देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौं – सुनसरीको देवानगञ्जमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमतिअनुसार नेपाल सरकारले मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ। साथै, दुवै परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ।

यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम तत्काल कारबाही अघि बढाउने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गर्ने सहमति भएको छ।

सहमतिमा मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने व्यवस्था पनि समेटिएको छ। गृह  मन्त्रालय र मृतकका परिवारबीच उक्त सहमति गएराति सम्पन्न भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्