‘जेल भरो’ आन्दोलन गर्ने कक्रोच जनता पार्टीको घोषणा, अक्टोबर २ देखि प्रदर्शन

काठमाडौँ – भारतको कक्रोच जनता पार्टी (सीजेपी) ले आगामी अक्टोबर २ देखि ‘जेल भरो’ आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । पार्टीका संस्थापक अभिजित दीपकेले नयाँ आन्दोलनबारे घोषणा गर्दै अक्टोबर २ मा मुम्बईस्थित शिवाजी पार्कमा प्रदर्शन गर्ने जानकारी दिएका छन् । दीपकेले सामाजिक सञ्जाल ‘एक्स’मार्फत पोस्टर सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका हुन् । उनले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसमेत दोहोर्‍याएका छन् । प्रमुख निर्वाचन आयुक्तले पदबाट राजीनामा नदिए अक्टोबर २ देखि आन्दोलन सुरु गर्ने चेतावनी सीजेपीले यसअघि नै दिएको थियो ।

सीजेपीले मुम्बईमा विरोध प्रदर्शनका लागि अनुमति भने प्राप्त नगरेको जनाएको छ । प्रदर्शनको अनुमति नदिएको विषयमा प्रतिक्रिया दिँदै दीपकेले नागरिकको आवाज दबाउने प्रयास स्वीकार्य नहुने बताएका छन् । कक्रोच जनता पार्टीले लामो समयदेखि निर्वाचन आयोगको काम–कारबाहीमाथि प्रश्न उठाउँदै आएको छ । विशेषगरी मतदाता नामावलीसम्बन्धी निर्णय तथा मतदाता नामावलीको विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रियालाई लिएर आयोगमाथि विवाद भइरहेका बेला सीजेपीले आन्दोलन घोषणा गरेको हो ।

यद्यपि निर्वाचन आयोगले आफ्नो काम–कारबाहीमा कुनै अवरोध नरहेको बताउँदै आएको छ । आयोग र सीजेपीबीचका मतदाता नामावली तथा एसआईआरसम्बन्धी विषयमा विवाद कायम रहेका बेला अक्टोबर २ देखि घोषित आन्दोलन कसरी अघि बढ्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्