काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहेका बेला प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नेतृत्व र शक्ति बाँडफाँडको विषयमा आन्तरिक विवाद चर्किएको छ। तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणपछि बनेको नेकपामा मुख्यमन्त्रीको दाबीलाई लिएर शक्ति संघर्ष सतहमा आएको हो।
एमाले र नेकपाबीच भएको राजनीतिक सहमतिअनुसार अब बन्ने प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने तय भएको छ। सोही सहमतिअनुसार संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने लगभग निश्चित मानिए पनि उनलाई रोक्न पार्टीभित्रै मानबहादुर धामी पक्ष सक्रिय भएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार केही दिनअघि धामी पक्षले बहुमत जुटाएर भट्टलाई संसदीय दलको नेताबाट हटाउने प्रयास गरेको थियो। यसका लागि साविक नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीका सांसदसँग पनि समर्थन मागिएको थियो। तर उनीहरूको साथ नपाएपछि उक्त प्रयास तत्कालका लागि रोकिएको बताइएको छ।
साविक नाउपाका एक सांसदका अनुसार धामी पक्षले हस्ताक्षरका लागि प्रस्ताव गरे पनि आफूहरूले त्यसमा सहमति नजनाएपछि प्रक्रिया अघि बढ्न सकेन। साविक एकीकृत समाजवादीका सांसदहरूसँग पनि छलफल भए पनि अपेक्षित समर्थन नपाएपछि दल नेता परिवर्तनको प्रयास रोकिएको स्रोतको दाबी छ।
यसअघि २०८० माघ १२ गते तत्कालीन माओवादी केन्द्रभित्र भएको शक्ति संघर्षमा खगराज भट्ट दल नेताबाट हटेका थिए भने मानबहादुर धामी दल नेता बनेका थिए। पछि तीन दल एकीकरण भएर नेकपा बनेपछि भने भट्ट पुनः संसदीय दलको नेता बनेका थिए।
दल नेता परिवर्तनको सम्भावना कमजोर देखिएपछि अहिले मन्त्री पदको भागबण्डालाई लिएर आन्तरिक दौडधुप बढेको बताइएको छ। साविक नाउपाले दुई मन्त्री र एक राज्यमन्त्रीको दाबी गरेको छ भने साविक एकीकृत समाजवादीले पनि सरकारमा सम्मानजनक सहभागिता खोजिरहेको छ। यसले नयाँ सरकार गठनअघि मन्त्रालय बाँडफाँडलाई थप पेचिलो बनाएको छ।
यता नेकपाका उपनेता प्रकाश रावलले भने पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरेका छन्। उनले शीर्ष तहमा नियमित छलफल भइरहेको र मुख्यमन्त्री कमलबहादुर शाहले मार्ग प्रशस्त गरेपछि केन्द्रको सहमतिअनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बताएका छन्।



