उत्सर्गका कोरसहरूमा

दामोदर पुडासैनी किशोर
ठोकाइ र बगाइले मिहिन बन्दछ पत्थर ।
चमक छ सबैको अनुहारमा । मलिलो पाटामा हलक्क हल्केको बिरुवा जस्तो सब्लाएको छ सबैको शरीर । गफिँदै, मुस्काउँदै, हात हातमा मन्त्रमाला गन्दै हिँडिरहेछन् मान्छेहरू । सडकले सहरलाई घेरेको छ । सहरभित्र घरभन्दा धेरै छन् बौद्ध चैत्य र बुद्ध मूर्तिहरू । साँघुरा गल्लीहरू, बाक्लो माटाका घरहरू, घरभित्र साना कोठाहरू, उज्यालो छिर्न हम्मे हम्मे पर्ने झ्यालहरू । अझै चौधौ शताब्दीले छोडेको छैन लोमन्थाङ सहरलाई । एउटै पर्खालले घेरिएको लोमन्थाङ सहर पर्खालबाहिर निस्कन खोज्दैछ । ऊ निस्केर अलि पर बगरसम्म र काठमाडौँको बौद्धसम्म पनि फैलिएको छ । पर्खालभित्र फैलिएको आफ्नो आदिम मौलिकता तोड्न, मोड्न र फोड्न भने मान्दैन लोमन्थाङ ।
सहरका घरहरूभन्दा अग्ला, माटे तर सेतोले पोतिएको छ पर्खाल । पर्खाल बाहिरको सडकमा हिँडिरहेछौँ हामी । चिन्नुपर्दैन, हाँसिदिन्छन् मान्छेहरू । कुरा चाहिँदैन, बोलिदिन्छन् । छेमकुशल सोध्छन् । घरबास सोध्छन्; र सोध्छन्, जिन्दगी र यात्राका कुरा । कोही चिन्नुपर्दैन, पुग्नेबित्तिकै चिरपरिचित लाग्छ लोमन्थाङ सहर । मान्छेको परिचय नै मान्छे भएपछि, मान्छेको मर्म नै मान्छेले बुझ्ने भएपछि किन चाहियो र मान्छेको छुट्टै नालीबेली । फुलको बास्ना डाँडावारि मान्छेको बास्ना डाँडापारि सावित गराउने सुन्दर बिम्ब बनेको छ लोमन्थाङ । कयाँै दूरी निर्जन पहाडहरूमा दौडिएपछि, कयौँ आँखाका डिसहरू तृणहीन पाखा, पखेरा र हिमशृङ्खलाहरूमा कुदेपछि एउटा सुन्दर सहर भेटिएको छ । सहरका घरहरूसँगै हरिया रुखहरू भेट्नु र बुद्धका अर्धमुदित नयन बोकेका चैत्यहरू घर र रुखहरूभन्दा अझ धेरै स्पर्शित हुनुले कुतकुती जाग्छ भित्रैदेखि । त्योभन्दा ठुलो कुरा त भेटिएका हरेक मान्छेको मुहारबाट जूनको रोशनी र वासन्ती रस बर्सिनु अलौकिक लाग्छ परिवेश ।
चम्किला आँखाहरू भेटिन्छन् जताततै । मान्छेको उपस्थितिमा लोलाएका भेटिन्छन् आँखाहरू । नौनी जस्तो सेतो छालाले घेरिएको लोभलाग्दो अनुहारमा चम्केका आँखा र हृदयदेखि निस्केको कर्णप्रिय आवाजले रमरमी लाग्दछ उत्साह र उमङ्गको मात ।
अप्ठेरामा फलेको फर्सी कति सजग हुन्छ जिन्दगीप्रति । भेल सहिरहेको नदीभूमि कति सुगसुगाउँदो र ताजा हुन्छ सधैँभरि । चिच्याउँदै दर्गुछन् गाडीहरू तर असङ्ख्य गाडीको कुल्चाइ सहेर कहाँ चिच्याएको छ र सुशील सडक । बर्सेनी फलफुल फलाउँदै अरूलाई चखाउँदै गर्ने बोट कहाँ आत्तिएको छ र शिशिरमा र कहाँ मात्तिएको छ र शरद्मा ।
त्यस्तै त्यस्तै लाग्छन् लोमन्थाङवासीहरू ।
अरू सहर र बस्तीहरू छैनन् नजिकमा । जङ्गल र जलाशय पनि छैनन् नजिकमा । न अन्न झुल्ने फाँटहरू छन्, न उद्योग र कारखानाका चापहरू छन् । हिममरुभूमिको मादकतामा मख्ख छ लोमन्थाङ । भेडा, घोडा, खच्चर र चौँरीका चालहरूमा चौ चौ खेल्छ लोमन्थाङ । हिउँदभरि हिउँको बर्को ओढ्नु र बर्खाभरि घाँस र बुटाहरू चखाएर प्राणीहरूलाई पुल्पुल्याउनु संस्कार बनेको छ लोमन्थाङको । फुल नै फुलले ढाकिएका रङ्गीन ह्याङ्जु र बख्खु मा सजिएका युवती र अधबैंसेहरूको खितखिते मुस्कान र झुन्ड झुन्ड बनेर सहर घुम्ने तिनीहरूको बानी देख्दा जापानको कोवे सहरमा छु कि भन्ने भ्रम भयो मलाई कता कता ।
कसैसँग लसपस नभएकी बैँसले मदमत्त युवती हुन् लोमन्थाङ । शुष्क प्रदेशमा एक्लै ढकमक्क फक्रिइरहेकी पुष्पवृक्ष हुन् लोमन्थाङ । मान्छेले मनैले सिर्जना को¥यो भने नउम्रने ठाउँ कहीँ छैन भन्ने उच्च उदाहरण हुन् लोमन्थाङ ।
चियामाथि चिया थपिँदो छ । भोटे चियाको धारोभन्दा धेरै थपिँदो छ माया ।
‘यहाँ चिसो छ, सुख्खा छ, तातो झोल खुबै पिइरहनुपर्छ’— ठाउँअनुसार ज्यानलाई तरान दिइरहनुपर्ने कुरा सम्झाउनुहुन्छ सुरेन्द्र दाइ । उहाँकै होटलभित्र उहाँसँग गफिदै छौँ हामी ।
‘पिउनूस्, पिइरहनूस्, यसैले त हो लेक लाग्न नदिने’— लसुन सुप थपिरहनुहुन्छ भाउज्यू ।
‘बिस्तारै टाउको दुख्दैछ मेरो । वाक्वाक् लाग्ने सङ्केत देखियो’ भन्नुहुँदैछ मित्र । ‘आ, लेकसेक केही लाग्दैन तपाईँहरूलाई । लाग्ने भए भेनाबाट उकालो लाग्दैमा समाइसक्थ्यो । मन दरो पार्र्नूस् । तातो खानूस्, खाइरहनूस् । लागिहाल्यो भने अलि ओरालो झर्नुपर्छ । होइन, औषधी नभई नहुने हो भने ल्याइदिऊँ त ? तपाईँहरू बसेको होटल साहु आङ्गेल नै हेल्थ असिस्टेन्ट हो, केलाई पिर मान्नुहुन्छ ।’— मिङमार बहिनीको आत्मीयता र ढाडसले लाग्न आँटेको लेक पनि भाग्यो हाम्रो शरीरबाट ।
परिचित ग्राहक होइन आत्मीय पाहुनासँग परिवार नै झुत्तिएर भलाकुसारी गरे झैँ बनिरहेछ घर । बाहिर त्यति भव्य लाग्दैन । भित्र सम्पन्न र समृद्ध लाग्छ घरको परिवेश । ठुला कोठाहरू, कोठाभरि आकर्षक मेच टेबुलहरू । रङ्गीन र महङ्गा गलैँचाहरूले छोपिएका भुइँ र भित्ता । सफा सुग्घर छ चोटा कोठा, घरजस्तै सफा सुग्घर र शान्त लाग्छ सबै मान्छेको मन ।
त्यो रेस्टुरेन्ट हो— ‘लोमन्थाङ रेस्टुरेन्ट’ । रेस्टुरेन्ट भन्नु मात्र, घरको भन्दा केही फरक छैन वातावरण । रेस्टुरेन्टका मालिक सुरेन्द्र दाइ अर्थात् सुरेन्द्र विष्ट अर्थात् मुस्ताङे राजा जिग्मे परवल विष्टका भाञ्जा । राज परिवारको खानदानीपन कायम राख्नुपर्छ भन्ने व्यक्तित्व देखिन्छ सुरेन्द्र दाइमा । उहाँको परिवारका सबै सदस्य शालीन, शिष्ट र सबैसँग घुलमिल हुनसक्ने सजिलै । चिया र सुप सर्भ गर्दा र बाउल, प्लेट र ग्लासहरू उचाल्दा बडो अदब र होसियारी देखियो । कुराकानीमा अर्काको कुरा ध्यानपूर्वक सुन्ने, तर्क दिएर कुरा गर्ने, हरेक बोलीमा मुस्कान मिसाउने बानी छ सबै परिवारको । गुम्बाको प्रवचन, भिक्षुहरूबाट प्रदत्त आदर्श जीवनका सूत्रहरू र सबैसँग मिलिजुली बाँच्ने हैम सभ्यताको उच्च मूल्य अँगालेकाले पनि मिठो, मसिनो र आकर्षक बनेको होला त्यताको मान्छेको व्यक्तित्व ।
‘बाँच्न सजिलो छैन, लोमन्थाङमा मात्र होइन, संसारमा कतै पनि बाँच्न सजिलो छैन भन्ने बुझेर नै आनन्दपूर्वक बाँचेका छौँ हामी लोमन्थाङवासी । बाध्यताहरूलाई पार लगाउन्जेल उचाइमा पुगिरहन्छ जिन्दगी’— त्यही निचोडमा हुनुहुन्थ्यो सुरेन्द्र दाइ ।
‘देख्दा जति सेतो छ हिउँ भोग्दा त्यति नै कालो छ । कण कणसँग जुध्न जानेन भने हिउँ नै बनाएर जमाइदिन्छ हिउँले । कठ्याङ्ग्रिएर मात्र होइन पोलिएर, कोपरिएर र अङ्ग अङ्ग हिउँलाई खुवाएर टिकाउनुपर्छ जिन्दगी हिमालमा । भिरको ढुङ्गाभन्दा वेगले ढल्न सक्छ जिन्दगी चुचुराबाट । भालुको झापुमा परिन सक्छ । चितुवाको दारामा अल्झिन सक्छ । अन्नको सधैँ अभाव छ । लेक बेसीको रन्कोले कोट्याइरहन्छ । कहिले घर बनाउने पिरलो । कहिले घर छोड्ने पिरलो । कहिले वस्तुभाउ जोड्ने खसखस । कहिले बस्तुभाउ थान्को मान्कोको खसखस । झमेला नै झमेलाका पहाडहरू पार गरेपछि मात्र जिन्दगी बाँच्छ हिमालमा ।’ भाउज्यू र मिङमार बहिनीले पनि देखाउन खोज्नुभयो हिमालको वास्तविक चित्र ।
बेस्सरी हन्डर खाएपछि मात्र मान्छे बन्छ मान्छे । काला बादलले भन्दा बढी गोता खाएपछि मात्र दम्भ हराउँछ मान्छेमा । खिइँदै खिइँदै चिल्लिएर शालिग्राम सरह बनेका ढुङ्गाहरू सम्झन्छु म कालीगण्डकीका ।
‘लोमन्थाङका गुम्बाहरू हेर्नुपर्छ, गुफाहरू हेर्नुपर्छ, राजा र बुद्धप्रतिको मान्छेको आस्था हेर्नुपर्छ, म मिलाउँछु त्यो सबै व्यवस्था, तपाईँहरूले मात्र दिनुपर्छ समय’— कति छिटो सहयोगी हातहरू फिँजाइरहनुभएको छ सुरेन्द्र दाइले । नौलो ठाउँ होइन पुराना मित्रहरूको काख पोल्टामा रमाए झैँ लाग्दैछ । हामी वरिपरि दाइ, भाउज्यू, बहिनीहरू र भदैहरू बस्नुभएको छ । तिब्बती भेषभूषा त्यो पनि राज खानदानको झल्काउने छ उहाँहरूको लवाइखवाइ । अनुहार हँसिलो कुरा रसिलो छ सबै जनाको ।
बाहिरका रुखहरू बतासले बेस्सरी हल्लिँदैछन् । निष्ठुरी हावाले रुखका हाँगाहरूभन्दा द्रुतगतिमा हल्लाइरहन्छ मुटुलाई । भित्र भने हपहपी तातो बनाइएका छन् कोठाहरू ।
भित्री चोकमा छिटो छिटो हाते तान चलाउँदै हुनुहुन्छ एउटी दिदी । ‘तान होइन जिन्दगी पो बुनिरहिछु म जिन्दगीभरि । महिलाले पृष्ठ भागमा लगाउने स्यामा बुन्दै हुनुहुन्थ्यो दिदी । स्यामामा रातो, निलो, सेतो, हरियो रङ्ग चम्किरहेथ्यो । सबै रङ्गहरू मिसिएकाले होला जिन्दगी जस्तै जिउँदो लाग्दैथ्यो स्यामा । भेडा पाल्यो, ऊन काट्यो, धागो बाट्यो, स्यामु , आङ्दुङ , कारा , लेक्कम र सुर्की बुन्यो, बस्यो । आखिर कुनै न कुनै बहानामा बाँच्ने त रहेछ जिन्दगी ।’ दिदीको मुख, हात र खुट्टा रोकिएनन् । अविरामले उचालिरहँदोरहेछ आशालाई ।
हामीले थपी थपी भोटेचिया पिइरह्यौँ । बडेमाका ग्लासहरूमा चिया दिने र रित्याउनुअघि नै चियाले ग्लास भरिदिने चलन छ त्यतातिर । चिसो तर सुख्खा मरुभूमि भएकाले शरीरमा पानीको मात्रा पु¥याउन त्यसो गरिएको हुनुपर्छ । उसिनेको बन्दा र हरियो लसुन थपी थपी खाइरह्यौँ । लसुन सुप पनि पेट भरुन्जेल पिइरह्यौँ ।
‘भाउज्यू, कति पैसा दिऊँ ?’
‘पैसा पर्दैन, इष्ट भयौँ हामी, इष्टभन्दा पैसा ठुलो होइन क्यारे ।
दाइ भाउज्यूकै एकै स्वर छ ।
‘कहाँ त्यस्तो हुन्छ, पैसा नलिए हामी रिसाइहाल्छौँ नि ।’ हामी जोड गछौँ ।
भेटेको एक घण्टा भएको छ जम्माजम्मी । माया भने एक जुनीको भन्दा गाढा भइसक्यो । हाम्रो ढिपीले बल्ल मान्नुभयो पैसा लिन, त्यो पनि पाँच सय पच्चिस मात्र । कम्तीमा पच्चिस सय तिर्नुपर्छ होला ठानेका थियौँ, तर कति सस्तो । अचम्ममा प¥यौँ हामी । पाहुनासँग बढी नाफा खानुहुँदैन भन्ने मान्यता रहेछ लोमन्थाङमा ।
हामी बास बस्ने होटल मिस्टिकमा पुग्दा रात मज्जैले छिप्पिइसकेको थियो । होटलको मुलढोकाबाट छिर्ने बेलामा सात्तो गयो एक पटक । लठारिँदै आएका चितुवाले एकै गास पार्ने भए भन्ने लागेथ्यो । ‘घ्यार्र… घुर्र…’ चितुवाको जस्तै थियो आवाज । भरे, भोटे कुकुरको लठारो रहेछ त्यो । धन्न भोटेकुकुरकै पनि निसानामा परिएन । सयौँ भेडाको गोठालो लागेर बाघसँग जुध्न सक्ने भोटेकुकुरले आँटे हामी जस्तालाई मिनेटमै म¥याङमुरुङ पार्न के बेर ।
वर्षा र शरद् ऋतुमा हिमाली भेग हराभरा हुन्छ । हिउँ नपर्ने र धेरै ठन्डी नहुनाले हरिया सागपात, जौ, करु, उवा, फापर फल्न थाल्छन् । कर्चुङ बहिनीले रायोको साग र फापरको साग पकाउनुभएको रहेछ । हिमाली क्षेत्रमै पाइने बुटो पिँधेर अमिलो अचार बनाउनुभएको रहेछ ।
‘देख्दा लोमन्थाङ मरुभूमि छ तर हरियोपरियो त पाइयो नि’— जिज्ञासा हाम्रो ।
‘हरियोपरियो खानुपर्छ भन्ने थाहा पाएकै धेरै भएको छैन हिमालतिर, मासु र पिठो भएपछि पुग्थ्यो सबैलाई ।’ कर्चुङका पति आङ्गेलले भन्नुभयो ।
‘हरियोपरियोले पैसा र हिम्मत दुवै बढाइदिएको छ यतातिर’— थप्नुभयो उहाँले ।
‘पासाङ आङ्गेल’— नाम रहेछ कर्चुङका पतिको ।
‘ए शुक्रबार जन्मनुभएको रहेछ हगि तपाईँ ?’— जानेको कुरा भनेँ मैले ।
पासाङले सहमति जनाउनुभयो मेरो भनाइको ।
‘कसरी जन्मबार पत्ता लगाउनुभयो सर ?’— चकित हुनभयो मित्र ।
‘तिब्बत र यस आसपासको क्षेत्र, विशेष गरी म्यान्मादेखि अफगानिस्तानसम्मका हिमाली र पहाडी क्षेत्रहरूका मङ्गोलियन समुदायमा जन्मबार अनुसार नामकरण गर्ने प्रचलन छ । दुई वर्षअघि लामटाङ हिमालको क्यान्जिङ उपत्यका जाँदा त्यस बारेमा राम्ररी बताइदिनुभएको थियो पेम्पा साङ्मो र ल्हाक्पा याङ्गेन बहिनीहरूले । यसअनुसार आइतबारदेखि शनिबारसम्म जन्मने मान्छेको क्रमशः निमा, दावा, मिङ्मार, ल्हाक्पा, फुर्पु, पासाङ र पेम्पा वा पेम्बा सुरुको नाम राख्ने त्यसपछि महिला भए याङ्गेन, डोल्मा, साङ्मो, बुटी, ग्याल्मो, वाङ्मोमध्ये कुनै जोड्ने र पुरुष भए साङ्लो, ग्याल्बो, ग्याल्जेन, छिरिङ, गुम्बो जस्ता नाम जोड्ने चलन छ । यसअनुसार एकै बार जन्मेका महिला पुरुषको सुरुको नाम एकै हुने तर त्यसपछि जोडिएकाले लिङ्ग छुट्याउने चलन छ । हिमाली क्षेत्रको संस्कृति विज्ञानसम्मत ढङ्गबाट चल्दै आएको हो । वाद जे भने पनि प्रकृति विरुद्ध लाग्नेको कहाँ भलो गर्छ प्रकृतिले । आधुनिक बन्ने लोभमा नयाँ पुस्ताले सांस्कृतिक मर्यादा तोडेको दुःखद भन्नुहुन्छ पासाङजी । समय परिवर्तनका नूतन पालुवा फिँजाउँदै चलिरहेछ ।
जीवन र मृत्यु केवल परिवर्तन हुन् । परिवर्तन हुने कुरा मात्र स्थायी सत्य हो त्यसबाहेक अरू कसैको पनि स्थायित्व कहाँ छ र ?
पासाङजी र कर्चुङ बहिनी पनि असाध्यै पुखला र असाध्यै सहयोगी । आर्थिक नाफा नोक्सान मात्र होइन मान्छेको सम्बन्ध ठुलो हो भन्ने पक्षमा धेरै तर्कहरू भेटिए ।
‘बहुपति प्रथा, किन ओरालो लाग्दैछ ?’ एक पत्नी र जति दाज्युभाइ भए पनि पति मान्नुपर्ने प्रथा असहज मानेर सोधेँ मैले ।
‘अरूको संस्कार आपूm अनुकुल भएन भन्दै घृणा गर्नु बज्रस्वाँठ काम हो । बहुपति प्रथा समयको माग थियो । मान्छे कम्ती हुन्थे । खेतीपाती, पशुपालन, बन्द व्यापार सबै सञ्चालन गर्नु पथ्र्यो एकै परिवारभित्रबाट । त्यसबेला पत्नीले भाइ भाइमा पालो लगाइदिन्थिन्— गोठालो जान, घर बस्न र व्यापारका लागि । त्यो नारी प्रधान समाज थियो र आफ्नो सम्पत्ति टुक्रा टुक्रा विभाजन हुँदैनथ्यो । घर परिवारभित्र मिलेर बस्नुपर्छ भन्ने भावना थियो । त्यो समयको माग थियो । अचेल रूप फे¥यो समयले । मान्छे बढी स्वार्थी बने र व्यक्तिगत स्वतन्त्रताको पछि लागे । त्यसैले एकै दाम्लोमा बाँधिन चाहेनन् धेरै जना । एक भाइको रोग सबैमा सर्ने, व्यक्तिगत स्वतन्त्रता नहुने, उमेरको अनमेल बिहे गर्न बाध्य हुनुपर्ने पीडा सह्य भएन खुला समाजमा । तिब्बत र हाम्रा हिमाली गाउँहरूमा अझै व्यापक छ बहुपति प्रथा । लोमन्थाङ चलेको छ यही प्रथाले तर छोडिनुपर्छ बहुपति प्रथा भन्ने लहर चलेको छ डढेलो जस्तै ।’ विश्लेषण बलियो बन्यो कर्चुङ बहिनी र आङ्गेलजीको ।
होटलभित्र आगो ताप्दाताप्दै भेटिनु भएथ्यो एउटी बहिनी । उहाँको परिवारमा बहुपति प्रथा रहेछ तर उहाँले भने त्यो तोडेर म्याग्दीको एक क्षेत्री युवकसँग प्रेम विवाह गर्नुभएको रहेछ । तपार्इंले त बुद्धि पु¥याउनुभएछ हगि बहिनी ? सोधेँ मैले । के बुद्धि पुगेको भन्नु, मेरा दिदीलाई पाँच लोग्नेले माया गर्छन्, आफूलाई एउटाले मात्र — बहिनीका कुरा हामीलाई रमाइला लागे । आखिर, संस्कार परिवर्तन गर्न निक्कै लाप्पा खेल्नुपर्छ समयले ।
समयको रङ्गमा घुलमिल हुन नसक्ने संस्कारलाई पाखा लगाइदिन्छ समयले नै ।
भोटेकुकुरहरूको डरलाग्दो आवाजले थर्कन खोज्दोरहेछ रातमा लोमन्थाङ सहर । घर बाहिरका भोटे पिपलका पातहरूलाई म¥याकपुरुक पार्दैछ मुटु कमाउने सिरेटाले । ‘अऽया नि, मरेँ नि !’, घर नै थर्कने गरी चिच्याएको आवाज लगातार आइरह्यो पल्लो घरका सिरानतिरबाट । अल्टिच्युड लागेको बिरामी रै’छ । अघि औषधी दिएको थिएँ । ठिक भएन जस्तो छ । सरहरू आराम गर्नुहोस् । म लाग्छु त्यतातिर ।’ पासाङ उठ्नु हुँदा शरीर अलि असहज भेटेँ मैले । ‘लेक लाग्यो कि तलतिर झ¥यो’— त्यही मन्त्रको ज्वारभाटा छ मनभरि । लेकको बिरामी तलतिर हरामी भन्ने पनि सम्झनामा आइरह्यो ।
थर्मसमा तातोपानी राखिदिएकी छु । राती अप्ठेरो प¥यो भने हामी बुढाबुढीलाई बोलाइहाल्नु होला । व्यथा लुकायो भने बित्यास पर्छ । परदेश आउनुभएको छ । हामी नै हौँ तपाईंहरूका बाउ आमा, हामी नै दाज्यु भाइ, दिदी बहिनी ।’ चम्किला आँखा र तेजिलो अनुहार भएको कर्चुङ बहिनीको रूपसँग मोहित हुँदै हेरिरह्यो जूनले झ्याल झ्यालबाट । अलिकति टिमुरको छोप र लसुन पनि राखिदिनुभयो नजिकमा । ‘मसँग प्रशस्त औषधी छ, आत्तिनुपर्दैन’— पासाङको बोली नै औषधी बन्यो । आत्मीयता जति ठुलो शक्ति के नै हुन्छ र ।
रातको निस्तब्धतामा केवल तिन छौँ कोठामा । मित्र, म र एउटी भरिली जून । कोठाभित्र जून छिन् भन्ने थाहा पाएर नै होला बतासमा कोमल झोक्काहरू बिस्तारै कोठाभित्र पस्छन् र बाहिरिने गरिरहन्छन् । धपक्क बलेको पहेंलो अनुहारमा मुस्काइरहिछिन् जून । यौवन, खुसी, प्रेम, जीवन, सत्य, शुद्धता सबै सबै छ पहेंलो जूनसँग । जून रङ फेरिरहन्छिन् कोमल रूपमा । म उनको परिवर्तित रङ हेरेर मख्खिन्छु । मेरी मायालु जूनलाई हावाले स्पर्श गर्दा पनि ईष्र्या लाग्छ मलाई । कोठामा सँगै छौँ । सन्नाटा बोकेर उभिएको छ रात । मौन वार्ता चलिरहन्छ हामी दुईको ।
‘झन् झन् लोभलाग्दी देख्दैछु म तिमीलाई ।’
‘तिम्रो मादकतामा लठ्ठिएर, तिम्रै पछि लागेकी हुँ म ।’
‘किन यति धेरै मन पछ्र्यौ तिमी, म आपूmलाई भुलेर तिमीभित्र हराएको छु ।’
‘तिमी पनि कम छैनौ नि मेरा लागि, तिम्रो मन, तिम्रो मुटु र तिम्रो मधुरता देखेर नै हामफालेको हुँ तिमीमाथि ।
‘आऊ, चुमूँ ओठहरू र साटौँ मुटुका केस्राहरू, कि एकाकार बनौँ एक अर्कामा ।’
‘तिमी धर्तिमा रहु या नरहु तिमीलाई छोड्ने छैन कदापि ।’
‘म हिँडुन्जेल धर्तिमा, तिमीलाई नै चियाइरहन्छु, धर्तिमा बिलाएँ भने एकाकार बन्नेछु तिमीभित्र नै ।’
पर पर कसैले बजाएको टुङ्नाको धुनले हाम्रो वार्ता बिथोलिन्छ । मसँगै लहरिरहेकी उनमा निद्रा देखिने कुरै भएन । फरक रङ र फरक सौन्दर्यमा रूप फेरिरहेकी उनलाई पाउँदा मसँग निद्रा नजिकिने कुरै भएन ।
हावाको झोक्काले झ्याल हल्लाउँदा भने अलि रिसाएँ म ।
‘मध्यरात भइसकेछ त’— नयाँ दिनको स्वागत गर्न पाँच मिनेट मात्र बाँकी भएको सङ्केत देखियो घडीमा । समयसँग दौडन खोज्ने घडीका सुईहरू देखेर एक पटक फेरि हाँसे झैँ लाग्यो समय नै ।
समयले कज्याएका मान्छेहरूले समयलाई हिँडाउँदैछन् पाइलाहरूमा ।
आत्मीय उत्सर्गका कोरसहरू मधुर रूपमा गुञ्जायमान भएको महसुस गर्दैछौँ हामीहरू ।

होटल मिस्टिक हिमालयन, लोमन्थाङ, मुस्ताङ
२०७१ असार १६ गते, सोमबार

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्