मनाङ । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी हराइरहेकामध्ये थप दुई जनाको शव भेटिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए) का अनुसार बुधबार दुई जनाको शव फेला परेकोमा बिहीबार थप दुई जनाको शव भेटिएको हो।
यससँगै हिम्लुङ हिमालको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। एनएनएमजीएका अनुसार यसअघि छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। आज खोज तथा उद्धारका क्रममा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव पनि भेटिएको हो।
हिमपहिरोमा परी अझै १२ जना सम्पर्कविहीन रहेको एनएनएमजीएले जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि एनएनएमजीएको टोलीले हिमपहिरो प्रभावित क्षेत्रमा निरन्तर अभियान सञ्चालन गरिरहेको छ।
एनएनएमजीएका अध्यक्ष तुलसिंह गुरुङका अनुसार खोज तथा उद्धार टोलीले प्रतिकूल भौगोलिक अवस्था र जोखिमका बीच पनि खोजी कार्यलाई निरन्तरता दिएको छ। हिमपहिरो गएको क्षेत्रमा अझै जोखिम रहेकाले उद्धार टोलीले सावधानीपूर्वक खोजी गरिरहेको उनले जानकारी दिनुभयो।
हराइरहेका व्यक्तिहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त नभएकाले खोजी अभियानलाई थप प्रभावकारी बनाइएको एनएनएमजीएले जनाएको छ। शव भेटिएसँगै मृतकको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाउने प्रक्रिया अघि बढाइने जनाइएको छ।
हिम्लुङ हिमालमा भएको यस घटनापछि पर्वतीय क्षेत्रमा हुने आरोहण तथा पदयात्राका क्रममा मौसम र हिमपहिरोको जोखिमलाई विशेष ध्यान दिनुपर्ने देखिएको छ। खोज तथा उद्धार टोलीले हराइरहेका व्यक्तिहरूको खोजीलाई प्राथमिकतामा राख्दै अभियान जारी राखेको छ।




