दार्चुलाकाे लेकम गाउँपालिका कार्यालयमा तालाबन्दी, दैनिक कामकाज प्रभावित

गणेशसिँह धामी, दार्चुला

सोमबार जिल्लाकाे लेकम गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । आइतबार वडा नं. १ कार्यालय सर्माेलीमा ताला लगाएका युवाहरुले सोमबार खरकडामा रहेको गाउँपालिका केन्द्रमा तालाबन्दी गरेका हुन । विकास निर्माणका काममा मनोमानी भएको भन्दै युवाहरुले तालाबन्दी गरेका हुन ।

सुदूरपश्चिम प्रदेश सरकारबाट निर्माणाधिन ऐरिछाना धनथला सडक निर्माणको काम सहमति अनुसार अगाडी नबढेको भन्दै तत्काल सर्मोली क्षेत्रमा सडकको काम अगाडी बढाउनुपर्ने मागसहित सोमबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरिरहेको ऐरिछाना धनथला सडकलाई दुई खण्डमा बराबर निर्माण गर्ने सहमतिको पालना नभएको भन्दै युवाहरुले तालाबन्दी गरेका हुन् । न्यू हुनैनाथ निर्माण सेवा प्रालीले ठेक्का पाएर निर्माण भइरहेको ऐरीछाना धनथला सडकखण्डलाई ऐरीछानादेखि रातामाटा हुदै धनथला जोड्ने गरी एउटा सडकखण्ड र ऐरीछानादेखि सर्मोली हुदै धनथला जोड्न अर्को सडकखण्ड निर्माण गर्ने गाउँपालिकाको सहमति थियो ।

युवाहरुले रातामाटा क्षेत्रमा बढी काम गरेर सर्मोली क्षेत्रमा थोरै काम भएको को आरोप लगाएका छन । चालु आर्थिक वर्षमा सर्मोली र रातामाटा दुबै खण्डमा ५०÷५० लाख रुपैया र ऐरिछानादेखि रिठाचौपातासम्म सडक मर्मत तथा स्तरोन्नती गर्न ८० लाख गरी १ करोड ८० लाख रुपैयाको ठेक्का भएको थियो । निर्माण व्यवसायिका अनुसार ऐरिछाना रातामाटा धनथला सडकमा सम्झौता अनुसार नै काम भएको छ । शुरुमा सिरोडादेखि सर्मोली क्षेत्रमा केहि काम भइसकेको र बाकी काम केहि दिनमै गर्ने तयारी भइरहेको निर्माण व्यवसायिको भनाइ छ ।

सर्मोलीका केहि युवाहरु भने निर्माण व्यवसायि र जनप्रतिनिधिले आफुहरुलाई बाहानाबाजी र झुटो आश्वासन दिएर सडक निर्माण कार्य रोकेको भन्दै आन्दोलित भएका छन् । युवाहरुले मंगलबारसम्म माग पुरा गर्न अल्टीमेटम दिएका छन् ।
चालु आर्थिक बर्षको अन्तिम तर्फ दैनिक कामकारवाहीमा चाप भइरहेका बेला दैनिक कामकाज नै प्रभावित हुने गरेर तालाबन्दी गर्नुभन्दा छलफलको माध्यमबाट समस्याको समाधान गर्नु उपयुक्त हुने सरोकारवालाहरुको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्