काठमाडौँ- सरकारले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र श्रमिकमैत्री बनाउन वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी थालेको छ। प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव ले वैदेशिक रोजगार ऐनलाई समयानुकूल बनाउन तथा यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधन प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो।
मन्त्री यादवले लामो समयदेखि कार्यान्वयनमा रहेको ‘फ्री भिसा–फ्री टिकट’ व्यवस्थाले श्रमिकहरू थप समस्यामा परेको गुनासो आएको उल्लेख गर्दै यसको प्रभावबारे अध्ययन गर्न कार्यदल गठन गरिएको बताउनुभयो। कार्यदलको सुझावका आधारमा आवश्यक नीतिगत सुधार गरिने उहाँको भनाइ थियो।
उहाँले हाल ३० लाखभन्दा बढी नेपाली नागरिक विभिन्न मुलुकमा श्रमिकका रूपमा कार्यरत रहेको जानकारी दिँदै वैदेशिक रोजगार क्षेत्रलाई वैज्ञानिक, व्यवस्थित र पारदर्शी बनाउनु सरकारको प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हकहित संरक्षण, श्रम स्वीकृति प्रक्रिया सरलीकरण, ठगी नियन्त्रण तथा सुरक्षित वैदेशिक रोजगार सुनिश्चित गर्न कानुनी र नीतिगत सुधार आवश्यक रहेको मन्त्री यादवले बताउनुभयो।
सरकारले ऐन संशोधनमार्फत वैदेशिक रोजगार क्षेत्रका विद्यमान चुनौती समाधान गर्दै श्रमिकको हितलाई केन्द्रमा राखेर नयाँ व्यवस्था ल्याउने तयारी गरेको जनाएको छ।





