नेपालमा अब ‘कोरोना बीमा’ हुने, पीसीआरमा कोरोनाको पुष्टि भए रकम पाइने

काठमाडौँ – कोरोना संक्रमणले निम्त्याउन सक्ने आर्थिक जोखिमलाई लक्षित गर्दै बीमा लेख जारी हुने भएको छ । नियामक बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई बीमा लेख जारी गर्न निर्देशन दिएको छ ।

हाल बीमा लेखका लागि ड्राफ्ट तयार भइरहेको र केही दिनमै पूर्णता पाउने समितिका सूचना अधिकारी तथा कार्यकारी निर्देशक निर्मल अधिकारीले जानकारी दिए ।

केही दिनमै बीमा कम्पनीहरुले आवश्यक नीति बनाउने छन् । सो नीतिलाई समितिले स्वीकृति दिएपछि बीमा लेख जारी गर्न सक्नेछन् । संभवतः एक हप्ताभित्रै बीमा लेख जारी हुने अधिकारीले बताए ।

कोरोना बीमा गर्ने (बीमित)लाई बीमांक रकममा दुई विकल्प हुनेछन् । एक लाखको बीमा गर्नेले प्रतिव्यक्ति वार्षिक १ हजार रुपैयाँ प्रिमियम भुक्तानी गर्नुपर्नेछ । त्यस्तै परिवारका हकमा वार्षिक प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले प्रिमियम भुक्तानी गर्नुपर्नेछ ।

त्यस्तै ५० हजारको बिमांकमा त्यसकै आधा अर्थात प्रतिव्यक्ति वार्षिक ५ सय र परिवारकै गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँका दरले प्रिमियम भुक्तानी गर्नुपर्नेछ ।
यदी तीन सदस्य परिवारको १–१ लाखको बीमा भएको छ भने प्रतिव्यक्ति वार्षिक ६ सयका दरले प्रिमियम बुझाउनुपर्छ ।

पिसिआरमार्फत जब उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि हुन्छ, प्रतिव्यक्ति १ लाखका दरले बीमा रकम प्राप्त गर्नेछन् । पिसिआरबाट कोरोनाभाइरस पुष्टि भएपछि बीमा गर्नेले बिमांक रकम प्राप्त गर्ने अधिकारीले बताए ।

त्यसका लागि बीमा गरेको १५ दिनको समय भने पुरा भएको हुनुपर्ने व्यवस्था गरिनेछ । ‘१४ दिनको त क्वारेन्टाइनकै अवधि भएकाले त्यसलाई मध्यनजर गर्दै १५ दिनको ग्याप पिरियड राखिएको हुन्छ’ अधिकारीले भने ।

बीमितको कम्पनीहरुले बीमा आवेदन स्वीकृत गरेको १५ दिनपछि पिसिआरमार्फत कोरोना पोजेटिभ देखिएमा उसले बीमा रकम प्राप्त गर्नेछ ।

सबै जिल्लामा एकै दिनबाट यो बीमा लेख जारी गर्न समितिले निर्देशन दिएको छ । हाल संचालनमा रहेका २० वटै निर्जीवन बीमा कम्पनीले कोरोनाको बीमा लेख जारी गर्नुपर्नेछ ।

कोरोनाको उपचार सरकारले नै गर्ने प्रतिवद्धता जनाएको छ । यद्यपी लामो समय अस्पताल वा क्वारेन्टाइनमा बस्नुपर्ने अवस्थामा व्यक्तिको पेशा प्रभावित हुने भएकाले सो रकमबाट घरखर्च चलाउन मद्दत पुग्नेछ । यसले कोरोनाबाट परिवारमा पर्न सक्ने आर्थिक जोखिमलाई न्यून गर्न मद्दत पुग्नेछ ।

अनलाइनका माध्यमबाट समेत सर्वसाधारणले इच्छा लागेको कम्पनीको बीमालेख खरिद गर्न सक्नेछन् ।

सेतोपाटीको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्