काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेको छ। यसको प्रभावले लुम्बिनी प्रदेशको तराईमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमतीका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थान र पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै तराईका केही स्थानमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। महाशाखाले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही तथा तराईका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीनाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुन सक्ने स्थानका बासिन्दालाई विशेष सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।



