प्रधानमन्त्रीलाई खुला पत्र – ‘याे क्वारेन्टाइन हाे कि गाई गाेठ ?’

सम्मानीय प्रधानमन्त्री ज्यू

म दार्चुला जिल्लामा सामान्य परिवारमा जन्मेकाे एक सदस्य हुँ, सायद आर्थिक अवस्था कमजाेर भएरै हुँला विगत १६ बर्षदेखि भारतमा काम गर्दै आईरहेकाे छु । बढ्दाे महंगाई, समयकाे आधुनिकता अनि समाजकाे परिवेशसँगै समायाेजन हुनकाे लागि म पनि भारतमा मजदुरी गर्न आएकाे हुँ, मसँगै नेपाल सरकारकाे निजामती क्षेत्रमा प्रवेश गरेका साथीहरू अहिले अवकाश लिन थालेका छन । जे हाेस जस्तो परिस्थिति भएतापनि सानाे परिवारलाई याे वर्तमान परिस्थितिमा पुर्‍याउन संघर्ष गरिरहे जसकाे प्रतिफल आज १६ बर्ष पनि पूरा भयाे ।

केही छैन, नेपालमा बढ्दाे बेरोजगारी, अर्थतन्त्रको खस्किदाे अवस्था, राजनीतिक परिस्थिति अनि पँहुचकाे कमिले गर्दा मलाई नेपालमा समायाेजन गर्न सक्नुभएन तर यस क्षेत्रमा पनि नजिकैबाट नियालेर हेर्न सक्नुभएन । यसलाई पनि मैले सामान्य रूपमा लिए, बिरामी पर्दा हाेस या अन्य कुनै अप्ठ्यारो परिस्थितिमा  म आफैमा निर्भर भए । २०५८ सालमा मसँगै एसएलसी दिएका र २ बिषयमा फेल भएर दाेस्राे बर्ष १० पास गरेका साथीहरू अहिले करार हाेस या अस्थायी शिक्षक बनेका छन् भने काेहि काेहि स्थायी शिक्षक लगायत अन्य राम्राे क्षेत्रमा प्रवेश गरेका छन् खुसी पनि लाग्छ । म पनि त्यसबेला प्रथम श्रेणी नजिक प्राप्तांक लिएर पास भएकाे थिए अनि केही अन्तरालपछि १०+२ उतिर्ण गरे । पढाईकाे मूल्यांकन भएर या आफ्नो मेहनतले भनु जे जस्तो भएतापनि मैले भारतमा सामान्य चित्तबुझाउन सम्मकाे जागिर पाएर परिवारकाे दैनिकी धान्दैछु ।

काम गर्दा गर्दै जादा विभिन्न बाधा अवरोध नआएका पनि हाेईनन् तर सामना गरेर अघि बढे । यस दाैरानमा हुँदाहुँदै काेभिड-१९ काेरना भाईरसकाे पनि सामना गर्नुपर्याे । विश्व तरंगित भईरहेकाे थियाे, अर्थतन्त्र चाैपट हुँदै गएकाे थियाे, मान्छेमा त्रास फैलिरहेकाे थियाे, उद्योग कलकारखाना बन्द भईरहेका थिए भने लाखौंको संख्यामा संक्रमित भईरहेका थिए भने लाखौंकाे संख्यामा मृत्युु पनि भईरहेकाे थियो । हामी सरकारकाे मुख हेर्दै सामाजिक सञ्जालमा झुण्डिरहन्थ्यौँ । कहिले प्रधानमन्त्री ज्यूले हाम्राे केहि समस्या बुझ्नुहुन्छ र हामी आफ्नाे घर फर्किन्छाै भनेर । तर त्याे हेराई आँखाकाे लागि मात्र हानिकारक भयाे हाम्रो अवस्था जस्ताकाे त्यस्तै । समय वित्दै गयाे, मान्छेकाे मर्ने क्रम र संक्रमित हुनेकाे ग्राफ चित्र उकालाे लागिरह्याे । हामी काम बन्द भएर काेठामा बसेकाे समय पनि आफ्नो गतिमा अगाडि बढ्दै गयाे ।

लाखौंको संख्यामा नेपालीहरू भारतमा थिए, काेहि डराएर आफ्नै भूमीमा फर्किन्छाै भनेर घर फर्किए भने काेहि परिस्थिति साम्य हाेला भनेर यथास्थानमै बसिरहे । विश्वका देशहरू काेरना राेकथामका लागि लकडाउन गर्न थाले भने भारत र नेपाल पनि लकडाउन गर्नेतर्फ अग्रसर भए । त्यतिखेर त्यस्तै परिस्थिति थियाे हाेला, बढ्दाे महामारीलाई नियन्त्रणमा लिनु लकडाउनकाे बिकल्प थिएन हाेला तर पनि प्रवासीकाे समस्यालाई हेरिएन । सामाजिक सञ्जाल तथा पत्रपत्रिका, रेडियो,टेलिभिजन तथा अनलाईनमा समाचार पढ्न पाईयाे कि अब जाे जहाँ छ त्यहिकाे सरकारले पूर्ण व्यवस्था गर्ने रे ! यस्ताे परस्थितिमा यत्ति गर्नु सामान्य थिएन धन्यवाद पनि दिए सरकारलाई अनि निर्णय सेयर पनि गरे । समय वित्दै गयाे कहिले व्यवस्था भएन, नत घरकाे भाडा नै छुट भयाे नत खाने व्यवस्था नै भयाे । म जस्तै मजदुरी गर्ने नेपालीकाे अवस्था हेर्दा त म ठिकै परिस्थितिमा थिए जे हाेस केही पैसा भएर खानेकुरा त किन्थे । कसैकाे दुख देखेर आँखामा आँशु आउँथ्याे, कामबाट निकालेकाे, पैसा नदिएकाे, एउटै काेठामा दर्जनौं पल्टिएको अनि दुतावासले वास्ता नगरेकाे यी समाचार पढ्दा अनि आफ्नो आँखाले यी पिडा देख्दा असह्य भयाे ।

समाचार छापिरहे, प्रशारण भईरहे, सम्प्रेषण भईरहे समस्या ज्यूँका त्यूँ । लकडाउनकाे अवधि सरकारले थप्दै गयाे, समस्या बढ्दै गयाे राहत कहिले पाईएन । भारतले साैता व्यवहार गरिरह्याे । नेपाल भारत सिमा खुल्ने खबर आयाे र भारतले लकडाउन केही खुकुलाे गर्न थाल्याे र रेलहरू लगायत निजी सवारीसाधन चल्न थाले । हामीले पनि घर फर्किने याेजना बनायाैँ । ६ सयमा आवत जावत गर्ने गरेकाे बाटाेमा १५ हजार भारतीय रूपैया तिरेर ३ जनाकाे समूह नेपाल फर्किन हिड्याैँ । भारतकाे चम्पावत जिल्लाकाे बनबासा पुग्याैँ । त्यहा हजाराैँकाे संख्यामा नेपाली घर फर्किदै थिए । जात्रा मेला तथा महाेत्सवमा हुने भीड त त्याे देख्दा के नै थियाे र, त्याे भन्दा नी ठुलाे भीडमा पुग्याै, त्याे दिनकाे नाका खुलेकाे थिएन सबै लाईनमा बसिरह्याैँ । केही समयकाे प्रतिक्षापछि भारतबाट नेपालकाे भूमिमा प्रवेश गर्याै । नेपाल प्रवेश गरेसँगै झनै सास्ती खेप्नु पर्याे । आफ्नै देशले आफ्नै देशका नागरिकलाई दिएकाे सास्ती देखेर मन खिन्न भयाे । जेठ महिनाकाे प्रचण्ड गर्मी अनि त्याे भीड देखेर मन थाम्न गाह्राे भयाे । बल्लतल्ल लाईन कट्दै थर्मल गनले स्किनिङ गर्ने ठाउँ पुग्याै र घाममै बसिरह्याै । लामाे समयकाे प्रतिक्षाबाट हाम्राे स्थानीय तहकाे गाडी आईपुग्याे र म पनि लागे क्वारेन्टाइन स्थलतर्फ ।

समाचारमा पढ्ने गर्थे, टिभीमा हेर्ने गर्थे बेड सहित सुबिधा समपन्न क्वारेन्टाइन कक्ष, सामाजिक दुरी कायम गरेर बस्नुपर्ने, अनि त्यसमा वाईफाई सहितकाे सुविधा छ भनेर । त्याे त केवल मिडियामा चर्चा पाउनकाे लागि तस्बिर भिडियो खिच्नकाे लागि मात्र रहेछ । गुनासाे भनु या व्यक्तिगत विचार भनु हुन त सरकार अहिले विषम परिस्थितिमा गुज्रिरहेको छ । अर्थतन्त्र तहसनहस छ । तर पनि न्यूनतम मापदण्ड पनि नपुगेर चर्काे भाडा तिरेर त्याे भिडभाडमा जाेखिम माेलेर आज यस्ताे मापदण्ड अनुसार नभएकाे क्वारेन्टाइनमा बस्दा त झन खतरा भएन र ?
गाई गाेठ जस्ताे एउटै काेठा भित्र दर्जन बढी मानिसहरूलाई सामाजिक दुरी कायम नगरी यसरी राख्दा के काेरनाकाे जाेखिम हुदैन र ? यसरी जाेखिमपूर्ण अवस्थामा यस्तो भिडभाडमा बसेर काेरनाकाे भय कायमै छ । मानसिक राेगकाे सिकार भएर घर फर्किनु बाहेक अन्य बिकल्प छैन । त्यसैले क्वारेन्टाइनकाे उचित व्यवस्थापन गर्नुहाेला नभए हाेम क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउदा अझ सुरक्षित हुने देखिन्छ ।

 

                                                                         देशमा राेजगारीको अवस्था नभएपछि भारत गएकाे एक युवा बासुदेव मिश्र

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्