नारायणी अस्पतालका ६५ चिकित्सकले दिए सामूहिक राजीनामा

 

वीरगन्ज । गत शनिबारदेखि उपचार सेवा ठप्प पार्दै आन्दोलनमा उत्रिएका वीरगन्जस्थित नारायणी अस्पतालका ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।

अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहका अनुसार अस्पतालमा ७० भन्दा बढी चिकित्सक कार्यरत रहेकामा ६५ जनाले सामूहिक रूपमा राजीनामा दिएका हुन्। उनीहरूले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएका छन्।

सोमबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्ताका क्रममा पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले आन्दोलनरत चिकित्सकमाथि धक्कामुक्की तथा दुर्व्यवहार गरेको आरोपपछि चिकित्सकहरू थप आक्रोशित बनेका थिए। त्यसपछि सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएको डा. सिंहले जानकारी दिए।

गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड हुनुका साथै चिकित्सक डा. प्रमोद राममाथि कुटपिट भएको थियो। घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै वीरगन्जका चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन्।

सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा आन्दोलनरत चिकित्सकहरूले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले समेत राजीनामा दिनुपर्ने माग राखेपछि विवाद थप चर्किएको थियो।

वार्ताका क्रममा चिकित्सकहरू छलफलबाट बाहिरिन थालेपछि एसपी पाठकले उनीहरूलाई धक्कामुक्की गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षतर्फ लैजान खोजेको चिकित्सकहरूको आरोप छ। त्यसक्रममा प्रहरी र चिकित्सकबीच पुनः धकेलाधकेल भएको थियो।

घटनापछि चिकित्सकहरूले वार्ता बहिष्कार गर्दै जिल्ला प्रशासन कार्यालयबाट बाहिरिएका थिए। सामूहिक राजीनामापछि नारायणी अस्पतालको नियमित उपचार सेवा थप प्रभावित हुने अवस्था सिर्जना भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्