काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले घर बगाएपछि परिवारले चण्डिका श्रेष्ठ जीवित नरहेको ठानेर काजकिरिया सुरु गरिसकेको थियो। बाढी आएको आठ दिनसम्म कुनै अत्तोपत्तो नलागेपछि परिवारले कुशको शव बनाएर मृत्यु संस्कारसमेत सुरु गरेको थियो। तर, सबै आशा सकिएको ठानेर काजकिरिया चलिरहेकै बेला बाढी आएको ११औँ दिनमा ६४ वर्षीया चण्डिका जीवितै फेला परेकी छन्।
नुवाकोटको विदुर नगरपालिका–१० की श्रेष्ठलाई सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको उद्धार टोलीले बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट अर्धचेत अवस्थामा उद्धार गरेको हो। उद्धारपछि उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेकमा लगेर प्रारम्भिक उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि उनलाई काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालमा ल्याइएको छ।
चण्डिका र उनका श्रीमान् घरभित्रै रहेका बेला बाढीले साढे चार तल्लाको घरलाई नै उचालेर बगाएको थियो। उनका सम्धी रमेशमान श्रेष्ठका अनुसार बाढीले बगाएको घर त्रिशूली नदीको किनारमा पुगेर अड्किएको थियो। परिवारले उनको खोजीमा सम्भव भएसम्म सबै प्रयास गरेको थियो। तर, आठौँ दिनसम्म पनि कुनै जानकारी नपाएपछि परिवारले उनी जीवित नरहेको निष्कर्ष निकाल्दै काजकिरिया सुरु गरेको थियो।
चण्डिकाका ज्वाइँले समेत दुई–तीन दिनसम्म बेत्रावती र त्रिशूलीको किनारमा खोजी गरेका थिए। तर, बाढीका कारण विभिन्न स्थानमा शवहरू भेटिन थालेपछि र वरपरको अवस्था अत्यन्त जोखिमपूर्ण बनेपछि खोजी गर्न कठिन भएको थियो। दलदलका कारण उद्धार टोलीसमेत सहज रूपमा घटनास्थलसम्म पुग्न सकेको थिएन। त्यसपछि परिवारले काठमाडौँको सानो भर्याङस्थित घरमा कुशको शव बनाएर काजकिरिया सुरु गरेको थियो।
यद्यपि, परिवारका केही सदस्यको मनले भने चण्डिका जीवितै हुन सक्ने आशा छाडेको थिएन। रमेशमान श्रेष्ठले घरभित्रै भए पनि चण्डिका कुनै माथिल्लो तल्लामा बसेर पानी वा चाउचाउ खाएर बाँचिरहेकी हुन सक्ने आशा आफूले गरिरहेको बताएका छन्। त्यसैले काजकिरिया सुरु भए पनि एकपटक फेरि खोजी गर्नुपर्ने उनको मनमा लागेको थियो।
११औँ दिनमा चण्डिका जीवितै फेला परेको खबर आएपछि भने शोकमा डुबेको परिवारमा एकाएक खुसी छाएको छ। छोरी र सामाजिक सञ्जालमार्फत खबर पाएलगत्तै रमेशमान अस्पताल पुगेका थिए। यद्यपि चिकित्सकले केही समयसम्म बिरामीलाई प्रत्यक्ष भेट्न नदिएपछि उनी अस्पतालबाहिरैबाट चण्डिकाको अवस्था बुझ्दै पर्खिरहेका छन्।
अस्पताल परिसरमा चण्डिकाका नाति पनि उनलाई भेट्न पुगेका छन्। परिवारका अनुसार नातिले लगातार हजुरआमालाई खोज्दै रोइरहेका छन् र केही खानसमेत मानेका छैनन्। अघिल्लो दिन मात्रै उनले दिनभर भगवानको भजन गाएको रमेशमानले स्मरण गरेका छन्।
चण्डिका जीवितै भेटिएको घटनाले परिवारमा आशा र भावनाको नयाँ अध्याय थपेको छ। बाढीले परिवारको घर र सम्पत्तिसँगै उनीहरूका धेरै सपना बगाए पनि ११औँ दिनमा चण्डिकाको जीवित उद्धारले भने निराशाबीच ठूलो खुसी दिएको छ। रमेशमानले यस घटनापछि आफूलाई भगवानप्रतिको विश्वास अझ बलियो भएको महसुस भएको बताएका छन्।



