मिश्र समाज दार्चुलाको भेला काठमाडौंमा, समाज परिवर्तन आजको आवश्यकता : प्रा. डा. मिश्र

काठमाण्डाैँ 

मिश्र समाज दार्चुलाले राजधानी काठमाडौँमा छरिएर रहेका मिश्रहरुलाई एक सुत्रमा बाध्ने उद्देश्यले एक कार्यक्रम गरेको छ । मिश्र समाज दार्चुलाका अध्यक्ष विष्णुदत्त मिश्रको अध्यक्षता र पृथ्वीनारायण क्याम्पस, पोखराका प्राध्यापक डा. अक्कलदेव मिश्रको प्रमुख आतिथ्यता तथा कृषि विकास तथा पशुपन्छी मन्त्रालयका सह–सचिव डा. राजेन्द्रप्रसाद मिश्रको विशिष्ट आतिथ्यता र महाकाली नगरपालिका, कञ्चनपुरका प्रमुख प्रशासकीय अधिकृत गणेश मिश्रको आतिथ्यतामा आयोजित उक्त भेटघाट कार्यक्रममा दुई दर्जन बढी मिश्रहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न महत्वपूर्ण निर्णयहरु पारित गरिएका छन । जसमा मिश्र समाज मेल्लाउँलाई संशोधन गरेर मिश्र सेवा समाज दार्चुला राख्ने तथा मिश्र व्यक्तित्वहरुको टेलिफोन डायरी निर्माण गर्ने र बङ्शावली तयार गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेकाे छ । यसैगरी भैपरि आउने समस्यालाई सामाधान गर्न सबैलाई जानकारी तथा सहयोग गर्ने बैठकमा निर्णय गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पृथ्वीनारायण क्याम्पस, पोखराका प्राध्यापक डा. अक्कलदेव मिश्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउन क्रियाशिल रहेका मिश्रहरुले अब समाज परिवर्तनमा पनि भूमिका निर्वाह गर्नुपर्ने दायित्व भएको उल्लेख गर्नुभयो । सदूरपश्चिमलाई हेर्न दृष्टिकोण फरक भएको यो परिवेशमा दार्चुलाई अझ झन पिछडीएको क्षेत्रको रुपमा हेर्ने गरेकोले यस्तो समस्यालाई सामाधान गर्न युवा पिढी लगायत विज्ञ व्यक्तित्वहरुको भूमिका रहने प्रष्ट पार्नुभयो । समाजमा देखिएको अन्धविश्वासलाई हटाउन आफुले पहल गरेकोले आ–आफ्नो ठाउँबाट पहल गर्न अन्य सदस्यहरुलाई समेत ध्यानाकर्षण गराउनुभएको थियो । समाजमा रहेको छुवाछुत प्रथा तथा छाउपडी प्रथा अझै हट्न नसकेकोले यसलाई समाजबाट नभई आफ्नो–आफ्नो घरबाट सुरु गरेमात्र निराकण गर्न सकिने कार्यक्रममा प्रष्ट पार्नुभएको थियो ।

यसैगरी उहाँले दार्चुलाको विकास अन्धविश्वासका कारण झन पछि परेको समेत प्रष्ट पार्नुभएको थियो । उहाँले मुलुकको सातौँ धामको रुपमा परिचित शैल्यशिखर धाम मालिकार्जुनको उदाहरण दिदै त्यस क्षेत्रमा अन्धविश्वासका कारण पर्यटन क्षेत्र पछि परेको उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै प्रा.डा. मिश्रले मालिकार्जुन धाममा पर्यटनहरुको आवागमन बढाउन उक्त क्षेत्रमा प्रवेश गर्ने व्यवस्था सधैका लागि खुला हुनुपर्ने र त्यस क्षेत्रमा भौतिक पूर्वाधार, पैदल ट्रयाक खोल्नुपर्ने र होटल स्थापना गर्न सके त्यस क्षेत्रको विकास हुनुका साथै दर्जनौँ बढीले रोजगारी पाउने प्रष्ट पार्नुभयो । त्यसैगरी उहाँले युवा पिँढीलाई नयाँ मार्गमा लग्न समितिको भूमिका महत्वपूर्ण रहने स्पष्ट पार्नुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै कृषि विकास तथा पशुपन्छी मन्त्रालयका सह–सचिव डा. राजेन्द्रप्रसाद मिश्रले आगामी दिनमा मिश्र समाजलाई बृहत समाजको रुपमा विस्तार गर्नुपर्ने र आ–आफ्नो ठाउँबाट सबैले योगदान पु¥याउनुपर्ने प्रष्ट पार्नुभयो । मिश्रहरुको हकहितका लागि यस समाजले अझै अग्रगामी कदम चाल्नुपर्ने आवश्यक रहेकोले आगामी दिनमा समाजमा आइपर्ने समस्यालाई सामाधान गर्नुका साथै मिश्रहरुप्रति भाइचाराको सम्बन्ध विस्तार हुने भएकाले मिश्र समाज गठन गर्नु उल्लेखनीय काम भएको बताउनुभयो । त्यसैगरी महाकाली नगरपालिका, कञ्चनपुरका प्रमुख प्रशासकीय अधिकृत गणेश मिश्रले आर्थिक, सामाजिक तथा भौतिक क्षेत्रमा मिश्र समाजले कदम चाल्नुपर्ने आजको आवश्यकता रहेकोले यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । मिश्र समाजलाई अघि बढाउन आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आफु प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा दार्चुलाका मिश्र परिवारका अग्रज तथा विज्ञ व्यक्तित्वको रुपमा चिनिने प्रा.डा. अक्कलदेव मिश्र र कृषि विकास तथा पशुपन्छी मन्त्रालयका सह–सचिव डा. राजेन्द्रप्रसाद मिश्रलाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा मिश्र सेवा समाज दार्चुलाको ७ सदस्यीय समिति पनि गठन गरेको थियो भने ३ सदस्यीय सल्लाहकार तोकेको थियो । जसमा सल्लाहकारकाे रुपमा प्रा.डा. अक्कलदेव मिश्र, डा. राजेन्द्रप्रसाद मिश्र र प्रकाशचन्द्र मिश्र चयन गरेकाे छ । यसैगरी अध्यक्षमा विष्णुदत्त मिश्र, उपाध्यक्षमा खेमराज मिश्र, सचिवमा गणेशप्रसाद मिश्र, कोषाध्यक्षमा जयराज मिश्र, सदस्यमा केशवदत्त मिश्र, उपहार मिडिया नेटवर्क प्रा.लि.का प्रबन्ध निर्देशक रामदत्त मिश्र र कार्यकारी निर्देशक डम्बरदत्त मिश्रलाई चयन गरेको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्