काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाबारे छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको छलफलमा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायतका नेता सहभागी भएका थिए।
छलफलमा सहभागी नेताहरूले यस्ता संवाद र राजनीतिक परामर्श २-३ दिनअघि नै गरिएको भए परिस्थिति अहिलेको जस्तो नबन्ने धारणा प्रधानमन्त्रीसमक्ष राखेका थिए। उनीहरूले शुक्रबार बिहान सरकार र पीडित पक्षबीच भएको सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र त्यसलाई बेवास्ता नगर्न पनि सुझाव दिएका छन्।
प्रधानमन्त्री शाहले सुनसरी घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारले मधेश क्षेत्रमा शान्ति, सामाजिक सद्भाव र सुरक्षा अवस्था सुदृढ बनाउन राजनीतिक दलहरूसँग निरन्तर संवाद र समन्वयलाई प्राथमिकतामा राखेको छ।



