काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी महाधिवेशनको तयारी र पार्टीभित्रको संगठनात्मक सुदृढीकरणलाई लक्षित गर्दै गतिविधि तीव्र बनाएको छ। राष्ट्रिय भेलाको तयारीस्वरूप समूहले ५५१ सदस्यीय मूल आयोजक समितिसहित १६ वटा विभिन्न समिति गठन गरेको छ।
शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेलाको तयारीका लागि मूल आयोजक समितिसहित विभिन्न विषयगत समिति गठन गरिएको जानकारी दिए। उनका अनुसार ती समितिले भेला व्यवस्थापनदेखि राजनीतिक, संगठनात्मक, आर्थिक तथा नीतिगत तयारीसम्मका जिम्मेवारी सम्हाल्नेछन्।
इतर समूहले गठन गरेको मूल आयोजक समितिमा १४औँ महाधिवेशनबाट निर्वाचित तथा मनोनीत पदाधिकारी, केन्द्रीय सदस्य, पूर्वपदाधिकारी, प्रदेश तथा जिल्ला कार्यसमितिका पदाधिकारी, संघीय र प्रदेश सांसद, पूर्वमन्त्री, पूर्वसांसद तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरूलाई समेटिएको छ। समूहका एक पूर्वपदाधिकारीले व्यापक प्रतिनिधित्वसहित समिति गठन गरेर पार्टीभित्र आफ्नो संगठनात्मक आधार बलियो रहेको सन्देश दिन खोजिएको बताए।
राष्ट्रिय भेलालाई लक्षित गर्दै राजनीतिक प्रस्ताव, समसामयिक राजनीतिक प्रस्ताव, संगठनात्मक प्रस्ताव, विधान संशोधन मस्यौदा तथा आर्थिक नीति तयारी समितिलगायत विषयगत समिति पनि गठन गरिएको छ। यसले भेला केवल औपचारिक कार्यक्रममा सीमित नरही आगामी महाधिवेशनका एजेन्डा, संगठनात्मक दिशा र नीतिगत बहसमा केन्द्रित हुने संकेत गरेको छ।
इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। पत्रकार सम्मेलनमा कोइरालाले मुलुकको राजनीतिक अस्थिरता र पार्टीभित्र देखिएका चुनौतीलाई सम्बोधन गर्न २९ देखि ३१ साउनसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिएको बताए। उनले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ दिशा दिन तथा राष्ट्रिय मुद्दामा स्पष्ट धारणा बनाउन भेला महत्वपूर्ण हुने धारणा राखे।
कोइरालाले विगतका राजनीतिक घटनाक्रम र पार्टीभित्र बढेको मतभेदका कारण कांग्रेसले अपेक्षित परिणाम हासिल गर्न नसकेको उल्लेख गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र पार्टी एकतालाई सुदृढ बनाउन नेतृत्व जिम्मेवार बन्नुपर्ने बताए।
पत्रकार सम्मेलनमा अधिकांश इतर समूहका नेताहरू उपस्थित भए पनि १४औँ महाधिवेशनमा सभापतिका प्रत्याशी बनेका डा. शेखर कोइराला अनुपस्थित थिए। यसबारे सञ्चारकर्मीको जिज्ञासामा डा. शशांक कोइरालाले व्यस्तताका कारण उपस्थित हुन नसके पनि डा. शेखरको अभियानप्रति पूर्ण समर्थन र ऐक्यबद्धता रहेको बताए।
यता, इतर समूहका नेता एनपी साउदले कांग्रेसका लागि एकता नै सबैभन्दा ठूलो आवश्यकता भएको उल्लेख गर्दै नेतृत्वले सबै पक्षलाई उदारतापूर्वक समेट्नुपर्ने धारणा व्यक्त गरे। उनले पार्टी बलियो बनाउन संवाद, सहकार्य र एकताको विकल्प नरहेको बताए।
कांग्रेसको संस्थापन इतर समूहले ४४औँ बीपी स्मृति दिवसको अवसर पारेर ६ साउनमा राष्ट्रिय भेलाको घोषणा गरेको थियो। यद्यपि, उक्त भेलालाई लिएर पार्टी विभाजनको आशंका व्यक्त भइरहे पनि कांग्रेसका दुवै पक्षका नेताहरूले पार्टी विभाजन नहुने दाबी गर्दै आएका छन्।



