपस्थिति ? देवताको बहानामा हुनसम्म ठगिन्छौँ हामी । देवताको बहानामा मान्छे ठग्ने चलन चलेसम्म बाँचिरहनु पर्नेछ हामीले सुनको पिँजडामा ।’
धेरै भन्नुभयो थोरै समयमा झुमाले । बैंसको डिलमै पहिरो गएको र फुङ्ग उडेका सपनाहरू सजाएर बाँच्नुको कहाली लाग्दो चित्र सल्बलाइरहेछ उनीहरूका सामु । ‘तपाईंहरूले नै भर्ने हो क्यालेन्डरका कोठाहरूमा नवीन रङ, तपाईंहरूले नै भत्काउने हो पिँजडालाई र तपाईंहरूले नै रोक्ने हो संवेदनहीन बतासलाई ।’ हामीले सम्झायौँ र निस्कियौँ गुम्बाबाट ।
झुमा गुम्बाको पछिल्तिर निर्माण भइरहेथ्यो नर्सिङ गुम्बा । जिल्ला विकास समिति, पुरातत्त्व विभाग, मुक्तिनाथ क्षेत्र विकास समिति, संस्कृति मन्त्रालयहरूको आर्थिक सहयोगमा निर्माणाधीन थियो त्यो । दुई करोड अन्ठाउन्न लाख लागत अनुमान भएको त्यो गुम्बाका लागि त्रियानब्बे लाख बजेट मात्र विनियोजन भएको र त्यसपछि कसरी पुरा गर्ने यकिन नभएको गुनासो थियो निर्माण समितिको । पुरातत्त्व विभागले गुम्बा निर्माणको प्रारूप र लागत अनुमान तयार गरेको रहेछ । काठ नै नपाइने यो मरुभूमिमा काठ प्रयोग गर्नुको सट्टा बाहिरबाट स्टिल किनेर प्रयोग गर्नु राम्रो हुन्थ्यो भन्ने गुनासो थियो मुक्तिनाथका प्रमुख लामा वाङ्गेल लामाको । मुक्तिनाथ क्षेत्रको सबै आम्दानी एउटै डालोमा राख्ने र गुरुयोजना बनाएर त्यसअनुसार काम गर्न सकेमात्र विकास हुन्छ यो क्षेत्रको भन्ने राय थियो मुक्तिनाथ क्षेत्र विकास समितिका उपसभापति छिरिङ दाबा गुरुङ र सचिव आङ्ग्या गुरुङको ।
पर्यटकहरूको दोहोरीलत्ता छ मुक्तिनाथमा । बन्द व्यापार दिन दुईगुना रात चौगुना छ । व्यक्ति धमाधम मोटाइरहेछन् । मुक्तिनाथ क्षेत्र विकास समिति र राज्यको प्रभाव भन्ने झन् झन् कमजोर भइरहेछ । यस्तै गुनासो सुनियो स्थानीयको ।
मुक्तिनाथ मन्दिरको दक्षिण पूर्वपट्टि अर्को मन्दिर रहेछ ज्वालामाईको । जमिनमुनि पानी बगिरहेको रहेछ । त्यसैमाथि अखण्ड रूपमा बलिरहेको छ अग्निज्वाला । त्यसैलाई भनिदो रहेछ ज्वालामाई । त्यही अग्निज्वालाको माथिपट्टि बनाइएको रहेछ बुद्धमूर्ति । ज्वालामुखी फुटिरहेको ठाउँलाई कसैले देवता भनिदियो, विश्वास गरिदिए अरूले र पुज्ने क्रम जारी छ अहिलेसम्म । अचम्मको चिज भगवान् । अप्ठेरो चिज भगवान् । सहनशील भगवान् । क्रुर र निष्ठुरी भगवान् । प्रश्नको जवाफ खोतल्नुभन्दा भगवान् जन्माउन सजिलो मान्छौँ हामी । भौगर्भिक कारण खोज्नतिर नलागी भगवान्ले जलाइदिएको बत्ती भनेर पुज्ने मान्छेको कमी छैन मुक्तिनाथमा ।
‘आउनुहोस् आउनुहोस् मोटरसाइकल सर्भिसको मजा लिनुहोस्’— ज्वालामाईबाट तल झर्नेबित्तिकै हातैमा समात्न आइपुगे एक हूल केटाहरू । ‘पाँच सय तिर्नूस् पाँच मिनेटमै पु¥याइदिन्छौँ रानीपौवा’— पैदल दस मिनेटमा पुगिने बाटोमा मोटरसाइकलबाट पु¥याउँदा रहेछन् तिनीहरूले । वृद्धहरू, लेक लागेर बिरामी परेकाहरू, विदेशी पर्यटकहरू र सौखिनहरू मोटरसाइकलको पछिल्तिर बसेर खुर्मुरिँदा रहेछन् रानीपौवातिर । पाँच सय पाइला हिँड्न छोडेर कसले तिरोस् पाँच सय रुपियाँ । हामीहरू हिँड्यौँ लुरुलुरु ।
‘तपाईंहरूको खाना तयार भइसक्यो पस्कुँ ?’ रानीपौवा बजारको मुक्तिनाथ होटलकी साहुनीको फोन आयो ।
‘बल्ल खाइने भो’ मुस्ताङे कालो दाल र मार्फा चौडापात रायोसँग चौरीको घिउ हालेर पकाएको मसिनो चामलको भात— पेटदेखि जिब्रोसम्म हल्लिइरहेको भोक औधी खुसी बन्यो एक पटक ।

रानीपौवा, मुक्तिनाथ, मुस्ताङ
२०६९ भाद्र १३ गते

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्