काठमाडौं – पेप्सीकोला टाउन प्लानिङस्थित नेक्सस् इन्टरनेशनल एकेडेमीको नेक्सस् स्काउट ट्रुपको आयोजनामा कक्षा ६ मा अध्ययनरत तथा स्काउट ट्रुपमा आबद्ध विद्यार्थीहरूबीच व्यवहारिक कुकिङ कम्पिटिसन सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित प्रतियोगितामा सहभागी विद्यार्थीहरूले सुरुदेखि अन्तिमसम्म सम्पूर्ण प्रक्रिया आफ्नै मेहनतबाट पूरा गरेका थिए। उनीहरूले आफैं दाउरा संकलन गर्ने, परम्परागत चुलो निर्माण गर्ने, आगो बाल्ने र त्यसपछि विभिन्न परिकार पकाएर आकर्षक ढङ्गले प्रस्तुत गरेका थिए।
स्काउटिङको व्यवहारिक शिक्षालाई केन्द्रमा राखेर आयोजना गरिएको प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा आत्मनिर्भरता, श्रमको सम्मान, टोलीगत कार्य, नेतृत्व क्षमता, अनुशासन, जिम्मेवारीबोध तथा जीवनोपयोगी सीपको विकास गर्नु रहेको विद्यालयले जनाएको छ। प्रतियोगिताका क्रममा विद्यार्थीहरूले सीमित स्रोत साधनको उपयोग गर्दै धैर्य, सहकार्य र सिर्जनशीलताको उत्कृष्ट प्रदर्शन गरेका थिए।
विद्यार्थीहरूले तयार पारेका परिकारको स्वाद, सरसफाइ, पोषण, प्रस्तुतीकरण, समय व्यवस्थापन तथा समन्वयका आधारमा निर्णायक मण्डलले मूल्याङ्कन गरेको थियो। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ। विद्यालयका शिक्षकहरूले यस्ता व्यवहारिक गतिविधिले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै वास्तविक जीवनमा आवश्यक सीप सिकाउने, आत्मविश्वास बढाउने र विपद् तथा दैनिक जीवनमा उपयोगी हुने व्यवहारिक क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। नेक्सस इन्टरनेशनल एकेडेमीले शैक्षिक उत्कृष्टतासँगै स्काउटिङ, नेतृत्व विकास र जीवनोपयोगी शिक्षालाई प्राथमिकतामा राख्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।



