काठमाडौं । बनेपा नगरपालिका–६ बुडोलस्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरू १४ दिनदेखि सरकारी खाद्य सहायता नपाउँदा चरम समस्यामा परेका छन्। तीन महिनादेखि होल्डिङ सेन्टरमा बस्दै आएका करिब १५ परिवार अहिले दालमोठ, चिउरा, रोटी तथा ऋण–सापटीको भरमा दैनिक गुजारा गर्न बाध्य भएका छन्। उनीहरूका अनुसार सरकारले असार २२ गतेदेखि उपलब्ध गराउँदै आएको बिहान–बेलुकाको खाना र खाजाको व्यवस्था अचानक बन्द गरेको हो।
विस्थापितहरूले आफूहरूलाई होल्डिङ सेन्टर छाड्न निरन्तर दबाब दिइएको गुनासो गरेका छन्। बस्ने वैकल्पिक व्यवस्था नभएकाले कतिपयले आफ्ना छोराछोरी आफन्तकहाँ राख्नुपरेको र आर्थिक अभावका कारण थप संकट झेल्नुपरेको बताएका छन्। नियमित आयआर्जनको स्रोत नहुँदा दैनिक जीवन धान्नसमेत कठिन भएको उनीहरूको भनाइ छ।
यता विस्थापितको अधिकारका लागि आवाज उठाउँदै आएका अभियन्ताहरूले केही दिनदेखि व्यक्तिगत सहयोगबाट उनीहरूलाई खाना उपलब्ध गराउँदै आएको बताएका छन्। उनीहरूका अनुसार सम्बन्धित सरकारी निकायले बनेपाको होल्डिङ सेन्टर खाली भइसकेको जानकारी दिएको भए पनि वास्तविकता फरक रहेको पाइएको छ। त्यसपछि कर्मचारीहरूले पुनः त्यहाँ रहेका परिवारहरूको विवरण संकलन थालेका थिए।
सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भने मन्त्रिपरिषद्को निर्णयअनुसार विस्थापितलाई पुनःस्थापनाका लागि एकमुष्ट २५ हजार रुपैयाँ राहत तथा तीन महिनासम्म घरभाडा उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको छ। समितिका अनुसार असार १९ गतेसम्म राहतका लागि निवेदन संकलन गरिसकेपछि होल्डिङ सेन्टर खाली गर्न सूचना दिइएको र असार २२ गतेदेखि खानाको व्यवस्था पनि बन्द गरिएको हो।
समितिका अधिकारीहरूले हाल कुनै पनि होल्डिङ सेन्टरमा सरकारले खाना उपलब्ध नगराइरहेको स्पष्ट पार्दै बिरामी, अशक्त तथा वृद्धवृद्धाको व्यवस्थापन मानवसेवा आश्रमसँगको समन्वयमा भइरहेको बताएका छन्। उनीहरूले अधिकांश विस्थापितका परिवार अन्यत्र रहे पनि होल्डिङ सेन्टर नछोड्दा व्यवस्थापनमा समस्या भइरहेको दाबी गरेका छन्।



