काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले सुनसरीको देवानगञ्जबाट सुरु भएको विवादले मधेश प्रदेशका विभिन्न क्षेत्रमा सामाजिक सद्भाव, आपसी विश्वास र शान्तिपूर्ण वातावरणमा चुनौती सिर्जना गरेको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ। प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र महासचिव आरबी कटवालद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
अध्यक्ष कृष्णप्रसाद अधिकारी तथा महासचिव आरबी कटवालद्वारा जारी विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, पारस्परिक सम्मान, सामाजिक सद्भाव र सहअस्तित्व नै राष्ट्रिय शक्ति भएको उल्लेख गरिएको छ। कुनै पनि घटना वा परिस्थितिलाई आधार बनाएर समाजमा वैमनस्य, विभाजन वा हिंसाको वातावरण सिर्जना गर्नु कसैको हितमा नहुने प्याब्सनको भनाइ छ। प्याब्सनले सम्पूर्ण नागरिकलाई शान्त, संयमित र जिम्मेवार रहँदै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकता कायम राख्न आग्रह गरेको छ। साथै, अपुष्ट सूचना, अफवाह र उत्तेजनात्मक अभिव्यक्तिबाट टाढा रही आपसी संवाद, सहिष्णुता र समझदारीका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न सबैमा अनुरोध गरेको छ।
विज्ञप्तिमार्फत प्याब्सनले घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीउपर कानुनबमोजिम कारबाही गर्न तथा प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न नेपाल सरकार, राजनीतिक दल र नागरिक समाजसँग अपिल गरेको छ। साथै, राष्ट्रको शान्ति, स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै प्याब्सनले आफ्ना मातहतका सबै समिति तथा शैक्षिक संस्थालाई स्थानीय तहमा शान्ति र सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ।




