सिराहामा मृत्यु भएका गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौं – सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका औरही गाउँपालिका-२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति भएको छ। गृहमन्त्री सुदन गुरुङ र मृतकका परिवारबीच भएको छलफलपछि सहमति भएको हो। परिवारले अघि सारेका पाँच बुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै आठ बुँदे सहमति गरिएको गृहमन्त्री गुरुङले जानकारी दिए।

सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही अघि बढाइने, गणेश यादवलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने तथा परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइने भएको छ।

यस्तै, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराइने, गणेशको सम्झनामा स्मृति पार्क निर्माण गरिने, उनका बुबाआमाको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने र परिवारले शव बुझेर भोलि नै दाहसंस्कार गर्ने सहमति भएको छ। गृहमन्त्री गुरुङका अनुसार दाहसंस्कारका लागि आवश्यक सम्पूर्ण खर्च पनि सरकारले व्यहोर्नेछ। सरकारले सहमतिका बुँदाहरू कार्यान्वयन गर्दै पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्