एकै दिन फाइल टुंग्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन, नतिजामुखी कार्यसंस्कृतिमा जोड

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गर्न निर्देशन दिएका छन्। बुधबार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उनले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुंग्याउने तथा अन्तरनिकाय समन्वय आवश्यक पर्ने फाइल पाँच दिनभित्र अन्तिम निर्णयमा पुर्‍याउने व्यवस्था तत्काल लागू गर्न निर्देशन दिएका हुन्।

मन्त्री तिमिल्सिनाले दैनिक कार्यसम्पादन समीक्षा, नियमित अनुगमन र कार्यसम्पादन सम्झौताका आधारमा मूल्याङ्कन प्रणाली प्रभावकारी बनाउन जोड दिँदै राम्रो काम गर्नेलाई प्रोत्साहन र लापरबाही गर्नेलाई कारबाही गर्ने व्यवस्था संस्थागत गर्नुपर्ने बताए। सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटलमैत्री बनाउँदै कानुन निर्माण तथा बजेट कार्यान्वयनलाई नतिजासँग जोड्नुपर्ने उनको भनाइ थियो।

उनले मन्त्रालयमा हुने ढिलासुस्ती अन्त्य गर्न, फाइलको अवस्थाबारे जानकारी दिने प्रणाली विकास गर्न तथा ‘फ्रन्ट डेस्क’लाई प्रभावकारी बनाउँदै सम्भव भएका सबै सेवा अनलाइनमार्फत उपलब्ध गराउन निर्देशन दिए। चालु आर्थिक वर्षमा आमसञ्चार र मिडिया काउन्सिलसहित छ वटा विधेयक संघीय संसद्मा पेश गर्ने लक्ष्य पूरा गर्न पनि उनले कर्मचारीलाई सक्रिय हुन आग्रह गरे।

बैठकमा मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले गत आर्थिक वर्षमा पुँजीगत खर्च अपेक्षाकृत कमजोर रहेको स्वीकार गर्दै यस वर्ष सुरुदेखि नै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाइन्। बैठकमा चालु आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना, प्रशासनिक सुधार, कानुन निर्माण, सेवा प्रवाह र कार्यसम्पादन प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्