समरको सर्को

-दामोदर पुडासैनी ‘किशोर ‘

आस र त्रासको खोलमा, दास बनाउँदैछ मान्छेलाई, नजन्मेको देवताले ।
सारा संसार नै सुकसुकाउँदो छ ।
सबैको आँखा छलेर स्नानमा तयार भएकी साध्वीको सकल शरीर जस्तो सर्वाङ्ग नाङ्गो छ ।
सुनका सुनौला लहरहरूले बनेको छ संसार ।
तामाका शृङ्खलाहरूले स्थिर बनिरहेछ संसार ।
कसैको स्पर्श छैन तर उभिएका छन् बडेमाका मूर्तिहरू ।
कसैको छिनो, घन र कुची चलेको छैन तर पहाडका हर लहरमा ब्युँझिइरहेछन् कलाका जादुई जीवनहरू ।
यो कला नै कलाको भण्डार हो ।
चित्र नै चित्रको संसार हो ।
हरेक पर्वतहरू कोलाज बनेर उभिएका छन् ।
हरेक ढिस्का, डिल र खोपिल्टाहरू सङ्ग्रहालय बनेका छन् प्रकृतिका ।
घाँस छैन तर घाँसे चित्रहरू कोरिएका छन् चट्टानका चौकुनाहरूमा ।
रुख छैन तर रुखका रङ्गीन रदलबदलहरू रत्तिइरहेछन् ढुङ्गा माटाका रसेटाहरूमा ।
आपूm जस्तै छ्याङ्ङै खुलेको संसार देखाइदियो बिहानले, हामीलाई चैलेमा । ‘कुखुरी काँ…’ भालेको आवाजले छुँदै छुँदै गयो पर परका डाँडाहरूलाई । ‘भुक्..भुक्’ भुकेका कुकुरका आवाजहरूले ल्याउन खोजे झैँ लाग्दैछ तिनै पहाडहरूमा मिठो कम्पन । ‘कल्याङ कुलुङ कल्याङ कुलुङ’ गर्दै सल्बलाइरहेका मसिना चराहरूका आवाज र हुइँहुइँ गर्ने हावाका वेगवान् झोक्काहरूले सङ्गीतमय बनिरहेछ वातावरण ।
माटाले छापेको ग्रिनपिस होटलको छानाबाट संसार नियाल्न थालेँ मैले, उषा भेट्नुभन्दा अलि पहिले नै । देखिएजत्ति संसार फुस्रो छ, धुस्रो छ, र छ, सबै संसार हिरण्यमय । केवल चैले गाउँभित्र मात्र छन् हरिया भोटेपिपल र बैंसका मनै लोभ्याउने रुखहरू ! गाउँको उत्तरी भागतिर ग्लास हाउस बनाएर तरकारी खेती गरिरहेछन् गाउँलेहरूले । ‘यति हरियो नहुने हो भने तपाईँको होटलको नाम ग्रिन पिस नहुने रहेछ हगि ?’ मेरो निक्र्योलमा हरियो हाँसो हाँस्नुभएथ्यो होटलका भाइले ।
चैलेलाई पुरै ढाकिएको छ बडेमाका पर्खालले । गाउँहरूलाई ढुङ्गाको पर्खालले घेर्नु, वरिपरि सबैतिर सुक्खा, रुखा र फुस्रा डाँडाकाँडा भए पनि गाउँभित्र भने हरियो परियो जोगाउनु र गाउँका हरेक घरहरू गुचुमुच्च जोडेर बनाउनु मुस्ताङे गाउँहरूको विशेषता नै देखिन्छ ।
भिरालोमा तह तह परेका घरहरू पहाडजस्तै उठेका देखिन्छन् चैलेमा । माटाले छापिएका घरका छानाका चारैतिर दाउराका चाङहरू छन् । हरेक घरका छानामा दाउराका चट्टाहरू देख्दा दाउरा सङ्कलन गर्ने प्रतिस्पर्धा गरे झैँ लाग्दछ । सारा पाखा पर्वतहरू तृणहीन देखिन्छन् । कहाँबाट मात्र ओसारे होलान् गाउँलेहरूले त्यति धेरै दाउरा । एउटा खुल्दुली रहिरहन्छ मनमा ।
दक्षिणतिर आफ्नै वेगमा बगिरहेछ कालीगण्डकी । बिच बिचमा समथर बगर र ठाउँ ठाउँमा फिँजारिएका पानीका तहहरूले निरुपम सौन्दर्य सुसाइरहेछ । शुष्क र सुकिला डाँडाहरूको माझमा जीवनोदयका गीत गाउने जलाशय र जलावर्त देख्न पाउनु आफैँमा अपूर्व अवसर लागिरहेछ । मेरी प्यारी नीलगिरि, उठिसकेकी रहिछिन् मभन्दा धेरै अघि । सूर्यसँगै टल्केका उनका सेता दन्तलहर र संसारभर उज्यालो छर्ने उनको मधुर मुस्कानले म मात्र होइन सूर्य लोभिएर लठ्ठ परिरहेथ्यो । मेरी नीलगिरि भने घरी बर्को ओड्दै, घरी सारा दिल खोल्दै, मेरा अङ्ग अङ्गमा छरिरहिथिन् प्रेमको नूतन सञ्जीवनी । जिस्किँदै मस्किँदै, मस्किँदै जिस्किँदै गर्ने उनको आदिम नखराले जाग्रत बनाइरहन्छन् मलाई, जीवनका हरेक क्षणहरूमा ।
मेरो छोरो समानको उमेरका हुनुहुन्छ मित्र उत्तमजी । चार पाँच वर्ष यताको सङ्गतमा उहाँ र मेरो घनिष्टता धानको गाँज झैँ हल्केको छ । मान्छेको जात मान्छे मात्र हो । जात, धर्म, पेसा, रङ, भूगोलका रेखाहरूले मान्छेलाई विभाजन गर्नुहुँदैन भन्नेमा उहाँको र मेरो चोचोमोचो राम्रैसँग मिलेको छ । जयपृथ्वीबहादुर सिंहकै पालामा नेपालमा मानववादको सिद्धान्त झाङ्गिदा पनि त्यसपछि धेरै वर्ष सुस्त भएथ्यो त्यो अभियान । उहाँ अस्ट्रेलियाबाट नेपाल फर्केपछि मानववादलाई संस्थागत रूपमा अघि बढाउन दिलोज्यान दिइरहनुभएको छ । समाजलाई धर्मले सकस पारेको, जातले दकस पारेको, संस्कारले सुकाएको कुरालाई छिन्नभिन्न पार्न कस्सिएका छौँ हामी । यो चारवर्षे अवधिमा हामीले धरानदेखि धनगढीसम्म, सिन्धुपाल्चोकदेखि सिरहासम्म सँगै यात्रा गरेका छौँ । हाम्रो यात्राले बोक्सीको बात लगाउनेहरु बुर्कुसी मारेर भागेका छन्, महिला हेप्नेहरू हुती हराएका हुस्सु सावित भएका छन्, धर्मको नाममा अपव्याख्या गर्नेहरू अगुल्टाले हानेको कुकुरले बिजुली देखे झैँ बत्तिएका छन् । चित्र होइन चरित्र ठुलो, व्यक्ति होइन व्यक्तित्व ठुलो भन्नेमा अघि बढ्ने क्रम जारी छ । हामी दुवै सँगै हुँदा यात्रा रसिलो र भरिलो बन्छ भन्नुहुन्छ उहाँ । उहाँको साथ पाउँदा यात्रा नौलो र फराकिलो भएको महसुस गर्छु म ।
‘नाङ्गोमा पो सुन्दर हुन सक्तो रहेछ हगि संसार ।’ चियाको चुस्की लिँदै मित्रले बोलेका कुरा ।
‘अहिले त के छ र, अब दुई महिनापछि पुरै हिम संसार बन्छ यहाँ । त्यसबेला स्वर्ग भनेको एतै देखिन्छ’— जर्मनी टोलीका गाइड छिरिङ तेन्जिङ दाइले अथ्र्याउनुभयो हाम्रै छेउबाट ।
‘संसार हिममय बनिरहेछ । हिमाच्छादित हिमशैलहरूबाट बगिरहेछन् हिमनदीहरू । दिनभर हिमानीमा पग्लिँदै पग्लिँदै फैलिन्छ सूर्य र रातभर हिमागरमा नुहाइरहिछिन् हिमांशुले । घरी घरी रूप फेरिरहिछिन् निहारिकाले । नाङ्गा हिमशिला, नाङ्गा हिमाचल, नाङ्गा हिमोटहरू, सबैलाई सुँघ्दै सुमसुम्याउँदै, नाङ्गै तर अदृश्य दौडिरहेको वेगवान् वायु, क्षण क्षणमा रूप फेरिरहेको नाङ्गो मेघमाला । नाङ्गो रवि किरण र नाङ्गो हिमयुगको एक छत्र प्रेमालाप ।’ नाङ्गो रूपाङ्कनको नवीनता पछ्याउँछु म ।
‘यो सुनौलो संसार एकाएक चाँदीमय बन्दा, एकाएक श्वेत साम्राज्यमा रूपान्तरण हुँदा कति मजासँग फैलिँदो हो यो सारा संसारमा सौन्दर्यको समुद्र’ हामी सबैले निष्कर्ष निकाल्यौँ ।
‘देख्न रमाइलो बाँच्न कठिन छ –हिमालमा ।’ छिरिङ दाइले खोल्नुभएथ्यो चेतनाको प्रवाह । एक पटक हिउँमा हिँड्दा हिँड्दै हिमशिला बन्न लागेछ मेरो ज्यान । श्वास रोकिन आँट्यो, हातखुट्टा बने हल न चल । तै सँगैको साथीले ऊनी कपडाले बेरेर, तातो पानीमा डुबाएर हिमाली जडीबुटी खुवाइहालेछन् र पो, नत्र हिउँ जसरी नै जमिसक्थ्यो मेरो ज्यान । अनुभव उहाँकै थियो ।
हिँड्दा हिँड्दै कयौँका हात खुट्टा हिउँले खाइदिएको, महिनौ घरलाई हिउँले ढाकेपछि पेटले तरान नभेटेर घरभित्रै हल न चलको स्थितिमा मुढो बन्न परेको, हिँड्दा हिँड्दै हिउँ परेर हिँड्ने बाटो नै पुरिएर न दिशा, न सहाराको स्थितिमा जीवन डुबाउनु परेका घटनाहरू सम्झियौँ र सुनायौँ एक पटक सबैले ।
सौन्दर्यमा आकर्षण मात्र होइन रहिरहन्छ शक्तिको मुस्लो । सौन्दर्य शक्तिसँग सामीप्यता कायम राख्न नसक्नेहरू बाध्य बन्छन् सिल्टिमुर खान । सामुहिक निष्कर्ष तत्कालको ।
बाँच्न खोज्नेहरू जसरी पनि बाँच्छन् । यी धुपीहरू, भोटे पिपलहरू, झुमा, झोपा र भेडाहरू त बाँचिरहेछन् यही हिमालमा । जिन्दगीलाई नै अखानु ठान्नेहरू वातानुकूलित घरमा बसे पनि असहज महसुस गर्दछन् ।’ राम्ररी अथ्र्याउनु भएथ्यो अर्का मित्रले ।
युगौँयुगदेखि यिनै हिमालमा जनम मरण गर्नेहरू रमाइरहे जिन्दगीको अर्थ खोतलेर’— कुराको चुरो समाउनुभयो छिरिङ दाइले ।
आकाश र धर्ति नै नाङ्गो बनिदिएपछि लाज भन्ने केही बाँकी रहँदैन भन्नुहुन्छ छिरिङ् दाइ । नाङ्गो संसारमा रमाउन नसक्नेहरू कि त प्रकृतिका विरोधी हुन्, कि आत्महत्या गर्न बाध्य हुन्छन्– लाजको पोखरीमा फाल हालेर । त्यतिखेर पनि नाङ्गो मादकताको सुगन्ध फैलिइरहेछ हाम्रै आँखाका सीमाभन्दा टाढा ।
हिमबारीमा फलेको फापर रोटी, हिमभिरका महका ढिक्काहरू र चैलेको चौँरीे दुध— खाना होइन औषधि बन्दैछ हाम्रो शरीरलाई ।
‘सरहरू लोमन्थाङ जाने हो भने अहिले आठ बजे गाडी हिँडिसक्छ । बार जनाभन्दा बढीले जान पाउँदैन । जो पहिला गयो उसले सिट पाउँछ ।’ होटल साहुको आवाज भुइँमा खस्न नपाउँदै तल्लो घरतिर खुर्मुरिनुभयो मित्र । मैले खानपान र बसोबासको दुई हजार पचहत्तर साहुजीलाई भुक्तानी गरेँ र ब्यागहरू सम्हाल्दै उतैतिर सुईँकुच्चा ठोकेँ । अलि ढिला पुगेको भए गाडी नभेटेर चैलेमै चुकचुकाउनुपर्ने रहेछ । धन्न साहुजीले होस खुल्ने घन्टी बजाइदिनुभयो र पो ।
हाम्रो गाडी गुड्नुअगावै झुन्ड झुन्ड विदेशीहरू पैदल उकालो चढ्न थालिसकेका थिए । अघिल्लो दिन हामीसँगै होटलमा बस्ने जर्मनहरूले हामीलाई बिदाइका हात हल्लाए । हिमाली क्षेत्रमा यात्रा त पैदल नै गर्नुपर्ने हो । पैदल यात्रा गरे पो संसार बुझ्न सकिन्छ । जिन्दगीले दुःख पीडाको भेउ पाउँछ । मन र शरीरको स्पर्शले पो भेट्न सक्तछ वास्तविकताको महक । गाडीभित्रै बार जनाले मन्थन ग¥यौँ ।
भर्खर खनेजस्तो सुगसुगाउँदो साँघुरो सडक पहाडका उकाली र मोडहरूमा मात्तिँदै मर्किरहेछ । नाङ्गो छ सडक, कुलो, कलभर्ट, ह्युमपाइप, तारजाली, डेलिनेटर पोस्ट, सङ्केत पाटी कतै केही भेटिँदैन । कोतर्दै कोपर्दै माटो र ढुङ्गा सम्याउँदै कोरिएका छन् सडके रेखाहरू । भिर, पहरा, उकालो, मोड केही परवाह गरिएको छैन । बर्सात् र बाढीको बबण्डर छैन, पहिरो र पात पतिङ्गरको छोपछाप र हाँपझाँप छैन । अनि सडक नाङ्गै उभ्याउनुको के फिक्री । जन्मजात शिशु सडकका दृश्यहरूमा आँकुरा दृश्यहरू छरिँदैछन् । बाक्लो कुहिरोभन्दा बेस्सरी बर्सिँदैछ धुलो गाडी भित्रका हामीमाथि ।
‘यो अग्र्यानिक धुलो हो, सहरिया धुलो जस्तो दुष्ट हुँदैन ।’ सहयात्रीको सहनशीलता ।
‘यो अग्र्यानिक जङ्गल हो, यहाँको हावा, पानी रुख बिरुवा जे छोए पनि शरीरलाई बेफाइदा हुँदैन ।’ केही वर्षअघि मानववादी संस्था (सोच) द्वारा आयोजित धर्म विमुक्त समाज र जातीय विभाजनका खतरा विषयक सम्मेलनमा नगरकोट जाँदा बाँस्तोला गाउँबाट उकालो लाग्दा बोलेका कुरा सम्झन्छु म । त्यसैबेला नर्वेकी मानववादी नेतृ मारिया सोमोजा र नेपालका मानववादी सञ्जय खड्काले मेरो नाम नै ‘अग्र्यानिक सर’ राखिदिएपछि तिन दिने सम्मेलनभरि ‘मिस्टर अग्र्यानिक’को नामले चर्चित भएथेँ म ।
‘अग्र्यानिक हुनु नाङ्गो हुनु हो, नाङ्गो हुनु अग्र्यानिक हुनु हो’ सारा संसार अग्र्यानिक देख्न पाउँदा मात्तिएको छु म भित्रभित्रै ।
अग्र्यानिक पहाडहरूमा बिलकुलै नौलो मायाको अग्र्यानिक पहाड उभ्याउने नीलगिरि र मेरो अभियान नाङ्गिदै फैलिदै गरिरहेछ, खोँच, कान्ला, भिर र घमाइला भित्ताहरूमा । म सदैव सम्झिइरहन्छु अग्र्यानिक उचाइ साटेर बेपर्वाहसँग उत्तेजना बर्षाएका हाम्रा विगतका हाउभाउहरूलाई ।
मानवीय गल्तीले बिगार्न नपाएका प्राकृतिक गहनाहरूसँगै चलमल गर्न पाउँदा खुसीको महामेला चल्छ मेरो मनभरि । म भावुक बन्छु त्यताका उचाइ र शृङ्खलाबद्ध लहरहरूको माझमा । आपूmले नङ्ग्याएकी प्रकृतिको स्पर्शमा यात्रा गर्न पाउँदा हर्षका मूच्र्छनाहरूले मादकता थपिदिन्छन् । म स्पर्श गर्छु उनलाई । हेर्छु, हेरिरहन्छु निरन्तर – अघाउँदिन । घरी घरी त्यो चारपाङ्ग्रेमा गुडिरहेको पनि बिर्सन्छु र हराउँछु उनैभित्र । घरी घरी च्वाप्प म्वाई खाउँ जस्तो लाग्छ, घरी घरी अँगालाभरि बेरुँ जस्तो लाग्छ, घरी घरी सम्झन्छु मायाका कलिला काउसाहरू, म उत्तेजित बन्छु त्यो वर्तमानमा । ‘म उत्तेजित छु तिम्रो स्पर्शमा’— म बकिदिन्छु । उनी हाँसिदिन्छिन् निरन्तर । भन्छिन्— ‘तिमी मात्र हौ मेरो हाँसो, तिमी मात्र हौ मेरो खुसी ।’ हाम्रो प्रेमको पवित्रता र प्रगाढता देखेर निर्दोष अनुहारमा फिस्स हाँस्नुहुन्छ हाम्रा मित्र । तिम्रो सौन्दर्य र प्रेममा खुसीले म मातिएको कुरा बुझे होलान् हाम्रा अरू सहयात्रीहरूले ।
चैलेबाट पश्चिमतिर उकालो चढ्दै गरेको गाडी पहाडको चुचुरानेरै पुग्यो । बायाँतिर भिरालोमा एउटा गाउँ बसिरहेछ भरिया दाइले भारी बिसाए झैँ गरेर । गाउँवरिपरि भेडा सल्बलाइरहेछन् । माटो र ढुङ्गाबाहेक केही देखिँदैन । के खाएर बाँचून् बरा । अलि परबाट एक हूल खच्चरहरू लम्किरहेछन् पहाड नाघ्न । बिचरा खच्चरहरू पनि नहुने हुन् भने कति कठिन हुन्थ्यो होला हिमालमा । भारी बोकिदिएर, पिटाइ खाइदिएर, जिन्दगीभरि गाली र अपजसका भारीहरू बोक्दै हिँडिदिएर कति गुन लगाएको छ खच्चरले मान्छेलाई । मान्छे भने खच्चरको निःशर्त नाङ्गो समर्पणलाई ढुङ्गाजस्तो संवेदनाहीन ठानिरहेछ । नाङ्गो नै किन नहोस्, अलि अलि सर्त र स्वार्थ भएन भने कहाँ टिकिरहन सक्छ र अनुराग एक आपसमा । भेडा, बाख्राहरू, चौरी र चराचुरुङ्गीहरू जन्मन्छन् हुर्कन्छन् तर क¥यामक¥याम चपाएर सकिदिन्छ मान्छेले । गधा घोडाहरू जन्मन्छन्, जोवनदार बन्छन्, उनीहरूलाई भारी बोकाएर, हिँडाएर र आफ्नो सेवा गराएर जीवन नै बरबाद पारिदिन्छ मान्छेले । रुखपात र बोटबिरुवाहरू पनि सिनित्त पारेर लाइखाइमै सकिदिन्छ मान्छेले । मान्छे किन यति र यति बैगुनी भएको होला ! ती जीवजन्तु र वनस्पति मान्छेकै स्वार्थका लागि मात्र सृष्टि भएका हुन् त ? मेरो मथिङ्गल बेस्सरी हल्लिन्छ ।
हामी दायाँ मोडियौँ र उत्तरतिर अलि झ¥यौँ । तोक्मामा भारी बिसाइरहेको भरिया झैँ हाम्रैमुन्तिर पहाडको काखमा टुसुक्क बसिरहेकी रहेछ चैले ।
‘कत्ति न टाढा पुगियो भनेको त जहाँको तहीँ, बरु हिँडेको भए छिटो पुगिने रै’छ’— उकुसमुकुस पोखेँ मैले ।
‘माथिबाट गए पनि चैले, तलबाट गए पनि चैले’ भनेको यही त हो नि हजुर’— थप्नुभयो अर्का मित्रले ।
साथीहरू गलल्ल हाँसे । पारि डाँडाबाट उक्लँदै गरेको देखियो हामीसँगै होटलमा बसेका विदेशीहरूको पैदले समूह ।
‘गाडीमा थच्चिनुभन्दा पैदल हिँडेको भए ज्यान त बन्थ्यो । न मर्निङ वाकको पिरलो न इभिनिङ वाकको लफडा ।’ मित्रको तर्क महान् मान्यौँ हामीले । जति झट्का¥यो र मर्कायो उति तह लाग्ने रहेछ ज्यान । सोखको ज्यान र छोपेको जमरा उस्तै हुन् नि, अलिकति अप्ठेरो प¥यो भने गल्याकगुलुक र लत्याकलुतुक ।
गाउँको शिरमा गाढा रातो र पहेंलो रङ्गमा सजिएको गुम्बा छ । बिचमा भिरालो पाखो । पाखाको मुन्तिर भोटेपिपलका ठुला ठुला रुखहरू र रुखसँगै फुलेका मकै कचौरामा राखे झैँ जोडेर बनाइएका घरहरू । घरका हरेक अग्रभागमा कुनै न कुनै होटलको नाम लेखेको साइनबोर्ड झुन्डिएका छन् ।
उत्तर पश्चिमको पहाडमा भने मान्छेको टाउकामा कपाल झैँ अलिकति जङ्गल देखिन्छ । नाङ्गा पहाडहरूको संसारभित्र त्यति जङ्गल देखिने, आश्चर्य नै भएको छ त्यहाँ । भोटेपिपलका घना बोटहरूले असाध्यै लोभलाग्दो देखिएको छ गाउँ । वर्षा ऋतुमा निख्खर हरियो देखिए पनि शरद् ऋतुमा निक्खर पहेँलो चम्कन्छन् भोटेपिपलका पातहरू । युरोप र अमेरिकामा पाइने मेपल वृक्षको वंश हो जस्तो लाग्छ मलाई भोटेपिपल पनि । मेपलका पातहरू रातो र पहेँलोमा रूपान्तरण हुन थालेपछि मन नै फक्रिन थाल्छ युरोपतिर । ओक्लाहोमामा मेपलका हरिया पातमा हाइकु लेखेको सम्झन्छु म । हेगमा पहेँलो मेपलका मालामा मित्रसँग मस्किएको सम्झन्छु म । पेरिसमा मेपलको पातमा मेरो अनुहार कोरिदिनेको कलाकारिता सम्झन्छु म । हाम्रा भोटेपिपलहरूले हिमाली सौन्दर्यको कोलाज बढाइरहेछन् । त्यसको मूल्याङ्कन कतैबाट भएको छैन ।
हिउँ खपेर, हावा खपेर मौका मिल्नेबित्तिकै नाङ्गा पातहरूमा रङ्गीन बन्छ भोटेपिपल । फुल्न नपाउँदै उसलाई आक्रमण गर्छ, नाङ्गो हिउँले । ऊ नाङ्गा हाँगाहरू बोकेर आफ्नो अस्तित्व जोगाउँछ । सङ्कटमा अस्तित्व जोगाउन सके अवसरमा हाँस्ने मौका मिल्छ भन्दैछ भोटेपिपल ।
वृत्ताकार घना हाँगा फैलिएको भोटेपिपलको फेदमा गाडी रोकियो । बर्सौँ पुरानो आँपको रुखमुन्तिर सिमरामा शीतल तापेको अनुभूति हुन्छ मलाई । सिमराका आँपगाछीमा टाउकामा आँप बज्रला भन्ने पिर त्यता भने हरियालीको हिस्सीदार पछ्यौरी छ ।
‘यो ‘समर’ को अर्थ चाहिँ के होला ए दाइ ?’ नयाँ लागेको जे कुरा पनि सोध्नुपर्छ भन्ने मान्यता छ मेरो । अघिल्तिरको होटलमा गाउँको नाम ‘समर’ लेखेको देखेपछि खसखस लागेको हो मलाई । एउटा ढुङ्गामाथि बस्यौँ हामी ।
‘यो तिब्बती भाषामा ‘रातमाटे’ गाउँ भनेको हो । ‘स’ भनेको ‘ठाउँ’ र ‘मर’ भनेको ‘रातो’ ।’ आफ्नो गाउँलाई चिनाउनुभयो दाइले रातोमाटाकै देखिएका छन् अग्लाहोचा डाँडाहरू । त्यसै भएर समर राखियो होला, गाउँको नाम । दुई वर्षअघि पारु र म अमेरिकाको ओक्लाहोमा घुमेको सम्झना गरायो समरले । ‘ओक्लाहोमाको अर्थ पनि रातोमाटो भएको ठाउँ नै हो रहेछ । ओक्लाहोमा पनि हाम्रै समर जस्तै नाङ्गो थियो रे कुनैबेला । पछि मान्छेहरूले घाँसे पछ्यौरी, रुखे मिनिस्कर्ट पहि¥याएर र पटुकी झैँ सडकहरू बनाइदिएर बेग्लैपन दिन खोजेका रहेछन् । ओक्लाहोमामा मान्छे, गाडी, कलकारखाना, घरहरू धेरै भएर पनि सुनसान छ । समरमा, त्यस्तो केही छैन । दुई चार घर बोकेर मान्छेको खोजीमा छ समर । मान्छेलाई हँसाउन, खुवाउन, पियाउन र मान्छे मान्छेमा मन खोल्न आत्तुर छ ऊ । ओक्लाहोमाको मन नाङ्गोबाट छोपिँदै र सङ्कुचित बन्दै गइरहेछ । समरको मन अझ नाङ्गिदै अझ खुल्दै, अझ मान्छेको अघिल्तिर कुनै बार बन्देज नलगाएर मान्छे खुल्नुको मजा चखाइरहेछ ।
खुल्न पाउनु जत्तिको स्वतन्त्रता अरू के छ र संसारमा ।
समर मात्र होइन, कुनैबेला, हाम्रा सबै हिमाली डाँडाहरू संसारकै लागि सर्वप्रिय बन्छन् । स्वच्छ, सफा, स्निग्ध र शीतल भेटेपछि तापले निसास्सिएका संसारभरका मान्छेहरूको धुइरो चल्छ यी हिमालहरूमा ।
बाटो कटाउँदै बहस चलाउने क्रम जारी छ ।
‘रातमाटे गाउँका राता घोडाहरू’— दाइका पाँच घोडाहरू जिउज्यान अर्पेर चर्दैछन् भिराला पाखाहरूमा । ‘यिनीहरूको लक्ष्य के होला, बाँच्नु केका लागि भन्ने सोच्दै होलान् ?— हामी तिन जनाको विचार विमर्श केहीबेर त्यसैमा अल्झियो ।
हाम्रो छेवैमा लहरै बिसाइए सात भारी । सुइय सुस्केरा हाल्दै सातै जना थचक्क बसे हात्तीसुँढे ढुङ्गामा । स्याङ्जा फेदीखोलाका तिनीहरू उपल्लो मुस्ताङको दामोदर कुण्डमा नुहाएर फर्केका थिए । तिनीहरूमध्ये दुई महिला थिए । तिनीहरूको गालामा रगत होइन पानी पनि छैन जस्तो लाग्थ्यो । अनुहार र शरीर बिग्रेको डोको कच्याककुचुक पारेर बिटा बाँधे झैँ देखिन्थ्यो । पुरुषहरू शिरदेखि गोलिगाँठासम्म नै रौँले ढाकिएका थिए । बर्सौँदेखि दारी र कपाल नकाटे झैँ लाग्दैथ्यो । उनीहरूको टोपीमा तेलको कात्ती झैँ मयल टल्किरहेको थियो । शरीरमा भिरेका कमिज, सुरुवाल र इस्टकोटले सिलाएदेखि एक पटक पनि साबुन पानीको स्पर्श नपाए जस्तो लाग्दैथ्यो । ती धरोहरूमा प्वाल नै प्वालले तारामण्डल देखिन्थे । जिउमा रोग, मनमा शोकको प्रस्ट झल्को देखिन्थ्यो उनीहरूको अनुहारमा ।
‘दामोदर कुण्ड पुगेर जिन्दगीमा ठुलो काम गरियो ।’
‘अहिलेसम्मका सारा पाप पखालिए । सिधै बैकुण्ठ जाने बाटो खुल्यो ।’
‘अब न रोगले छुन्छ, न शोकले’ । ‘शोक न सुर्ता भोक न भकारी’ हुने भो ।’
‘सन्तान दर–सन्तानको भलो हुने भो’, चिताएको पुग्ने भो’ ।’
सात नै जनाले पटक पटक भट्याए । धर्मको जय, पापको क्षय भन्नेमा विश्वस्त थिए उनीहरू । बिहानदेखि केही खाएका रहेनछन् । रुमालमा अलिकति चिउरा र काँचो अदुवा टोके र तनतनी चिसो पानी पिए । कुरैकुरामा कसैको पनि केही पेसा र रोजगार नभएको बताए । अलि अलि खेतीपातीले वर्षको दुई महिना पनि पेट भर्न नपुग्ने रहेछ । त्यत्रो समूहमा पाँच कक्षासम्म अध्ययन गरेका मात्र एक जना रहेछन् । किन विपन्न नै बढी होमिएका छन् धर्मको चङ्गुलमा । तन, मन र धनले पुगे नयाँ नयाँ ठाउँहरू घुम्नु, नयाँ नयाँ परिस्थिति र चालचलन बुझ्नु सारै राम्रो हो । देव दर्शनको नाममा सारा सम्पत्ति र शरीर स्वाहा पार्दा किन चेत्दैन मान्छे । दुःखीको भागमा झन् झन् दुःख र सुखीको संसारमा समृद्धि थपिएको देख्दादेख्दै किन भगवान्को पछि लाग्छ मान्छे । बेनीदेखि समर पुग्दासम्म हामीले पचासौँ हूल तीर्थयात्रीहरू भेट्यौँ । तिनीहरूमध्ये धेरैजसो मुक्तिनाथ र थोरै मात्र दामोदर कुण्डका तीर्थयात्रीहरू थिए । उनीहरू सबै उदास, निराश र जीवनदेखि हारेका जस्ता देखिन्थे ।
हुने खानेको चाकडी लिएर र अकिञ्चनहरूलाई हेपेर, पेलेर आदिम जिम्वाल र मुखिया झैँ बाँचिरहेछ भगवान् । न कसैको भलो गर्न सकेको छ भगवान्ले न कसैलाई सताउन सकेको छ उसले । भगवान्को नाममा भ्रम पालेर उज्यालो र अँध्याराको खेती गरिरहन्छ मान्छे । जसले जे गरे पनि केही गर्न नसक्ने निरीह भगवान् देखेर टिठ लाग्यो हामीलाई । मरेकालाई तार्ने बहानामा बाँचेकालाई मार्ने भगवान्को के काम ?
‘लौ न नि !, मरेँ नि, म त अब बाँच्दिनँ कि क्या हो भगवान् ?’ अजारिबजारी गर्न थालिन् एउटी महिला । खानु खुट्नु छैन, भोको पेटमा हिँड्नु छ, न आराम न निद्रा छ, खाली भगवान् पुकारेर मात्र कहाँ टिक्न सकिन्छ र ? किंकर्तव्यविमूढ देखिए अरू छ जना । एक जनाले झारफुक गरे । व्यथा झन् बढ्यो । अर्काले पानी फुकेर ख्वाए । उनी झन् रुन थालिन् पेट मिचिमिची । मैले डाइजिन दिएँ । औषधि खाएको बिस मिनटपछि अलि शान्त र सहज देखिइन् तिनी ।
चौतारामै झाडा र बान्ता गर्न थाल्नुभयो अर्का बुढा बाले । उहाँ पनि दामोदर कुण्डमै गएर फर्केका, नवलपरासी कावासोतीका । सँगैका अर्का बुढाले अक्षता मन्छिन थाल्नुभयो । बुहारी चाहिँले पानी दिन खोज्नुभयो । बुढा प्यासले प्याक् प्याक्ती । पानी पिउन दिन हुँदैन, झन् झाडा पखाला चल्छ भन्दैछन् धामी । हामीसँग मेट्रिनिडाजोल थियो । त्यो खुवायौँ र जीवनजल पनि खुवायौँ । बुढा बा केहीबेरमै अलि तङ्ग्रिनुभयो । ‘मलाई त ज्यानमा तागत बढे जस्तो भयो ।’ बाको अनुहारमा चमक देखियो ।
‘आखिर यी बटुवाहरू किन यसरी बिरामी पर्छन् ?’ डेनमार्कको कोपेनहेगनबाट आएकी एक महिलाले सोधिन् ।
‘यिनीहरू तीर्थबाट फर्कंदा सञ्चो भएन ।’ हामीले भन्यौँ ।
‘ओहो, तीर्थ जान नहुने रै’छ सबै बिरामी पर्ने रहेछन् ।’ उनी चकित भइन् ।’
‘हिन्दुहरू शरीरलाई दुःख दियो भने धर्म हुन्छ, भन्ठान्छन् । भगवान् भेट्न तीर्थव्रत त खुब गर्नुपर्छ भन्छन् । जान्छन् । न खाने ठेगान हुन्छ, न हिँड्ने र आराम गर्ने ठेगान नै । सकेसम्म भोकै बस्यो, खाए पनि शरीर सुहाउँदो नखायो । निद्रा थकाइको परवाह नगरी हिँड्यो । सञ्चो भएन भने औषधीमुलोको सट्टा झारफुक, धामीझाँक्री र भाकल गर्नतिर लाग्यो । त्यसले रोग बल्झने र शरीर जीर्ण हुनेबाहेक के हुन्थ्यो’— हामीले भन्यौँ ।
दामोदर कुण्ड आफैँमा सुन्दर प्राकृतिक थलो हो । उचाइको विविध सौन्दर्य चाख्नेहरूका लागि उदात्त प्राप्ति हो दामोदर कुण्ड । प्राकृतिक मनोहर स्थानकोे सौन्दर्यशाली महक चाख्न छाडेर भगवानका तानाबानाको जालमा फस्न थालेपछि र जीवनभर दुःखमा फसेर जीवनपछि आनन्द छ भन्नेहरू नै फसिरहेछन् दुःखको भुङ्ग्रामा । हामीले राम्ररी बुझायौँ उनीहरूलाई ।
‘देख्नु भो’ रोगलाई भगवान्ले होइन औषधिले निको पार्छ’, हामीहरू हाँस्यौँ । उनीहरू मुस्कुराए । भगवान् विरुद्ध हामीले गरेका तर्क उनीहरूलाई पटक्कै मन नपरेको आकृति झल्केको थियो उनीहरूको मुहारमा । भगवान्वादले विज्ञानवादलाई हेप्ने, ठेल्ने र दबाउने गरेसम्म कहाँ उन्नति हुन सक्तछ र मान्छेको ? हाम्रो निष्कर्षमा सही थापिन् आयरल्यान्डकी ग्रेलाले ।
‘हरहर महादेव ! बच्चों हम दामोदर कुण्ड जाँदैछ, भगवान्के लिए दान करोँ— तलतिरबाट उकालो चढ्दै आएका भारतीय जोगी थचक्क बसे हामी बसेकै चौतारोमा ।
बस्नेबित्तिकै पाँच सर्को गाँजा ताने ।
तिनको अनुहारभरि अबिर, केसरी, चन्दन, तिलक लेपिएकाले आँखाबाहेक छाला देखिँदैनथियो । शरीरभरि खरानी घसेर पाप्रा उठेको भैँसीको दादे ढाडजस्तो थियो । जगल्टे कपाललाई जटा बनाएर रातो र कलेजी धागोले करिब एक फिट जति उठाएको थियो । एक हातमा कमण्डलु, अर्को हातमा लट्ठी र गर्धनमा जिउँदो सर्प बेरिएको थियो । शरीरमाथि गेरु वस्त्रले ढाकिएको थियो । उनी टाढैबाट बेस्सरी गन्हाएका थिए ।
‘मै भगवान् महादेवका सच्चा भक्त हुँ, दक्षिणा चढाओ, पुण्य कमाओ’— उनी कराउन थाले ।
तीर्थालुहरूले दस, पच्चिस, पचास रुपैयाँ दिए । हामीले दिएनौँ ।
‘बाबाको घर कहाँ हो ?’ मैले सोधेँ ।
‘बाबाको घर, जन्म केही सोध्नुहुँदैन, सोध्ने पापी हुन्छ’— मसँग बेस्सरी रिसाए बाबा ।
कुनै न कुनै कर्तुत छिपाउन बाबा बन्नेहरू धेरै छन् । अतीत कोट्याउँदा पर्दाफास हुने भयले आत्तिन्छन् उनीहरू ।
‘बाबालाई दक्षिणा दिए के हुन्छ ? नदिए के हुन्छ ?’ मित्रले राख्नुभयो प्रश्न ।
बाबाको अहङ्कार अझ बढ्यो ।
‘हे पापी बालक, त्यति पनि थाहा छैन, देखेनौ म साक्षात् महादेव हुँ, जसले मलाई बढी दान गर्छ उसले मोक्ष प्राप्त गर्छ, पुण्य प्राप्त गर्छ, जसले मलाई दान गर्दैन, हेप्छ, ऊ अहिले नै रगत छादेर मर्छ, नरकमा जान्छ ।’— बाबा त हेर्दाहेर्दै आफैँलाई देवता पो भन्न थाले ।
‘बाबाले ननुहाउनुभएको कति भयो ?’ मैले सोधेँ ।
‘बाबा भगवान् हो, भगवान्ले नुहाए पनि ननुहाए पनि भगवान् नै हो । कहाँ फुर्सद हुन्छ भगवान्लाई नुहाउने’– बाबा झन् जङ्गिए ।
‘लौ त्यसो भए तपाईंको शक्तिले हामीलाई रगत छदाउनुहोस् वा मारिदिनुहोस्’— हाँक बोल्यौँ हामीले ।
जोगी अक्क न बक्क बने एक सर्को गाँजा ताने र फतफताउँदै उकालातिर अघि बढे ।
आडम्बरपूर्ण भेषभुषा पहिरेर छाडापन प्रदर्शन गर्नेहरूको काम होइन ईश्वरको दुहाइ दिएर ठगी गर्ने व्रmम जारी छ । अरूलाई लोभ मोहबाट टाढा रहन अर्ति दिने, आपूm भने सुख सुविधा, धनमान, र अनैतिक प्राप्तिको पछि लाग्ने— त्यस्ता ढोंगी साधु सन्यासीबाट सजग रहन पर्ने बतायौँ हामीले तीर्थालुहरूलाई । त्योे निकै घत परेछ उहाँहरूलाई ।
धार्मिक होइन प्राकृतिक पर्यटनमा हिँड्नुहोस् । अन्धविश्वासमा होइन तर्क र यथार्थमा बाँच्नुहोस् । त्यसले पो उज्यालो बन्छ जीवन । हामीले सम्झायौँ ती बा आमाहरूलाई ।
समरबाट देखिएका प्रत्येक पहाडहरू शक्तिशाली सौन्दर्यको खानी बनेर उभिइरहे हाम्रो वरिपरि ।
‘लु जाऔँ सर, बल्ल तयार भयो गाडी’— नट बोल्टु कस्दै बोले हाम्रा गुरुजी । समरबाट बाहिरिँदा पश्चिम पहाडको टुप्पैमा घामले टेकेजस्तो देखियो ।
नाङ्गो विपन्नतालाई दुर्गन्धित बनाउँदैछ आडम्बरको खोल ओडेर भगवान्ले । भगवान्लाई नाङ्गो बनाउने हो भने डुब्नुपर्ने थिएन मान्छेहरूले अन्धकार दहहरूमा ।
हामी उकालो चढिरहेका बेला पर खोंचहरूबाट सुनियो मान्छेको सुरिलो गीति आवाज । मान्छेको आकार नदेखिए पनि प्रतिध्वनिले ब्युँझाइरह्यो पहाडका उज्याला पत्रहरूलाई ।
अक्सिजनको घनत्व घट्दो छ, गतिमा गाह्रोपन ब्युँझिरहेछ ।

समर गाउँ, लोमन्थाङ, मुस्ताङ
२०७१ असार १६ गते, सोमबार

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्