काठमाडौं – नेकपा एमाले का संसदीय दलका नेता रामबहादुर थापा बादल ले प्रतिनिधिसभामा प्रयोग गरेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ।
सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधिसभा नियमावली–२०७९ को नियम २१ को खण्ड ‘घ’ विपरीत रहेको भन्दै बादलका अभिव्यक्तिहरू हटाउन संसद् सचिवालयलाई रुलिङ गरेका हुन्। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा मंगलबार बोल्दै बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जेनजी आन्दोलन र नेपाली सेनाबारे विवादास्पद टिप्पणी गरेका थिए। उनले नेपाली सेना “रहस्यमय ढंगबाट मूकदर्शक बनेको” भन्दै प्रश्न उठाएका थिए भने रास्वपालाई “अराजक भीड” को संज्ञा दिएका थिए।
बादलको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रास्वपा सांसदहरूले उक्त टिप्पणी संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए। बुधबारको प्रतिनिधिसभा बैठकमा पनि उनीहरूले माग दोहोर्याएपछि सभामुख अर्यालले रेकर्डबाट हटाउने निर्णय गरेका हुन्।
प्रतिनिधिसभा नियमावलीको नियम २१ अनुसार सांसदहरूले छलफलका क्रममा अशिष्ट, अपमानजनक, आपत्तिजनक वा असंसदीय शब्द प्रयोग गर्न पाउँदैनन्। कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने अभिव्यक्ति दिन नहुने पनि नियममा उल्लेख छ। यस्तै, बोल्ने अधिकारलाई सदनको कामकारबाही अवरोध गर्ने उद्देश्यले दुरुपयोग गर्न नहुने व्यवस्था समेत नियमावलीमा रहेको छ।





