रुप्से किनारमा रगतको अवमूल्यन

दामोदर पुडासैनी ‘किशोर’

गति र उमङ्ग ब्युँतिन्छ नवीनताका मार्गहरूमा ।

रुप्से छहरा देख्नेबित्तिकै मात चढ्यो हामीलाई । आकाश नै छेक्ने हरिया डाँडाहरू छन् जताततै । डाँडाकै बाली, डाँडाकै बिस्कुन, डाँडाकै, वस्तुभाउ, डाँडाकै जङ्गल, डाँडाकै आकाश डाँडाकै पाताल– डाँडाबाहेक केही देखिँदैन । टाउकामाथि अलिकति देखिएको निलो आकाश र त्यतैबाट ओर्लेको घामको लेदो – चहकिला लागिरहेछन् हामीलाई ।

सडक भत्किएकाले बेनीबाट गएको मोस्टाङ जिपले तितरमै तितरबितर पारिदिएको थियो हामीलाई । अर्को गाडी चढ्न रुप्से झरना नाघेर जानुपथ्र्यो । रुप्सेलाई नजिकबाट स्पर्श गर्न पाउँदा गाडी नचलेकै उम्दा लागिरहेथ्यो मलाई ।

छोएको जस्तो देखेकाले कहाँ पुग्छ र मायालुलाई ?

बराँठिएको टुसा तामाले भुइँ छेडेर निस्कन खोजे झैँ विशाल ढुङ्ग्याने पहाडमाथि अलिकति देखिन्छ आकाश । आकाशबाट मुसलधारे बर्सेको हो कि पहाडको टाकुराबाट खुर्मुरिएको हो, छुट्याउनै गाह्रो छ । झन्डै चार सय मिटर माथिबाट हावामा घुलिँदै दुधको भेल र घमाइलो कुहिरो बनेर फैलिइरहेछ झरना । प्रत्येक जलबिन्दुलाई सुमसुम्याउन पुगेको छ सूर्य । झरनाका प्रत्येक बिसौनीहरूमा करौडौँ सूर्य टाँसिइरहेछन् थोपा थोपामा ।

मेरी प्रेयसी र प्रियदर्शिनी त्यही रुप्सेमा भेटिरहेछु मैले । अत्यन्त कडा चट्टान र अत्यन्त कोमल पानी एकै ठाउँमा लहरिनु कति आनन्द, कति सुन्दर । प्रकृति र प्राकृत सिर्जना दुवै रमाएका छन् त्यो अन्वितिमा । त्यहाँ प्रेम प्रच्छन्न छैन, सबैको सामु खुल्दै कुर्लदै उठिरहेछ । प्रेमले कहिलेकाहीँ ढुङ्गा जसरी जमेर आफ्नो अस्तित्व जोगाउनुपर्छ, कहिले पानी जसरी फैलिँदै नदी, सगर र सागर ढाक्नुपर्छ – सन्देश दिइरहेछ रुप्सेले । जिन्दगी सधैँ कडा चट्टान, तिखा, घोच्ने काँडा र शुष्क उबडखाबडमाथि चलायमान हुने हो । आपूm थाक्नुहुँदैन, अरूलाई नै थकाउने हो, अरूलाई नै गाल्ने गलाउने, ताछ्ने तिखार्ने र आपूm अनुकूल बनाउने हो— त्यसै भन्दै निरन्तर फाल हालिरहेछ रुप्से । ऊ समय जस्तै छे, एक निमेष रोकिन्न । ऊ आगोजस्तै छे, भेटेको कसैलाई बाँकी राख्दिन । रुप्सेका छाँगाहरूमा असङ्ख्य आगाका ज्वालाहरू फिँजारिइएको देखेँ मैले । आगोका ती मुस्लाहरूलाई कहिले सकूँला हामीले संसारभर कठ्याङ्ग्रिएर कुँजिएका मान्छेहरूका लागि राप बनाएर पठाउन । आविष्कारको उकुसमुकुस दिइरहिछन् रुप्सेले नै ।

मेरा आँखाहरू रुप्सेका हर जलकणमा फिँजारिइरहेछन् ।

रुप्से र प्रेमिका दुवैले धित मरुन्जेल अँगालो हालिरहेछन् मलाई । रुप्सेको शीतल स्पर्श र प्रेयसीको न्यानो चुम्बन दुवै एकाकार भइरहेछ । एकै ठाउँमा । प्रेमपूर्ण मुस्कान र मुस्कानपूर्ण प्रेम दुवै एकै ठाउँमा पाएपछि लाज, डर, घिन, ईष्र्या सबैबाट मुक्त भएको छु म । मैले रुप्सेका हरेक जलकणमा प्रेमका रङहरू देखिरहेछु र प्रेयसीका हर श्वासमा मायाका भङ्गालाहरू रुप्से बनेर हामफालिरहेको भेटिरहेछु । मेरी रुप्से ! मेरी प्रेयसी !! प्रेमको झरनामा डुबेपछि संसारकै सर्वोच्च समाधिमा पुगिरहेछु म । म मेरी प्रेयसीको मुहार र मनबाट सधैँ प्रेमको रुप्से बगिरहेको भेट्थेँ । आज मेरैअघिल्तिर रुप्से र मेरी रूपा तँछाड मछाड गरी मलाई अँगालामा बाँधिरहेछन् ।

पवित्र प्रेमको अघिल्तिर पग्लिइरहने रुप्से देखेर हाम्रो मुहारभरि बगिरहेछ जुनेली रुप्से ।

मेरी रुप्से ! मेरो देशकै सबैभन्दा अग्ली मध्येकी एक झरना ! तिमीलाई भेटेपछि संसार नै बिर्सेको छु मैले, तिमीबाहेक । एकनासले फाल हालिरहेका जलधारा, जलवाष्प र जल लहराहरू र तिनको सर्वथा नौलो सुसाइले एकोहोरिएको छु म । आँखाहरू तिमीबाट छुट्टिन मानेका छैनन्, पर्वतका चुचुरादेखि कालीका काखसम्म दौडिइरहेछन्, शरीर तिम्रै अङ्ग अङ्गमा लुकामारी खेल्न लालायित भइरहेछ र तिमीसँगै छिल्लिँदाछिल्लिँदै जीवन बितोस् भन्ने कामनामा उद्यत बनिरहेछ मन । प्रेमको आदिम महत्त्व तिम्रै स्पर्शले खुलिरहेछ । जर्जर ढुङ्गाहरूलाई तिमीले सुनाएका सङ्गीतले ब्युँझिदैछ मेरो थकित चेतना । ढुङ्गे टाकुराबाट निस्केर अनन्तसम्म सिञ्चनका सूत्र सिकाउँदै हिँड्नु तिम्रो कत्रो महानता । रुप्सेजस्ती सखल्ल षोडशा भेटेपछि निरन्तर उच्च अभियान बोकेर बढ्नेहरूलाई न कसैले धमिल्याउन सक्छ न रोक्न सक्छ कसैले— निष्कर्षमा पुगेँ म ।

डुब्नेहरू डुबिरहेछन् । थापिनेहरू थापिरहेछन् । छ्यापाछ्याप चलिरहेछ । मुसारमुसुर बलिरहेछ । हाँसोको फोहोरा उर्लिरहेछ । प्राप्तिको मौसम गम्किरहेछ । गीत निस्किइरहेछ, अन्तर कुन्तरबाट । बाचा बकिँदैछ, एक आपसमा । कसैका लागि भगवान् बनिरहिछिन् रुप्से, कसैका लागि महान् ज्ञान बनिरहिछिन् रुप्से । रुप्सेका मौन आँखाहरू, स्मित वदन र अलौकिक मुहार देखेपछि को पो मोहित नहोला र यो संसारमा ।

रुप्सेका छाँगाहरूभित्र छमछमाएपछि ह्वातहुत्तै बगाएर लग्यो हामीभित्र अलि अलि बचेका शङ्कालु बादलका बिरुवाहरूलाई ।

‘तिमी मेरा लागि संसारकै सर्वोच्च सङ्कल्प हौ’ रुप्सेलाई नै साक्षी राखेर भनिदिएँ मैले मेरी रुप्सेलाई । पारिपट्टि अर्को मुस्कान छ नीलगिरिको, वारिपट्टि उत्साहका आँकुराहरू वर्षिइरहेछन् रुप्सेबाट ।

लियोनार्दो दा भिन्चीले एउटा ‘मोनालिसा’ चित्र बनाए । संसार कलाको सर्वोच्च नमुना भन्दै सयौँ वर्ष कराइरहेछ । शाहजहाँले पत्नी मुमताजको सम्झना गाढा राख्न ताज महल बनाए । प्रेमको अत्यूत्तम नमुना भनेर थाकेको छैन विश्व । बेबिलोनको झुल्ने बगैँचा, इजिप्टको पिरामिड, चीनको विशाल पर्खाल, चन्द्रमा र मङ्गल ग्रहको आतेजाते यस्तै यस्तैमा फुर्किदै बालन गाइरहेछन् विश्वका बन्धुहरू । आफैँले गरेको काम मात्र सर्वश्रेष्ठ भनेर थाक्दैन मान्छे । रुप्से एउटा झरनामा अनगिन्ती कलाकृतिहरू छन्, असङ्ख्य गीत र सङ्गीतहरू छन्, अथाह सिर्जनाका स्रोतहरू छन्, त्यहाँ हराएका अनुहारहरू भेटिन्छन्, नभेटिएकाहरू देखिन्छन् । संसारका सबै स्रष्टाहरूले जीवनभर रुप्से हेर्दै सिर्जना गरिरहे पनि सकिने छैन, संसारका सबै मान्छेहरूले हेर्दा पनि क्षण क्षणमा फरक पाउँछन् रुप्सेलाई । सृष्टिको अनन्तसम्म जसले जे चाह्यो त्यही हो रुप्से । म मेरी रुप्सेलाई पनि त्यस्तै पाइरहेछु । उनको सामु जीवनभर जति सिर्जना गरे पनि थाक्ने छैन म । उनको एक मुस्कानको उज्यालाले संसार चम्काउने सिर्जना गर्न तम्सन्छु म ।

हामीले रुप्सेसँगै टाँसिएर तरह तरहका तस्बिर खिच्यौँ । समयको स्यानो टुक्राको आकृति मात्र ओगट्न सफल भयौँ अञ्जुलीमा । कुनै पनि फोटोग्राफरले कहिल्यै खिची सक्तैन रुप्सेको सर्वाङ्ग तस्बिर ।

‘हजुर त हराउनुभयो नि रुप्सेमै, भो जाऔँ अब, सधैँ रुप्सेमै हराएर कहाँ सुख पाइन्छ र ?— रुप्सेकै बोली सुनेपछि रुप्सेबाट अलग्गिएँ म । रुप्से छहरा बग्ने एउटा खोँचमाथि एउटा काठ तेस्याईएको रहेछ । हामीले त्यही काठमाथिबाट रुप्से त¥यौँ र पारिपट्टि गयौँ ।

धेरै भारतीय पर्यटकहरू रुप्सेका शाखा सन्तानमा नुहाउँदैछन् । अलि माथितिर केही गोरा गोरी नाङ्गै माडामाड गरिरहेछन् । सिङ्गो साक्षी झरना मात्र छ त्यहाँ ।

‘कस्ता लाज नभएका मोरामोरीहरू’— मभन्दा अघिल्तिर हिँडेका एक दाइले प्वाक्क बोले ।

‘छोड्दिनुस्, नाङ्गै जन्मेको मान्छेले नुहाउँदा किन लगाओस् वस्त्र । बरु सकिन्छ भने एउटा ठुलो पेन्टी लगाइदिऔँ रुप्सेलाई, हुन्छ ?

‘त्यो त कसरी हुन्छ ?’— दाइ जङ्गिनुभयो ।

‘नाङ्गो रुप्सेमा नाङ्गै नुहाए त मान्छेहरूले के बिग्रियो त ?’— हामी पछाडि आइरहेका भाइले प्वाक्क बोले । हाम्रो हाँसो रुप्सेकै आवाजमा मिसियो ।

‘विश्वकै गहिरो अन्धगल्छी दाना गा.वि.स. २, म्याग्दी’ लेखिएको एउटा प्रवेशद्वार भेटियो अलिक तलतिर । संसारकै विशेष महत्त्व राख्ने त्यस्तो ठाउँ नहेर्ने कुरै भएन । हामी लुरुलुरु तलतिर झ¥यौँ । करिब दुई सय मिटर ओर्लेपछि गल्छी हेर्ने दृश्यस्थल बनाइएको रहेछ । माथितिर चारैतिर अग्ला अग्ला सुलुत्त परेका पहाडहरू छन् । तिनै पहाडहरू काट्दै काट्दै एउटा खोँचबाट कुलुलु बगिरहेछ कालीगण्डकी । अग्ला हिमालहरू, निला पहाडहरू, गहिरा खोँचहरू सबै सबैले गाइरहे झैँ लाग्छ जीवन गीत ।

डाँडा नै डाँडाका फेदमा वरिपरि झ्याम्म परेका बैँसका रुखहरू छन्, उत्तिस चलमलाइरहेछन्, शिरीष सल्बलाइरहेछन् । बिचमा वेगसँग बगिरहेछ कालीगण्डकी । खोँचमा उभिएर पहाडका चुचुराहरू नियाल्न खोजेँ । ती त टोपी खस्ने उचाइमा अग्लिरहेका रहेछन् । पहाडका कयौँ चुचुराहरूलाई सुमसुम्याइरहेथे बादलु भुल्काहरूले । नेपालकै होचो भाग केचना कलनाबाट हेर्दा जीवनलाई धेरै माथि माथिसम्म चढाउन पर्ने पाएथेँ मैले । रल्लिङ, चङ्खेली, लामटाङ, ताप्लेजुङ, गोकुलेश्वर, स्वर्गद्वारी, दिक्तेलका डाँडाहरूमा उभिँदा जिन्दगीका शृङ्खलाहरूमा अनेकौँ रङ्गहरू मिसिएको भेटेथेँ । विश्वकै गहिरो अन्धगल्छीमा उभिँदा जीवनले धेरै उचाइहरू खोज्नुपर्ने र उचाइका सतहहरू पहिल्याउनुपर्ने निष्कर्षमा पुगेँ म ।

अन्धगल्छी उज्यालाको सुरुवात हो, निर्माणको जग हो, र हो आविष्कारको मूल ढोका । यही सिकायो मलाई अन्धगल्छीले ।

माथिल्लो मुस्ताङ पुग्ने लक्ष्यमा अघि बढिरहेछौँ हामी ।

‘ट्वाँ … ट्वाँ …. बेस्सरी हर्न बज्यो अन्धगल्छीको करिब एक किलोमिटर माथितिर । त्यहाँबाट घासासम्म फेरि अर्को गाडीमा गुड्नुपर्ने बाध्यता छ । त्यो गाडी छुट्यो भने अरू गाडी पाइने रहेनछ त्यो दिन । बेनीबाट गएका यात्रुहरूलाई बोक्न नै बसेको हुँदो रहेछ त्यो गाडी । आँधीले उडाएको पत्कर जसरी हुत्तिदै बस स्टपमा पुग्यौँ हामी । बस स्टप के भन्नू, न एउटाभन्दा बढी गाडी छ, न गाडी राम्ररी मोड्न मिल्ने चौडिलो नै ।

दमले थला परेको पिलन्धरे बुढो झैँ ठिङ्रिङ्ग उभिएको थियो एउटा बस । बेनीबाट आएका तिन मोस्टाङ गाडीका यात्रुहरू र स्थानीय यात्रुहरूले गोलामा माहुरी झुम्मिए झैँ गरिरहेथे । हामी पुगेपछि बल्ल बसको ढोका खोले कन्डक्टरले । अब ठेलाठेल सुरु भयो, पेलापेल सुरु भयो, कोही थिचिएँ, लौ न बाबा म मरेँ भनेर चिच्याउन थाले । कोही झ्याल झ्यालबाट छिर्न थाले । त्यहाँ एउटा युद्ध जित्ने चटारोजस्तो देखिन्थ्यो, अथवा एउटा भिडमा ठुलो सन्त्रास देखा परेपछि सुरक्षित स्थानमा टाउको जोगाउन हुर्दुरिएका मान्छेहरूको गतिजस्तो देखिन्थ्यो । मेरो गर्दन मर्कियो, मेरो खुट्टामा चोट लाग्यो, मेरो कम्मर सड्कियो, मेरो पिठ्युँबाट रगत बग्यो भन्नेहरू त धेरै थिए । एउटी बहिनीको ब्लाउज नै च्यातिएछ, धन्न फरियाले लाज ढाकिन् बरा, लेतेका एक दाइको सर्ट नै धुजा धुजा भएछ, घासाका अर्का नेपाली भाइको पाइन्ट नै उध्रेछ घुँडादेखि तलतिर । हेर्दा युद्धको झल्को लाग्यो । हामीले त्यहाँ पस्न सक्ने आँट नै गरेनौँ । सबै छिरेपछि बल्लतल्ल ढोकाबाट छिरेका थियौँ । ‘दाइहरू यता आउनुहोस्’ बेनीदेखिका हाम्रा सहयात्री भाइहरूले आपूmले ओगटेको सिट दिए बरा । ज्यान नै जोखिम पारेर पाएको त्यस्तो सिटमा बस्न हामीले मानेनौँ । नबसी धरै दिएनन् उनीहरूले । मन र मुख दुवैले असीम धन्यवाद दियौँ र बस्यौँ सिटमा । हाम्रा काखमा, पिठ्युँमा, हातमा जताततै कसका हुन् कसका पोका पुन्तुरा विराजमान भए । पोकाको भार र बसको जीर्णता देखेर बरु पैदल नै हिँड्नु बेस हुन्थ्यो कि भन्ने तर्क पनि निकाल्यौँ आपूm आपूmमा ।

‘म त दमाई’ हुँ, कम से कम दलितका लागि त सिट मिल्नुप¥यो नि’— एक जुँगामुठे भाइले केहीबेर घम्साघम्सी गरे कन्डक्टरसँग । ‘ख्वै ? यो बसको सिटमा दलित र बाहुन क्षेत्री भनेर त छुट्याएको छैन ।’ ‘तपाईं पुलिसबाट लेखाएर ल्याउनूस् अनि दिउँला सिट ।’ कन्डक्टर पनि के कम । मुर्मुरिँदै उभिइरहे ती भाइ ।

भिरमा हिँडेको ऊँट झैँ ढल्पलाउन थाल्यो बस । ‘गाँठी न गुठी एकैचोटि भुटी’ को गत हुने हो कि भन्ने आशङ्काले बेस्सरी चल्न थाल्यो मुटुको वेग । ढुङ्गा माटाको बैरालामाथि ढल्पलिँदै घस्रिँदैछ बस । ‘ड्राइभर दाइ मन प¥यो मलाई’ बोलको गीत फुल भोलममा बजाए गुरुजीले । कानको जाली फुट्ला जस्तो भो । थिचिएर दिसा निस्केला जस्तो भइरहेछ । उभिनेहरू चाहिँ चेट भएर तारमा अल्झेको चङ्गाजस्तो हल्लन झुल्लन भइरहेछन् ।

डरलाग्दो सडक, डरलाग्दो गाडी र डरलाग्दो गतिमा हामी अघि बढिरहेछौँ । भिरबाट खस्न ठिक्क परेको घ्याम्पो जस्तो बनिरहेछ जिन्दगी । हाम्रो अघिल्तिर उभिएकी एक महिलाले थाम्न सकिनन् । अर्को पुरुषको पिठ्युँभरि वाकिदिइन् । ‘अर्काको पिठ्युँमा त खन्याउन नहुने नि’— ती पुरुष जङ्गिए । न तिनले आफ्नो आङको धरो फेर्न सके न धुन पानी नै । रोबोटले हाँकेको जस्तो छ गाडी । त्यहाँ सुन्नेवाला कोही थिएन । केहीबेरपछि तिनै पुरुषको मुखबाट अवतरण हुन थाल्यो चाउचाउ, चटपटे, पापड र सागको गन्हाउने लेदो । बसभित्र एकले बान्ता सुरु गरेपछि अरू यात्रु पनि त्यो अभियानमा सामेल हुन्छन् । त्यसपछि तिन नम्बर, सात नम्बर, सोह्र नम्बर सिटका र उभिएका दुई पुरुष र तिन महिला पनि आफ्नो पेट सफा गर्न थाले मुखबाट । बस अब गन्धे गुफा बन्यो, छादको उग्रगन्धले अरू यात्रु ठिकठाक पर्न थाले, त्यही अभियानमा ।

‘यस्तो बस चलाउनुभन्दा त नचलाएको बेस्’— लेतेकी लालीमायाले प्वाक्क के बोलेकी थिइन्, कन्डक्टरको बोली गोली बनेर बर्सिइहाल्यो— ‘किन चढेकी थियौ त ? नचढी हुँदैन भनेर बाटो छेक्न गएका होइनौँ क्यार । ओर्लने भए अहिल्यै ओर्ले हुन्छ रोकौँ गाडी ?’ उनको धम्कीलाई लालीमायाले प्रतिवाद गर्न सकिनन् बिचरा । अरू कसैले पनि बोलिदिएनन् ।

‘ए भाइ त्यसरी यात्रुलाई नझम्ट न । बस गुडाउने, यात्रु चढाउने र यात्रुसँग व्यवहार गर्ने पनि नियमहरू छन्, तिनको पनि ख्याल गर्नुप¥यो’— सम्झाउन बोल्नुभयो, मसँगैका मित्रले ।

‘ती तिम्रा नियम तिमी नै लैजाऊ । यो काठमाडौँ होइन, बसको नियम मान्न । खच्चरको ढाड नभेट्नेले बस चढ्न पाएको छ, अझ नियम कानुनको कुरा गर्छ’— सर्पको मुखले भ्यागुतो भेटेजस्तो गरे कन्डक्टरले । त्यसपछि उनको प्रतिवाद गर्ने कुरै भएन ।

‘भर्खर दुई तिन वर्ष भयो, यहाँ सडक नामको बाटो बनेको । दुई चार ओटा गाडीका बल्छी थापेर धेरै माछा मारिरहेछन् यो यातायात व्यवसायी सङ्घमा घुस्ने मान्छेहरूले’— मेरो दायाँपट्टि उभिने भाइ बिस्तारै फुस्फुसाए ।

यसरी यात्रा गर्नुभन्दा त नहिँडेकै बेस् । नआएको काल पनि किन बोलाउँदै हिँडेका होऔँ हामी ?’ एक्लेभट्टीको रेस्टुरेन्टमा काम गर्ने पाल्पाका एक भाइले कुरा कोट्याए । ‘जिन्दगी भनेकै यही हो भाइ अप्ठेरो भन्ने जान्दाजान्दै, नहिँडी सुखै छैन । कठिनाइहरूमा जीवनका मोहक धुनहरू छर्न सक्यौं भने पो भेटिन्छ नौलोपन र गतिको स्वादिष्ट व्यञ्जन । पहाडहरू हेर्न, हिँड्न र चढ्न सबैमा गाह्रो हुन्छ, तर, त्यसबाट प्राप्त हुने आनन्दलाई कहाँ सकिन्छ र मूल्यले खरिद गर्न ।’ मैले सम्झाएँ भाइलाई ।

‘ऐया नि ! बाबा, मरेँ नि !’— आँसु निकाल्दै ढाड सुमसुम्याउन थाले भाइले । माथिपट्टि झुन्ड्याएको झोलाबाट खसेको लोहोराले झन्डै पुगेनन् भाइ मृत्युको मुखमा । धन्न टाउकामा बज्रिएन र पो ।

बसले उचाइ लिँदै थियो । बाहिरपट्टि बतासले बेस्सरी नाचिरहेछन् खस्रु, उत्तिस र धूपीहरू । हावाभरि घुलिएको कुहिरामा घामका किरणहरू टाँसिँदा भुरर्र पँखेटा फिँजाउन आँटेको चरा जस्तै बनिरहेछ मन ।

संसारकै सुन्दर झरनाहरूमध्ये एक मानिन्छ रुप्सेलाई । विश्वकै गहिरो अन्धगल्छी छ यही कालीगण्डकी किनारमा । विश्वका कयौँ मान्छेहरू प्रकृतिको तिनै अनुपमतालाई स्पर्श गर्न लालायित छन् कति कति । हामीले भने न सुगम सडक बनाएका छौँ तिनीहरूलाई भेट्न । न बल्ल तल्ल चल्ने एकाध बसलाई पनि सजाउन सकेका छौँ सुरक्षाका घेरामा । यातना शिविरमा सुम्पे जसरी कहाँ चाख्छ र कसैले पनि पर्यटनको मजा ? यात्रुलाई धम्क्याएर, अत्याएर र लुटेर कमाउने संस्कार बचेसम्म दिँदैनन् हामीलाई रुप्से र अन्धगल्छीहरूले हाम्रै उचाइ बढ्ने अर्थपूर्ण अर्थ ।

‘लौ गयो गयो,’ मसँगैका मित्र र मेरो हंसले ठाउँ छोड्यो तर खस्न पाएन बस । छेउकै एउटा ढुङ्गाले छेकेर बच्यो बस । नत्र स्यानो त्यान्द्रो हावाले अल्झिएको जिन्दगी फुस्स जान बेर थिएन ।

बसले बल्ड्याङ खान थाले पनि, बसभित्र अरिङ्गालले चिलबिल चिले पनि हामीले भने परवाह गरेनौँ कुनै पीडाको । ‘जस्तो जात्रा त्यस्तै मात्रा’ नबन्ने हो भने यात्रा गर्नुको पनि के औचित्य ? फेरि हामीभित्र त पलाएको थियो बेग्लै प्रेमिल धुन । जुन— रुप्से, अन्धगल्छी र अग्ला अग्ला अघोर पहाड र प्रकृतिसँग घुलमिल गराउन चाहन्थ्यौँ हामी । मनमा प्रेमिल धुनको सारङ्गी रेटिएसम्म र मनमनै मुस्कुराएसम्म रोक्न सक्ता रहेनछन् कुनै उल्झन् बाल्झन्हरूले । बरु मैले उदित नारायण झाको स्वर सापट लिएर पर परका डाँडाहरूलाई सुनाइदिएँ— ‘तिमी सुन्दर छ्यौ तिमीलाई अझ सुन्दर पार्न मन लाग्यो, त्यो इन्द्रेणी सिउँदोमा सिन्दूर भर्न मन लाग्यो…’ एउटा बच्चा बेस्सरी चिच्याएको आवाज फैलियो । बसमा चढेका यात्रुहरू करिब करिब बेहोस जस्तै बन्यौँ । भित्तापट्टि ढुङ्गामा पल्टेछ बस । फुटेको सिसाले काटेछ बच्चाको पाखुरा । भल बग्न थाल्यो रगतको । आमा र बच्चा दुवै कोकोहोलो हालेर रुँदैछन् ।

‘एउटा जाबो बच्चा राम्रोसँग समाउन नसक्नेले के आमा हुनु ?’ अझै कर्कश आवाजमा कुर्लिरहन्छन् कन्डक्टर ।

‘रगतको ज्यूँदो रङको यत्रो अवमूल्यन’— बेचैन बनेँ म ।

– घासा, म्याग्दी

२०७१ असार १५ गते, आईतबार

लेखक तथा साहित्यकार दामोदर पुडासैनी वरिष्ठ साहित्यकार तथा उपहार खबर डट कमका सल्लाहकार पनि हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्