काठमाडौँ – सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनावको प्रभावपछि सप्तरीमा गत साउन १४ गते रातिदेखि जारी कर्फ्यु अझै कायम रहेको छ। यद्यपि जिल्ला प्रशासन कार्यालय सप्तरीले सर्वसाधारणको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म चार घण्टाका लागि कर्फ्यु खुकुलो पारेको छ। प्रशासनले उक्त अवधिमा दूध, तरकारी, खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिद-बिक्री गर्न अनुमति दिएको छ। तोकिएको समय सकिएपछि भने कर्फ्युको पूर्ण रूपमा पालना गर्न तथा शान्तिसुरक्षा कायम राख्न सबैसँग आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार कर्फ्यु खुकुलो पारिएको समयमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुने, हुलदंगा गर्ने वा अशान्ति फैलाउने उद्देश्यले कुनै पनि गतिविधि गरे कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।
सुनसरीको देवानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावका कारण सप्तरीका विभिन्न क्षेत्रमा गत साउन १४ गतेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। प्रशासनले जिल्लाको सुरक्षा अवस्थालाई निरन्तर अनुगमन गर्दै परिस्थितिअनुसार थप निर्णय गरिने जनाएको छ।



