कक्षा १२ को नतिजा १५ पुसभित्र

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा महिना दिनभित्रै सार्वजनिक गर्न तयारी गरेको छ । कोरोनाका कारण रोकिएर ढिला गरी लिइएको परीक्षा मंगलबार सकिएको छ । उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र नतिजा तयारीका लागि एक महिनाको समय लाग्ने अनुमान गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । उत्तरपुस्तिका परीक्षणको काम सुरु भइसकेको छ ।

शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण गरेर मंसिर २२ सम्म बोर्डको सम्बन्धित कार्यालयमा पठाइसक्नुपर्नेछ । बोर्डको प्रदेश र शाखा कार्यालयहरूमा ती उत्तरपुस्तिकाको सम्परीक्षण गरेर केन्द्रमा पठाइनेछ । केन्द्रमा अंक प्राप्त भएपछि कक्षा ११ को प्राप्तांक, आन्तरिक र प्रयोगात्मक परीक्षाको अंक जोडेर नतिजा सार्वजनिकको तयारी गरिने पौडेलले बताए । ‘कुनै बाधा अवरोध नभए एक महिनाभित्र नतिजा प्रकाशन गर्न सक्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘१५ पुससम्म नतिजा प्रकाशित हुने आशा गरौं ।’

कोरोना महामारीका कारण वैशाखमा हुनुपर्ने परीक्षा स्थगित भएको थियो । बोर्डले मन्त्रिपरिषद्को स्वीकृतिमा कार्यविधि जारी गरेर ४० पूर्णांकको संक्षिप्त परीक्षा सञ्चालन गरेको हो । परीक्षा मर्यादित रूपमा सकिएको बोर्डले दाबी गरेको छ । विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालय ९होम सेन्टर० मा परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । उत्तरपुस्तिका पनि विद्यालयकै विषयशिक्षकले परीक्षण गरेर बोर्डको प्रदेश कार्यालय र शाखा कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

करिब १७ हजार विद्यार्थीले भने आफूलाई घरपायक पर्ने जिल्लाको केन्द्रबाट परीक्षा दिएका थिए । उनीहरूको उत्तरपुस्तिका भने बोर्डको प्रदेश कार्यालयमा परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । ‘होम सेन्टरमा परीक्षा दिने विद्यार्थीको उत्तरपुस्तिका बोर्डले सम्परीक्षण गर्छ,’ अध्यक्ष पौडेलले भने, ‘घरपायक केन्द्र रोजेर परीक्षा दिएका परीक्षार्थीको कपी पनि त्यहीँ परीक्षण गरिन्छ ।’ अन्य विद्यालयबाट परीक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण नगरी बोर्डमा पठाउनुपर्नेछ भने आफ्ना विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गरेर अंकसहित बुझाउनुपर्ने व्यवस्था गरिएको हो ।

कोरोना कहरबीच स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै मंसिर ९ बाट ४ हजार १ सय ५ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । ४ लाख ३२ हजार ५ सय परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । प्रदेश कार्यालयले विद्यार्थीको प्राप्तांक पठाएपछि केन्द्रीय सर्वरमा नम्बर इन्ट्रीको काम थालिने बोर्डले जनाएको छ ।

परीक्षार्थीको ४० प्रतिशत पूर्णांक कक्षा ११ को आधारमा मूल्यांकन गरिँदै छ । २० प्रतिशत अंक विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा दिइनेछ । आन्तरिक मूल्यांकन र प्रयोगात्मक परीक्षाको अंक विद्यालयहरूले बोर्डमा पठाइसकेका छन् । सैद्धान्तिकतर्फको संक्षिप्त परीक्षाको अंक, कक्षा ११ को प्राप्तांक र आन्तरिक मूल्यांकनको अंक एकमुष्ट जोडेर विगतमा जस्तै ग्रेडिङ पद्धतिमा कक्षा १२ को यस वर्षको नतिजा प्रकाशन हुनेछ । विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्