विभिन्न क्षेत्रमा हिमपात, काठमाडौँको तापक्रम ०.६ डिग्री सेल्सियस, उच्च हिमाली भेगमा माइनस ५३ डिग्री

देशभर अधिकांश स्थानमा भएको वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढेको छ । आगामी तीन दिनसम्म विशेषगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षाले काठमाडौं उपत्यकाको चिसो बढाउनुका साथै वरिपरिका पहाडमा हिमपात गराउने सम्भावना रहेको छ । हिमपातको विशेष असर भने सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च हिमाली भेगमा बढी परेको छ । जसका कारण काठमाडौँको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियससम्म पुगेको थियो । भूमध्य सागरबाट उठेको जलवाष्पलाई पश्चिमी वायुले नेपाल भित्र्याएको हो । भूमध्य सागरसँगै जम्मुकश्मीर क्षेत्रबाट समेत पश्चिमी वायुले वर्षाको न्यूनचापीय कण बोकेर आइरहेको छ । हिउँदमा हुने पश्चिमी वायुको असरले परेको पानी पूर्वी नेपाल हुँदै सकिन्छ । मनसुनमा भित्रिने दक्षिण र पूर्वी वायुले भित्र्याउने वर्षा भने पश्चिम नेपाल हुँदै अन्त्य हुने गर्छ ।
यसैगरी सुदूरपश्चिमको दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ लगायतका उच्च पहाडी र हिमाली भेगमा भने लगातार हिमपात हुने जनाइएको छ । उच्च हिमाली भेगका लागि मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमानअनुसार गएको २४ घण्टामा माइनस ५३ डिग्रीसम्म न्यूनतम तापक्रम पुगेको छ । महाशाखाले सार्वजनिक गरेको विश्लेषणअनुसार नौ हजार मिटर आसपासको पश्चिमी उच्च भूभागमा अत्यधिक चिसो रेकर्ड भएको हो । तीन हजार मिटर उचाइ आसपासमा भने तीनवटै क्षेत्रमा माइनस ८ डिग्री तापक्रम विगत २४ घण्टामा रेकर्ड भएको छ । त्यस्तै ५५ सय मिटर आसपासका भूभागमा क्रमशः माइनस २३, २२ र १९ डिग्री तापक्रम रेकर्ड भएको छ । सात हजार मिटर क्षेत्रका पश्चिम, मध्य र पूर्वी उच्च भूभागमा क्रमशः माइनस ३७, ३५ र ३३ डिग्री चिसो तापक्रम रेकर्ड भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्