एक सातापछि सुनसरीको देवानगञ्ज लगायत मधेसका अधिकांश जिल्लामा जनजीवन सामान्य बन्दै

काठमाडौं । सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जबाट आइतबार सुरु भएको धार्मिक तनावको एक सातापछि प्रभावित क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। सुनसरीसहित मधेस प्रदेशका अधिकांश जिल्लामा शान्ति कायम हुँदै गएको भए पनि सुरक्षा सतर्कता भने अझै कायम राखिएको छ। लगातार पाँच दिनसम्म कर्फ्यू, प्रदर्शन र तनाव व्यहोरेको कप्तानगञ्ज गाउँ शनिबारदेखि तुलनात्मक रूपमा शान्त रहेको स्थानीयले बताएका छन्। यद्यपि गाउँमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको परिचालन जारी रहेकाले स्थानीयवासी अझै पूर्ण रूपमा निर्धक्क भएर आवतजावत गर्न सक्ने अवस्थामा छैनन्।

स्थानीयका अनुसार दुई समुदायबीच औपचारिक संवाद अझै सुरु नभएकाले गाउँ पुरानै लयमा फर्किन केही समय लाग्ने देखिएको छ। देवानगञ्जमा भएको घटनामा गोली लागेर देवानगञ्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको पनि निधन भएको थियो। घटनामा घाइते भएका केहीको विराटनगर र काठमाडौंका अस्पतालमा उपचार भइरहेको छ।

देवानगञ्जबाट सुरु भएको तनाव सप्तकोशी पार गर्दै मधेसका विभिन्न जिल्लासम्म फैलिएको थियो। सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा १५ वर्षीय गणेश यादवको मृत्यु भएपछि अवस्था थप संवेदनशील बनेको थियो। पछि गृहमन्त्रीसँग मृतक परिवारको सहमति भएपछि परिवारले शव बुझिसकेको छ। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार शान्ति स्थापनाका लागि सर्वदलीय बैठक, सद्भाव र्‍याली तथा स्थानीयस्तरका संवाद कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन्। शनिबार अधिकांश जिल्लाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

सप्तरी, धनुषालगायत जिल्लामा सद्भाव र्‍याली तथा सर्वदलीय बैठक सम्पन्न भएका छन् भने पर्सामा प्रदर्शनका क्रममा केही व्यक्तिलाई नियन्त्रणमा लिएर परिवारको जिम्मा लगाइएको छ। प्रहरीका अनुसार सिरहाको गोलबजार क्षेत्रबाहेक अन्य स्थानको कर्फ्यू हटाइएको छ। धनुषामा निषेधाज्ञा भने अझै कायम छ। साथै, लामो दूरीका सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा आइसकेका छन् भने मुख्य राजमार्गहरूमा आवागमन पनि सामान्य बन्दै गएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्