काठमाडौँ – मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएका १४ नेपाली उच्च हिमाली कामदार तथा गाइडको खोजी तथा उद्धारका लागि १४ सदस्यीय टोली परिचालन गरिएको छ । हिमपहिरोपछि आइतबार बिहानदेखि उनीहरू सम्पर्कविहीन भएको जानकारी आएपछि उच्च हिमाली क्षेत्रमा खोजी तथा उद्धारको अनुभव भएका गाइड तथा कामदार सम्मिलित टोली परिचालन गरिएको हो ।
इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसनका सञ्चालक तथा अन्तर्राष्ट्रिय गाइड मिङ्मा जी शेर्पाको नेतृत्वमा टोलीले हिमलुङ आधारशिविरबाट खोजी अभियान अघि बढाइरहेको छ । खोजी टोली आइतबार काठमाडौंँबाट हेलिकप्टरमार्फत हिमलुङ आधारशिविरतर्फ गएको थियो । मौसम तथा हिमाली भूगोलका कारण अभियान चुनौतीपूर्ण रहेकाले सम्भावित स्थानहरूमा सावधानीपूर्वक खोजी भइरहेको जनाइएको छ ।
उद्धार टोलीलाई सोमबार बिहान हेलिकप्टरमार्फत हिमलुङ आधारशिविर पुर्याइएको प्रभु हेलिकप्टरका वरिष्ठ क्याप्टेन पासाङ नोर्बु शेर्पाले जानकारी दिए । उनका अनुसार टोली आधारशिविर पुगेपछि बेपत्ता कामदार तथा गाइडको खोजी सुरु गरिएको हो । काठमाडौंँबाट गएको टोलीका केही सदस्य आइतबार साँझ आधारशिविरबाट फर्किएर मनाङको फु गाउँमा बसेका थिए भने सोमबार बिहान पुनः उद्धार अभियानमा परिचालित भएका हुन् ।
यसैबीच हिमपहिरोमा परी मृत्यु भएका दुई जनाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ । कैलाश हेलिकप्टरले चामे अस्पतालमा राखिएका दुवै शव सोमबार बिहान हेलिकप्टरमार्फत काठमाडौं ल्याउँदै गरेको क्याप्टेन शेर्पाले बताए । शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै शिक्षण अस्पतालमा ल्याइने जनाइएको छ ।
आगामी शरद् ऋतुको हिमाल आरोहण अभियानको तयारीका लागि हिमालयन होलिडेज र इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसनका दुई दर्जनभन्दा बढी नेपाली उच्च हिमाली कामदार तथा गाइड करिब दुई साताअघि हिमलुङतर्फ गएका थिए । उनीहरू आरोहण मार्ग निर्माण तथा आधारशिविरको तयारीमा खटिएका थिए । सोही क्रममा हिमलुङ क्षेत्रमा हिमपहिरो गएपछि उनीहरूमध्ये १४ जना सम्पर्कविहीन भएको जानकारी आएको हो ।
हिमपहिरोपछि बेपत्ता भएकाहरूको अवस्थाबारे जानकारी लिन तथा सम्भावित स्थानमा खोजी गर्न उच्च हिमाली क्षेत्रमा काम गर्ने अनुभवी गाइड तथा कामदारलाई परिचालन गरिएको छ । हाल १४ सदस्यीय टोलीले आधारशिविरबाट खोजी अभियान अघि बढाइरहेको छ । हिमाली क्षेत्रमा प्रतिकूल मौसम, हिमपहिरोको जोखिम र कठिन भौगोलिक अवस्थाका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ ।




