कञ्चनपुर । दार्चुलाका श्री शैल्यशिखर महाराज, मालिकार्जुन, लटिनाथ, गलैनाथ, हुनैनाथ, वालिचन स्वामी तथा पितृहरूको अनुकम्पा र आशीर्वादको कामनासहित गलैनाथ स्वामीको पुण्यभूमिमा सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ। शैल्यशिखर नगरपालिका-८, झरकडा वुङ्गामाई स्थायी घर भई हाल शुक्लाफाँटा नगरपालिका-५, गर्जामुनि बस्दै आउनुभएका यज्ञ उपस्थित ज्योतिष नन्दराज जोशी तथा शैल्यशिखर नगरपालिका-८ झरकडा वुङ्गाका हरिदेव जोशीको आयोजनामा भाद्र १ गतेदेखि सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेको हो।
स्वर्गीय जयानन्द जोशीका पनाति, स्वर्गीय मनिराज जोशीका नाति तथा स्वर्गीय प्रेमानन्द जोशी, स्वर्गीय धर्मानन्द जोशी र स्वर्गीय हरिकृष्ण जोशीका छोराका रूपमा रहेका नन्दराज जोशीको सहभागिता तथा आयोजनामा महायज्ञ सञ्चालन भइरहेको आयोजकले जनाएको छ। महायज्ञमा शैल्यशिखर नगरपालिका-९, नायल निवासी कथा वाचक व्यास श्री गणेशदत्त विष्ट शास्त्री तथा उपव्यास बुद्धिवल्लव विष्टको मुखारविन्दबाट धार्मिक कथा, प्रवचन तथा आध्यात्मिक ज्ञान प्रदान भइरहेको रिखि परिवारका सदस्य तथा समाजसेवी प्रेमवल्लव जोशीले जानकारी दिए।
भाद्र १ गतेदेखि सुरु भएको सप्ताह ज्ञान महायज्ञ भाद्र ७ गते विधिवत् रूपमा समापन हुनेछ। महायज्ञमा धार्मिक कथा श्रवण, प्रवचन तथा प्रसाद ग्रहणका लागि इष्टमित्र, बन्धुबान्धव तथा सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित हुन आयोजकले हार्दिक आमन्त्रण गरेका छन्। महायज्ञ यज्ञ उपस्थित नन्दराज जोशी, हरिदेव जोशी तथा सम्पूर्ण रिखिराठ अठोला जोशी परिवार, शैल्यशिखर नगरपालिका-८, झरकडा वुङ्गाको आयोजनामा भइरहेको हो।



